प्रतिनिधिसभा मतगणना सरकारी भवनमा, श्रमिक नेतालाई निषेध

काठमाडौं । नि र्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका सबै मत सरकारी भवनमा गणना गर्ने भएको छ । आयोगले स्वीकृत गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (मतगणना) निर्दे शिका, २०८२’ मा ट्र ेड युनियनकर्मीलाई मतगणनास्थलमा निषेध गर्दै सरकारी भवनमा मत गणनाको व्यवस्था गरेको हो ।

मतगणनास्थल तय गर्दा पर्याप्त प्रकाश (बत्ती), सञ्चार सुविधा, सुरक्षा दृष्टिकोणले मजबुत र उम्मेदवारका प्रतिनिधि बस्न मिल्ने पर्याप्त ठाउँ भएको सरकारी भवन वा सार्वजनिक स्थललाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

सबै मतदान केन्द्रबाट मतपेटिका संकलन नभएसम्म मतगणना सुरु नगर्ने र गणना सुरु गर्नुअघि निर्वाचन अधिकृतले स्थान, मिति र समय खुलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदानको गोप्यतालाई सुनिश्चित गर्न दुई वा दुईभन्दा बढी केन्द्रका मतपत्रलाई एकै ठाउँमा मिसाएर मात्र गणना गर्नु पर्ने व्यवस्था समेत निर्देशिकाले गरेको छ ।

निर्देशिकाले सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, आयोगले तोकेको स्वस्तिक चिन्हबाहेक अन्य चिन्ह (औँठाछाप वा कलमले कोरेको) प्रयोग गरिएको, मतपत्र च्यातिएको वा धेरै लतपतिएर कसलाई भोट दिएको भन्ने नबुझिने भएको, दुई वा दुईभन्दा बढी उम्मेदवारको कोठामा छाप लगाइएको, उम्मेदवारको चिन्ह भएको कोठा बाहिर (किनारामा) छाप लगाइएको, मतपेटिका भन्दा बाहिर फेला परेको मतपत्र, जाली मतपत्र वा मतपत्रभित्र अन्य कागज वा वस्तु भेटिएको अवस्थामा मतपत्र बदर हुने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगले यस पटकको निर्वाचनमा ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’को प्रयोग गर्ने भएको छ । सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्दै नतिजाको तत्कालै सार्वजनिक गर्न सहज हुने गरी अनलाइन पोस्टिङ गर्ने आयोगले जनाएको छ । मतगणनास्थल बाहिर डिस्प्ले बोर्ड, माइक वा लाउड स्पिकरमार्फत समय–समयमा मत परिणामको जानकारी दिने तयारीसमेत आयोगले गरेको छ ।

पाँच उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले प्रतिनिधिसभाको प्र त्यक्षतर्फ मंगलबार दर्ता भएका उम्मेदवारको नामावलीअन्तर्गत ५ जनाप्रति दाबी विरोध दर्ता भएको जनाएको छ । ३ हजार ४ सय ८७ उम्मेदवारमध्ये ४ जिल्लाका ५ उम्मेदवारको विरोधमा दाबी विरोध परेको हो । आयोगका अनुसार भक्तपुर–२ मा उम्मेदवारी दर्ता गरेका २ जना, सुनसरी–२ का १ जना, रौतहट–१ का एक जना र कैलाली–१ का एक जनाविरुद्ध दाबी विरोध परेको हो ।

६६ वर्षमाथिका उम्मेदवार २ सय १ जना
प्रतिनिधिसभा निर्वाचनका लागि ६६ वर्षभन्दा माथि उमेर समूहका २ सय १ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो संख्या कूल उम्मेदवारको ५ दशमलव ७६ प्रतिशत हो । यो समूहका उम्मेदवारमा १ सय ९८ जना पुरुष र ३ जना महिला रहेका छन् । १६ दशमलव ७५ प्रतिशत उम्मेदवार २५ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । यो उमेर समूहका कूल ५ सय ८४ जना रहेकोमा ५ सय १६ जना पुरुष, ६७ महिला र अन्य १ जना रहेका छन् । यस्तै, १ हजार ६ सय ११ जना ३५ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार रहेका छन् ।

यो संख्या कूल उम्मेदवारको ४६ दशमलव २० प्रतिशत हो । यो उमेर समूहका उम्मेदवारमा १ हजार ३ सय ७५ पुरुष र २ सय ३६ महिला उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार ५१ वर्षदेखि ६५ वर्ष उमेर समूहका १ हजार ९० जना रहेका छन् । यो संख्या कूल उम्मेदवारको ३१ दशमलव २६ प्रतिशत हो । समूहगत हिसाबले हेर्दा यो उमेर समूह दोस्रोमा पर्छ । यो उमेर समूहका १ हजार पुरुष र ९० जना महिला उम्मेदवार बनेका छन् ।

१२ प्रतिशत महिला उम्मेदवार
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि १२ प्रतिशत महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि ३ सय ९६ जना महिलाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ६७ जना, ३५ देखि ५० वर्ष उमेर समूहका २ सय ३६ जना, ५१ देखि ५५ वर्ष उमेर समूहका ९० जना र ५६ वर्षमाथि उमेर समूहका ३ जना महिला उम्मेदवार भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन