तेस्रो NAPFS अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु

१४ वटा विद्यालयका १५ टिम सहभागी

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुर, काठमाडौंको आयोजनामा तेस्रो ‘एनएपीएफएस’ अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८२ आइतबारदेखि सुरु भएको छ ।

६० हजार रुपैयाँ नगद राशिसहित आयोजना गरिएको सो प्रतियोगिता आगामी फागुन ८ गतेसम्म चल्ने छ । सो प्रतियोगितामा उपत्यकास्थित ११ वटा विद्यालय, काभ्रे जिल्लाबाट १ र बाँके जिल्लामा अवस्थित नेपाल एपीएफ स्कुल कोहलपुर र सप्तरी जिल्लामा अवस्थित नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल गरी १४ वटा विद्यालयका १५ टिम सहभागी भएका छन् ।

प्रतियोगितामा नेपाल एपीएफ स्कुल कीर्तिपुर, (रातो), नेपाल एपीएफ स्कुल कीर्तिपुर (निलो), नेपाल एपीएफ स्कुल कोहलपुर, नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल सप्तरी, सैनिक आवासीय महाविद्यालय सल्लाघारी ( भक्तपुर), नेपाल पुलिस स्कुल साँगा (काभ्रे), राई स्कुल नक्साल, जेम्स स्कुल, धापाखेल (ललितपुर), डीएभी सुशील केडिया स्कुल जावलाखेल, ब्राइट होराइजन चिल्ड्रेन्स होम मातातीर्थ, पिस प्वाइन्ट स्कुल बानेश्वर, ब्राइट एन्जल स्कुल थानकोट, पेगासस स्कुल गोकर्णेश्वर, सन साइन स्कुल चन्द्रागिरि र बाघभैरव स्कुल कीर्तिपुर सहभागी छन् ।

प्रतियोगिताका खेलहरु लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ । सो प्रतियोगिताको सशस्त्र प्रहरी बल नेपाल मानवश्रोत विभाग प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले आज आइतबार उद्घाटन गरेका छन् । कार्यक्रमको समापन भने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गर्ने भएका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले निर्देशन सम्बोधन गरेका थिए । सो कार्यक्रममा विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले धन्यवाद ज्ञापन र विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, अखिल नेपाल फुटबल संघका पदाधिकारी, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

उद्घाटनको अवसरमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (रातो) र पेगासस् स्कुल, गोकर्णेश्वर बीच भएको खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (रातो) ६–० गोल अन्तरले आजको लिग चरणको प्रथम खेल जित्न सफल भएको थियो । नेपाल एपीएफ स्कुलको तर्फबाट रोहित गोलेले तीन, तेन्जिङ शेर्पाले दुई र अमन भगतले एक गोल गरेका थिए ।

उद्घाटन खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (रातो) का उत्कृष्ट खेलाडी तेन्जिङ शेर्पा ‘म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले ट्रफी प्रदान गरेका थिए । भोलि सोमबार पिस प्वाइन्ट स्कुल बानेश्वरविरुद्ध सन साइन स्कुल चन्द्रागिरि र जेम्स स्कुल धापाखेलविरुद्ध बाघभैरव स्कुल कीर्तिपुरको खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै