लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलका तीन सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । सङ्घको ७३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा छात्रवृत्ति अक्षयकोष रकम हस्तान्तरण गरिएको हो ।
सङ्घले बुटवल उपमहानगरपालिका–४ स्थित कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’ मा रु ७१ हजार थप गरेर रु एक लाख एक हजार पु¥याएको छ भने बुटवल–६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा रु ५० हजार र वडा नं ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा रु एक लाख एक हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हो ।
कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल र नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई उल्लेखित रकम बराबरको चेक हस्तान्तरण गरे । त्यस अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले बजेटमा स्रोतको सुनिश्चित नगरीकन काम गर्दा अगाडि सारिएका आयोजनाले गति लिन नसकेको बताए ।
रुपन्देही औद्योगिक विकासका लागि राम्रो सम्भावना रहेको क्षेत्र भए पनि कानुनी उल्झन, राज्य सञ्चालकमा देखिएको गैरजिम्मेवारीपना, विकासको दीर्घकालीन रणनीति नहुँदा अगाडि सारिएका आयोजना समेत अन्योलमा रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सङ्घले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।






