निलम्बनविरुद्ध राखेपमा थापाको अपिल

काठमाडौं । अर्का साधरणसभासम्मका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अस्थायी निलम्बनमा परेका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले आफूलाई विधान र कानुनविपरीत कारबाही गर्ने एन्फा र निलम्बनपत्रमा हस्ताक्षर गर्ने महासचिवसमेतलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पत्र दर्ता गराएका छन् ।

एन्फाले गरेको निलम्बनको निर्णय विधानविपरीत र त्रुटिपूर्ण रहेको भन्दै थापाले राखेपसहितका विभिन्न सम्वन्धित निकायमा त्रुटिपूर्ण निर्णय फिर्ता लिन र निलम्बनपत्रमा हस्ताक्षर गर्ने महासचिव इन्द्रमान तुलाधरलाई पनि कारबाहीको माग गरिएको जानकारी गराए । ‘सोही बेहोराको पत्र राखेपसहित, फिफा, एएफसी र एन्फाको अपिल कमिटीमा पठाएका छौं । ललितपुर जिल्ला फुटबल संघले पनि सोमबार एन्फाको निर्णयलाई खेद प्रकट गर्दै विधानविपरीतको कारबाही फिर्ता लिनका लागि पत्र दिएका छौं,’ ललिपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाले भने, ‘आफूविरुद्ध भएको कारबाहीको विषयमा फिफा, एएफसी, राखेप र एन्फाको अपिल कमिटीमा अपिल गरेको छु । सबैलाई अपिलपत्र पठाएको छु । राखेपमा जाँदा सदस्यसचिव रमेशकुमार सिलवाल मन्त्रालयमा रहेका कारण उहाँकै अनुरोधमा प्रशासन प्रमुख कुलबहादुर थापालाई पत्र छाडेको छु । सुनुवाई पक्कै हुनेछ ।’

एन्फा दिवसका दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले ए, बी र सी डिभिजन क्लबकोे भाइबर समूहमा दिएको शुभकामनामा थापाले ‘आज एन्फा डे होइन चोरहरूको श्रीगणेश डे हो ।’ भन्ने जवाफ दिएका थिए । त्यसपछि एन्फाले संस्थागत मर्यादा र हितविपरीत जवाफ दिएको भन्दै थापालाई २४ वैशाखमा स्पष्टीकरण सोधेको थियो । दुई दिनभित्रै अध्यक्ष थापाले ‘प्रतिशोधले त्यो शब्द प्रयोग नगरेको, कसैलाई इंगित नगरेको र कसैलाई चोट वा हानि पु-याए क्षमा मागेको’ उल्लेख गर्दै जवाफ दिएका थिए । त्यसमा उनले २२ वैशाखमै एन्फा डे मनाउनुपर्ने कारण पनि सोधेका थिए । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाको सचिवालय बैठकले थापालाई अर्का साधारण सभासम्मका लागि निलम्बनको कारबाही सुनाएको थियो । एन्फाको वर्तमान कार्यसमितिले निर्वाचन जितेको दिन २२ वैशाखलाई हरेक वर्ष एन्फा दिवस मनाउने निर्णय गरेका थियो ।

थापाले आफूले एन्फाले विरोध गरेकै कारण पूर्वाग्रही भएर कारबाही गरिएको बताएका छन् । ‘एन्फाको सबै कार्यक्रममा हामी अघि छौं । सबै काम नियमित रूपमा निर्धारित समयमा नै सम्पन्न गरिरहेका छौं । तर, फरक प्यानल र एन्फाका केही असन्तुष्ट विषयमा खुलेर बोल्दा कारबाही गरिएको जस्तो लाग्छ । नत्र विधानमै नभएको कारबाही कसरी हुन सक्छ,’ बी डिभिजन क्लब झम्सीखेल युथ क्लबका कोषाध्यक्ष तथा प्रशिक्षकसमेत रहेका थापाले भने । एन्फाले विधानको धारा ३ को उपधारा २ र धारा १४ को उपधारा १ (क) बमोजिम दायित्वको पालना नगरी जानीजानी नियतपूर्वक आफ्नो पूर्ववत् जवाफ दिएको भन्दै निलम्बन गरेको प्रस्ट पारेको छ । दुई वर्षअघिको भएको एन्फा कार्यसमितिको निर्वाचनमा थापा नेतृत्वको ललितपुरसहित काठमाडौं, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले गणेश थापाका साला मणि कुँवर पक्षलाई साथ दिएको थियो । चुनावपछि पनि यी चार जिल्लाले एन्फामा आर्थिक अनियमितता भएको, विधि र विधानअनुसार कार्यसञ्चालन नभएको भन्दै विरोध गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा