काठमाडौं । साङ्गीतिक क्षेत्रका तीन स्रष्टालाई तारा देवी स्रष्टा सम्मान प्रदान गरिएको छ ।
नेपाली संगीतकी स्वर किन्नरी तारा देवी श्रेष्ठको २० औँ पुण्य स्मृतिमा आयोजित ‘सम्झनामा तारा देवी स्रष्टा सम्मान तथा साङ्गीतिक कार्यक्रम २०८२’ को अवसरमा आज गीतकार माधवप्रसाद खनाल ‘भावुक’, संगीतकार शिव शंकर मानन्धर र गायनमा संगीता राना प्रधानलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेलाई ताम्रपत्र, दोसल्लासहित जनही रु २५ हजार नगद प्रदान गरिएको छ । तारा देवी स्मृति प्रतिष्ठानको आयोजना तथा काठमाडौँ महानगरपालिकाको सहआयोजनामा सम्पन्न कार्यक्रममा तारा देवीले गाउनुभएका एक दर्जन बढी गीतहरु विभिन्न गायक÷गायिकाले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष दीपक केसीले तारा देवीको सम्मानमा साङ्गीतिक क्षेत्रका अग्रजलाई सम्मान गर्न र नयाँ पुस्तालाई प्रोत्साहन गर्न कार्यक्रमलाई बर्सेनि निरन्तरता दिँदै आएको बताए ।






