टी–२० विश्वकपको पहिलो खेलमा इंगल्याण्डसँग हार्नुका कारण के के छन् ?

ब्याटिङ र बलिङका दुवै अन्तिम ओभर नेपालका लागि निर्णायक

ललितपुर । नेपाल आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा जित नजिक पुगेर पनि पराजित भएको छ । समूह ‘सी’ को आङ्खनो पहिलो खेलमा नेपाल इंगल्याण्डसँग ४ रनले पराजित भएको हो ।

अघिल्लो संस्करणमा पनि नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको थियो । त्यसबेला अन्तिम ओभरमा आवश्यक रन बनाउन नसक्दा जितिसकेको खेल पनि फुस्किएको थियो ।

नेपाली टिमले १ सय ८५ रनको लक्ष्य भेट्टाउन गरेको ब्याटिङ प्रशंसनीय छ । विशेषगरी ओपनर कुशल भुर्तेल र लोकेश बमको विस्फोटक ब्याटिङले नेपाल लक्ष्यको नजिक पुगेको थियो ।

यसमा दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले पनि नेपाली ब्याटिङ उकास्न महत्वपूर्ण योगदान दिएका थिए । यदि नेपालले इंगल्याण्डलाई १ सय ६० देखि १ सय ७० सम्मको स्कोरमा रोक्न सकेको भए सजिलै जित्ने आँकडा बनेको थियो ।

नेपालका के के मुख्य कारण रहे त हारका निम्ति ?
नेपालले १ सय ८५ रनको लक्ष्य पाउनु नै कठिन भएको थियो । तर नेपाली ब्याटरको महत्वपूर्ण योगदानले सो लक्ष्य भेट्टाउने किनारमै पुगेर नेपाल पराजित भयो । यदि निर्धारित लक्ष्य १ सय ७५ सम्म भएको भए पनि नेपालको पक्षमा खेल जान सक्थ्यो । लक्ष्य कम हुँदा कम दबाबमा नेपालले खेल्न सक्थ्यो ।

अन्तिम ओभरको महँगो बलिङ

टस हारेर फिल्डिङ गरेको नेपालले अन्तिम ओभरको बलिङमा धेरै रन खान पुग्यो । २० औँ ओभरमा बलिङ गर्न आएका करण केसीले २१ रन खर्चिए । करणले सो ओभरमा जोफ्रा आर्चरलाई रन आउट गरेपनि ५ बलमा लगातार ३ छक्कासहित २१ रन खाए । अन्तिम ५ बलमा विल ज्याक्सले २१ रन बनाए । म्यान अफ दि म्याच भएका ज्याक्सले १८ बलमा नटआउट ३९ रन बनाएका थिए ।

इंगल्याण्डका आक्रामक ब्याटर

इंगल्याण्डका आक्रामक ब्याटरलाई रोक्न नसक्नु नै नेपालका लागि हारको एउटा कारण बन्यो । यदि ज्याकोब बेथेल, कप्तान ह्यारी ब्रुक र विल ज्याक्सको आक्रामक ब्याटिङ रोक्न सकेको भए नेपालले कम लक्ष्य पाउन सक्थ्यो, जसका कारण नेपालले कम दबाबमा सहजै जित्ने सम्भावना हुन सक्थ्यो । इंंगल्याण्डका ज्याकोब बेथेल ३५ बलमा ५५ रन बनाउँदा कप्तान ह्यारी ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए । यस्तै १८ बलमा ३९ रन बनाएका विल ज्याक्स खेल जित्ने प्रमुख पात्रका रूपमा रहे । उनले अन्तिम ओभरमा हानेको रन नेपालका लागि भारी प¥यो । ती ३ ब्याटरलाई सस्तैमा समेट्न सकेको भए खेलले अर्कै मोड लिन सक्थ्यो ।

कुशलले बढी रन खर्चिए

नेपालका लागि उत्कृष्ट ब्याटिङ पस्केका कुशल भुर्तेलले बल निकै महँगो गरे । ४ ओभर बलिङ गरेका उनले ४० रन खर्चिँदा १ विकेट पनि लिन सकेनन् । सन्दीप लामिछानेले ४ ओभरमा १ विकेट लिएर २५ रन खर्चिँदा नन्दन र दीपेन्द्रले क्रमशः २५ र २३ रन खर्चिएर २–२ विकेट लिए । ३–३ ओभरमा करण केसी र शेर मल्लले ३५–३५ रन खर्चिँदा शेरले मात्र १ विकेट लिए ।

केही ओभरमा रन नबन्नु

नेपाल र इंगल्याण्ड दुवै टिमको ओभर नै पिच्छे तुलना गर्दा उस्तै उस्तै रन बनिरहेको थियो । नेपालका निम्ति इंगल्याण्डले दिएको चुनौती सजिलो थिएन । लक्ष्य पछ्याउने क्रममा १३ औँ, १५ औँ र १६ औँ ओभरमा नेपालले रन बनाउन सकेन । १३ औँ ओभरमा रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले मात्र ३ रन बनाए । १५ औँ ओभरमा रोहित र आशिफ शेखले २ रनको मात्र साझेदारी गरे । यस्तै १६ औँ ओभरमा ४ रनको साझेदारी हुँदा १ विकेट नै गुम्न पुग्यो । यसरी लक्ष्य भेट्टाउने दबाब रहँदा पनि आवश्यक रन नबन्दा लक्ष्य भेट्न पछि कठिन बनेको हो ।

अन्तिम ओभरको ब्याटिङ

१९ ओभरको समाप्तिसम्म ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको नेपालका लागि जित्न जम्मा १० रन आवश्यक थियो । क्रिजमा करण केसी र लोकेश बम रहेका थिए । पहिलो बलमा बलमे रन हान्न सकेनन् । दोस्रो बलमा बमले १ रन र तेस्रो बलमा करणले १ रन बनाए । त्यसपछि चौथो बलमा बमले २ रन, पाँचौँमा रन बनाउन सकेनन् भने अन्तिम बलमा मात्र १ रन बनाए । यो अन्तिम ओभरमा कम्तीमा २ चौका या १ छक्का पनि जितका लागि पर्याप्त बन्न सक्थ्यो ।

गुल्सन झा टिक्न सकेनन्

अलराउण्डर गुल्सन झा २ बलमा मात्र १ रन बनाउँदै आउट भए । उनी लुके उडको बलमा आउट हुन पुगे । आरिफ शेख १० रनमा तथा आशिफ शेख ७ रनमा क्रिजबाट बाहिरिए ।

भारी भए विल ज्याक्स

इंगल्याण्डका विल ज्याक्सले ब्याटिङमा मात्र नभएर बलिङमा पनि राम्रो प्रभाव जमाए । उनले २ ओभरमा १७ रन खर्चिएर महत्वपूर्ण १ विकेट लिए । जतिबेला नेपाली ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरिरहेका थिए । त्यहीबेला ५ दशमलव २ ओभरको आङ्खनै बलिङमा ज्याक्सले कुशललाई क्याच गरे । कुशलले ४ चौका र १ छक्कासहित १७ बलमा २९ रन बनाएका थिए ।

नेपालले सुपर एट पुग्न बाँकी सबै खेल जित्नुपर्ने भएको छ । समूह सीमा वेष्टइण्डिज र इंगल्याण्डले २–२ अंक बटुलेका छन् । १ खेलको समाप्तिमा स्कटल्याण्ड र नेपालले कुनै अंक जोड्न सकेका छैनन् । इटालीले कुनै खेल खेलेको छैन ।

अब नेपालले टि २० विश्वकपको दोस्रो खेलमा इटालीसँग २९ माघको बिहीबार प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग ३ फागुनमा र ५ फागुनमा आङ्खनो अन्तिम समूह चरणको खेलमा स्कटल्यान्डसँग मुम्बईमै खेल्नेछ ।

२ पटकको टि–२० विश्वकप विजेता इंग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य नेपालले निर्धारित ओभरमा पूरा गर्न सकेन । नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय ८० रन जोड्न सक्यो ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक