पोखरा । घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा रोमाञ्चक नतिजा हात पारेको छ । सोमबार पोखरा रंगशालामा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धामा उत्रिएको गण्डकीले ३–१ को नतिजा हात पारेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा गण्डकीले ३३–३१, १५–२५, ३३–३१ र २५–१९ सेटमा पराजित गरेको हो ।
दोस्रो सेट गुमाएको गण्डकीले पहिलो र तेस्रो सेट समान ३३–३१ सेट निकालेको हो । चौथो तथा अन्तिम सेटमा गण्डकीले अन्ततः २५–१९ सेटमा पराजित गर्दा प्यारापिटमा भरिएका घरेलु दर्शकलाई उत्साहित बनाएको थियो ।
पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसिएसनलाई हराएको थियो ।
यसैबीच, सोमबार नै महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकालेको छ । पुरुषतर्फ पाहुना टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जसमा एपीएफले २५–२०, २५–१८ र २५–२० सेटमा नतिजा आफ्नो पक्षमा पारेको हो ।
यसैगरी, महिलातर्फ आर्मीलाई २५–११, २५–१८ र २५–१९ को सोझो सेटमै हराउँदो दोस्रो जित दर्ता गरेको छ । पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले भाग लिएको प्रतियोगिताको फाइनल १७ माघमा हुनेछ ।






