रौतहट । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रौतहट क्षेत्र नं. ४ मा तीव्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका उम्मेदवार यस क्षेत्रमा तेस्रो पटक जितेर ह्याट्रिक मार्ने दाउमा छन् भने नेकपाका उम्मेदवार रामकुमार भट्टराई यसै क्षेत्रमा दोश्रोपटक जित हात पार्ने मौका छोपिरहेका छन् । यसै गरी नेकपा एमालेका उम्मेदवार रामजी साह,रास्वपाका उम्मेदवार गणेश पौडेल,आजपाका उम्मेदवार ऋषि धमला जित हात पार्ने दाउमा छन् ।
२०७४ र २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भइसकेका देव प्रसाद तिमलसिना यस वर्षको जित हात पारेर ह्याट्रिक मार्ने दाउमा छन् ।
२०७४ सालमा बाम गठबन्धन भएको बेला देशभर कांग्रेसले २५ सिट जितेको बेला तिमलसिना पनि करिब ५ हजार मत अन्तरले विजयी भएका थिए । उक्त निर्वाचनमा तिमलसिनाले तत्कालीन नेकपाका उम्मेदवार डा. वंशीधर मिस्रलाई पराजित गरेका थिए ।
डा. मिश्र २०४८ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित र २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएका थिए ।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा तिमलसिनाले यस क्षेत्रबाट पुन निर्वाचित भए । तिमलसिनाले ३४ हजार १ सय ६१ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव प्रसाद रेग्मीले २६ हजार ५ सय ५९ मत ल्याएका थिए ।
उक्त निर्वाचनमा कांग्रेसका तिमलसिनालाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समेत समर्थन रहेको थियो ।
आउने निर्वाचनमा पनि जित आफ्नै रहेको कांग्रेसका उम्मेदवार तिमलसिनाले बताए । जनताको दुखसुख मा सधैँ यसै क्षेत्रमा बसेर काम गरेको जनतालाई अवगत नै भएको बताउँदै जनताको साथ अझै पनि आफूलाई नै रहेको उनको दाबी छ ।
यसै गरी २०७० सालको संविधान सभाको निर्वाचनमा विजयी भएका नेकपाका उम्मेदवार रामकुमार भट्टराई पनि दोश्रोपटक जित हात पार्ने दाउमा छन् । २०७० सालको संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भट्टराईले कासंग्रेसका उम्मेदवार देव प्रसाद तिमलसिनालाइ पराजित गरेका थिए ।
उम्मेदवार भट्टराई २०५६ सालको उप निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश कोइराला सँग पराजित भएका थिए । माधव नेपालले पार्टी फुटाएपछि नेकपा एसको उपमहासचिव समेत भइसकेका भट्टराईले यस निर्वाचनमा आफूले जित्ने धेरै आधारहरू भएको बताउँदै आएका छन् ।
परिवर्तित अवस्था अनुसार संविधान संशोधन र समग्र यस क्षेत्रको विकास नै आफूले मूल लक्ष्य भएको भट्टराईको भनाइ छ । ‘जुन मिस्त्रीले घर बनायो त्यही मिस्त्रीले सो घर मर्मत गर्छ भने झैँ हामीले नै बनाएको संविधान हामी नै संशोधन गर्न सक्छौ’ उनले भने ।
यता नेकपा एमालेका उम्मेदवार रामजी साह भने यो क्षेत्र नेकपा एमालेको लाल किल्ला भएको बताउँदै जित आफ्नै हुने बताउँदै आएका छन् । यस क्षेत्रबाट नेकपा एमालेका उमेदवारहरु पटक पटक निर्वाचित हुँदै आएको बताउँदै उम्मेदवार साहले यस वर्ष नेकपा एमालेकै जित सुनिश्चित रहेको बताए । जनताले युवा उम्मेदवार खोजिरहेको अवस्थामा नेकपा एमालेले आफूलाई उम्मेदवार बनाएर पठाएको समेत साहको धारणा छ । साह हिजोआज मतदाताहरुलाई भेट्न सक्रिय छन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका साह गरुडा बजारका व्यवसायी हुन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको पनि आफ्नै दाबी छ । जेन्जी आन्दोलनपछि जनताले परिवर्तन खोजिरहेको अवस्थामा अहिले रास्वपाको जित कसैले रोक्न नसक्ने पौडेलको भनाइ छ । अहिले यो क्षेत्र रास्वपामय भएको उनको तर्क छ ।
यता प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दर्ता गराएका पत्रकार ऋषि धमलाले पनि जित आफ्नै भएको दाबी गरेका छन् । जनताको घरघरमा भेट्न पुगिरहेका पत्रकार धमलाले अब रौतहटमै घरजम गर्ने समेत बताउँदै आएका छन् । मतदातासँगको भेटमा धमलाले यहाँको विकासको लागी सक्रिय हुने र निर्वाचन जितेर देखाउने समेत बताए ।
यस क्षेत्रमा जसपाबाट राजकुमार दास, उज्यालो पार्टीबाट तुलसी गिरी,जनमतबाट राम कल्याण यादव, प्रलोपाबाट सत्यनारायण भगत बिन लगायत १७ वटा दलका उमेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
यस क्षेत्रमा पुरुष ५८ हजार ८ सय ३६ र महिला ५१ हजार ४ सय ७८ जना सहित एक लाख १० हजार ३ सय १४ जना मतदाता छन् । यस क्षेत्रमा चन्द्रपुर, वृन्दावन, गढीमाइको र गरुडा नगरपालिकाको ३० वटा वार्डहरू पर्दछन् भने ६१ वटा मतदान स्थल र १ सय ३४ वटा मतदान केन्द्र रहेका छन् ।






