मतदाता सचेतनाको प्रश्न

सचेत नागरिकबिना राज्य सत्ता संरचनामात्र हुन्छ ।
– एरिस्टोटल

एरिस्टोटलले भनेजस्तो नेपाली समाजले प्रजातन्त्रका ३५ वर्षमा सत्ता संरचनाको अवस्था देखे । लोकतन्त्र संस्थागत हुन सकेन । जनताले विकास र सुशासन अनुभूति गर्न सकेनन् । सरकार बन्ने र भत्कनेक्रमबीच आगामी २१ फागुनमा मध्यावधि निर्वाचन हँदै छ । यस निर्वाचनमा पनि मतदाताले सचेत भएर मतदान गर्न सकेनन् भने एरिस्टोटलले भनेझैं सत्तामा ‘आयाराम र गयाराम’हरूको आउने र जानेक्रम विगतजस्तै पुनरावृत्ति हुने छ । संसद्मा रहेका दलबीच गठबन्धनको भद्दा मजाक दोहोरिने छ । निर्वाचनले मात्र देशको राजनीतिक स्थायिŒव र सुशासन दिन सक्ने छैन । यस अर्थमा मतदाता सचेत हुन आवश्यक छ ।

हाम्रो देशमा प्रत्यक्ष निर्वाचन क्षेत्र १ सय ६५ वटा छन् । यी क्षेत्रमध्ये दर्जनको हाराहारीमा रहेका दलका ‘शीर्ष’ भनिने असफल नेतालाई जनताले फेरि पनि मत दिएर जिताए भने अन्य चुनावी क्षेत्रबाट सक्षम नेतृत्व निर्वाचन भए पनि पार्टी सत्ता र राज्य सत्तामा ताŒिवक रूपमा रूपान्तरण हुन नसक्ने जानकार बताउँछन् । देश फेरि ‘घुम्दैफिर्दै रुम्जाटार’कै अवस्थाबाट बाहिर आउन सक्ने छैन । यो वास्तविकतालाई मतदाताले बुझ्न जरुरी छ ।

त्यसो त, राजनीतिक दलका शीर्षनेतागणको नेपाली राजनीतिमा ऐतिहासिक योगदान छ । व्यवस्था बदल्नमा उनीहरूले ठुलो योगदान गरेका छन् । तर पनि अब समयले पुरानो राजनीतिक चिन्तन र कार्यशैली पर्खेर बस्दैन । समयको गतिअनुसार कार्यशैली परिवर्तन गर्न नसक्ने राजनीतिक नेतृत्व गतिशील हुन सक्दैन । देशको आवश्यकता र जनचाहानाअनुरुप नेतृत्व दिन सक्दैन ।

अब्राहम लिंकनको शब्दमा ‘लोकतन्त्र जनताद्वारा चलाइन्छ, तर अचेत जनताले लोकतन्त्र जोगाउन सक्दैन ।’ यहाँ अचेतको अर्थ राजनीतिक रूपमा सचेतना कमी भएको जनता भन्ने बुभ्mनुपर्दछ । नेपाली जनताले बारम्बार एउटै असफल नेतृत्वलाई भोट दिने र पछि त्यही नेतालाई आलोचना गरेर पछुतो मान्ने गरेको पाइन्छ । दलका शीर्षनेता राजनीतिक खेलाडी हुन् । अझै पनि यिनीहरू सामदाम, दण्ड, भेद, गठबन्धन आदिइत्यादी गरेर सत्तामा आउन चाहन्छन् । २०४८ सालदेखि २०८२ सम्मको राजनीतिक इतिहास, यिनीहरूको चिन्तन र अभ्यासले यही प्रमाणित गर्दछन् ।

२०६२÷०६३ को जनआन्दोलनपछाडि माओवादी नयाँ राजनीतिक दलका रूपमा आएको थियो । त्यस समयको नयाँ माओवादी पनि राजनीतिको चास्नीलाई ‘काले काले मिलेर खाऔं भाले’को रणनिति र अभ्यासबाट बाहिर आउन सकेन । यसरी हेर्दा राजनीतिमा नयाँ र पुरानो मानकले काम गर्दैन । राजनीतिक सिद्धान्त, निष्ठा, विकास कार्ययोजना तथा कार्यान्वयन आधारमा मात्र दल वा नेतालाई निर्वाचित गर्नुपर्दछ । राजनीतिक नेतृत्वको असक्षमताका कारण देशमा भ्रष्टचार, बेथिति तथा विसंगति व्याप्त छन् । यी विषय लेख, रचना, बहस, अन्तर्वार्ता, विचार, विमर्श, सामाजिक सञ्जालमा छरप्रष्ट भएका थिए । यही असन्तुष्टिका आधारमा गत २४ भदौमा भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी सडकमा उत्रिए ।

नेपाली जनताले हरेक निर्वाचनलाई उत्सवका रूपमा लिने गरेको पाइन्छ । चुनावको दिन लामो समयसम्म पंक्तिमा बसेर भोट दिने र आफूले मतदान गरेको निर्वाचत जनप्रतिनिधिको कर्यशैलीका कारण पछुताउने गरेको पाइन्छ । लोकतन्त्रको अभ्यासमा अगाडि बढिरहेको हाम्रोजस्तो देशमा समस्या ‘नेतृत्वमा मात्र हो कि मतदाता सचेतनामा ?’ मतदान अधिकार उपयोग गर्नमात्र नागरिक कर्तव्य होइन, त्यो राजनीतिक चेतनाको अभिव्यक्ति पनि हो ।

जेनजी क्रान्ति २४ भदौमा आउँदा उग्ररूपमा देखाप¥यो । देशले इतिहासमै नभएको क्षति व्यहोर्नुप¥यो । देशको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत शक्ति केन्द्र जलाइयो । लामो समयसम्म राजनीतिमा देखिएको असन्तुष्टि सडकमा पोखियो ।

जेनजी आन्दोलनका नाममा राजनीतिक प्रतिशोध, बदला भावना र विदेशी ‘फयिडङ’बाट सञ्चालित केही देशघातीको योजनाअन्तर्गत देश ध्वस्त बनाउने काम भएको जानकार औंल्याउ“छन् । यदि विश्लेषकका भनाइमा सत्यता छ भने मतदाताले विदेशीको चासो सम्बोधन गर्ने पात्रलाई स्वभिमानी मतदातालाई पहिचान गरी आगामी निर्वाचनमा नांगेझार पार्नुपर्दछ ।

अहिले मतदातामा पुराना दलप्रति वितृष्णा छ । नयाँहरू जस्ता भए पनि ठिक लाग्ने र पुराना भन्नेबित्तिकै नाक खुम्च्याउने मनोविज्ञान विकास भइरहेको देखिन्छ । मतदाताको यो बुझाईले देशको हित गर्न सक्दैन । पुराना दलप्रति निर्माण भएको वा गरिएको भाष्यपछाडि मतदाता सोच विचार नै नगरी लागे भने देशको राजनीति अहिले जनताले सोचेजस्तो नहुन सक्छ । अमात्र्य सेन भन्छन्, ‘लोकतन्त्रको सार चुनाव होइन, जनताको सूचित निर्णय क्षमतामा हुन्छ ।’ सेनले भनेजस्तो जनताले दलभित्रका योग्य, सक्षम तथा स्वच्छ व्यक्ति जसले देशकाल, परिस्थिति बुझेका छन्, राजनीतिक दर्शन र सिद्धान्तले प्रशिक्षित भएका छन्, त्यस्ता इमान्दार नेतृत्व चयन गर्नुपर्दछ । वर्तमान सन्दर्भमा निर्वाचनले मात्र विद्यमान राजनीतिक अस्थिरता र भद्रगोल स्थिति अन्त्य हुन सक्ने अवस्था देखि“दैन । यसअर्थमा मतदाता सचेत हुन जरुरी देखिन्छ ।

राजनीतिक विश्लेषक भन्छन्, ‘लोकतन्त्रलाई दलका सीमित नेतागण र कार्यकर्ताले दुहनो गाई बनाएका छन् । लोकतन्त्र सर्वसाधारण जनताका लागि कागलाई बेल पाक्यो, हर्ष न विष्मातको अवस्था छ ।’ तर पनि जनताले उही पात्र र प्रवृत्ति भएका नेतालाई पटकपटक मतदान गरेर सत्तामा पुग्ने अवसर दिने गरेका छन् । पाउलो फ्रेरेको शब्दमा ‘चेतनाविहिन जनता सधैं शोषणको सजिलो सिकार बन्दछ ।’ प्रजातन्त्र र लोकतन्त्रका लागि नेपाली समाजले इतिहासका कालखण्डमा ठुलो संघर्ष गरेको साक्षी छ । तर, लोकतान्त्रिक राज्यबाट जनताले विकास, सुशासन र आयआर्जनका अवसर प्राप्त गर्न सकेका छैनन् । मह“गी अकासिएको छ । घरको चुलोचौको चलाउनका लागि युवा विदेसिनुपरेको छ । यस अर्थमा जनता शोषित–पीडित छन् ।

नेपाली समाज राजनीतिक आस्थाका आधारमा विभाजित छ । सरकारका गलत तथा गैरजिम्मेवार कार्यप्रति सिंगो समाज एकजुट हुन सकेको अवस्था छैन । बौद्धिक वर्ग, नागरिक समाज, शिक्षक, प्राध्यापक, वकिल, कर्मचारीलगायत तहतप्का राजनीतिक दलको कित्तामा विभाजित हँुदा राष्ट्रिय एकता बलियो हुन सकेको छैन । कार्यकर्ताले भ्रष्टकै परिक्रमा गरेको देखिन्छ । यस्तो चरित्र बोकेको नेपाली समाज फ्रेरेका शब्दमा ‘चेतनाविहिन हो । सचेत मतदाता भनेको केवल मतदान गर्ने व्यक्ति होइन, प्रश्न गर्ने, आलोेचना गर्ने, सही गलत छुट्याउने, र आवश्यक पर्दा चुनाव चिह्न र उम्मेदवार बद्लेर सक्षम नेतृत्व चयन गर्ने नागरिक हो ।’

लोकतन्त्र नेताले मात्र बचाउने होइन, नागरिकले बचाउने व्यवस्था हो । गलत नेतृत्वलाई बारम्बार जिताउने मतदाता स्वयं पीडित बन्नुको विकल्प हुँदैन । त्यसैले अब मतदातामा केवल ‘कसलाई भोट दिनेभन्दा पनि किन र केका लागि भोट दिने ?’ भन्ने चेत विकास हुन आवश्यक छ । नयाँका नाममा अयोग्य व्यक्ति सत्तामा पुगे भने ‘नाच्न नजान्ने आ“गन टेढो’को अवस्था आउने छ । फेरि समाजमा असन्तोष बढेर जाने छ । वैदेशिक हस्तक्षेप अझै बढेर जाने छ । यस सन्दर्भमा नयाँ र पुरानालाई मतदानको मापदण्ड बनाइनुहुँदैन । सक्षम र असक्षमबीच तुलना गरी असक्षमलाई पाखा लगाउने र सक्षमलाई जिताउने कामका लागि सचेत मतदाता चाहिन्छ ।

नेपाली जनताले हरेक निर्वाचनलाई उत्सवका रूपमा लिने गरेको पाइन्छ । चुनावको दिन लामो समयसम्म पंक्तिमा बसेर भोट दिने र आपूmले मतदान गरेको निर्वाचत जनप्रतिनिधिको कर्यशैलीका कारण पछुताउने गरेको पाइन्छ । लोकतन्त्रको अभ्यासमा अगाडि बढिरहेको हाम्रोजस्तो देशमा समस्या ‘नेतृत्वमा मात्र हो कि मतदाता सचेतनामा ?’ मतदान अधिकार उपयोग गर्नमात्र नागरिक कर्तव्य होइन, त्यो राजनीतिक चेतनाको अभिव्यक्ति पनि हो ।

हाम्रो देशमा भएका विगतका निर्वाचन र नेतृत्व चयन शृंखला विश्लेषण गर्दा मतदान प्रायः दलगत निष्ठा, व्यक्तिगत लाभ, क्षणिक लोभ, भावनात्मक नारा र सामाजिक सञ्जालको प्रतिक्रियाजस्ताबाट निर्देशित देखिन्छन् । यसरी हेर्दा मतदाताले राजनीतिक विचार, नीति, क्षमता, नैतिकताका आधारमा उम्मेदवार छनोट गर्ने सचेतना विकास भएको पाइ“दैन । फलत ः देशमा असक्षम, अवसरवादी र नैतिक रूपमा कमजोर नेतृतव व्यवस्थापिकाको सदस्य हुँदै सत्तामा पुग्न सफल भएको अवस्था छ । त्यसैले मतदाता सचेतनाको प्रश्न चोटिलो बनेको छ ।

सचेत मतदाता नै सक्षम नेतृत्वको जननी हो । यही चेतनाले लोकतन्त्रलाई जीवन्त, जनपक्षीय र सर्वहितायमा काम गर्न सक्ने नेतृत्व चयन गर्न सक्दछ । विद्वान एलेक्सिसका शब्दमा ‘लोकतन्त्रको सफलता कानुनमा होइन, नागरिकको चेतनास्तरमा निर्भर हुन्छ ।’ जब मतदाता विवेकशील, प्रश्नकर्ता तथा उत्तरदायी बन्द छन्, तबमात्र शासन प्रणाली जनमुखी बन्न सक्दछ ।

आगामी २१ फागुनमा हुने मध्यावधि निर्वाचनमा मतदान गर्नुअघि सोच्ने, सोध्ने र मूल्यांकन गरेरमात्र मतदान गरुन् । राजनीतिक सिद्धान्त, निष्ठा र लोकतान्त्रिक आचरण बोकेको नेतृत्वलाई निर्वाचित हुन सकोस् । देश र जनताका पक्षमा काम गर्नसक्ने सक्षम जनप्रतिनिधि चयन हुन सकुन् ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

भद्रपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसिप आयोजना हुँदै