सुन्दरहरैंचा (मोरङ) । निर्वाचन मिति फागुन २१ नजिकिँदै जाँदा नेताहरू धर्मगुरु तथा आध्यात्मिक व्यक्तित्वकहाँ पुग्ने परम्परा पुरानै भए पनि यसपटक मोरङ क्षेत्र नं. ६ मा यस्तो भेटघाटले नयाँ राजनीतिक तरंग पैदा गरेको छ। नेपाली काङ्ग्रेसका उम्मेदवार डा. शेखर कोइराला नेपालका प्रथम जगदगुरु भनिने बालसन्त महाराजजी सँग आशीर्वाद लिन पुगेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म चर्चा चुलिएको छ।
अघिल्लो जितको आँकडा : २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेस का तर्फबाट उम्मेदवार बनेका कोइरालाले ३५ हजार २२४ मत ल्याएर विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी लालबाबु पण्डित ले २२ हजार ९४६ मत प्राप्त गरेका थिए। त्यसैगरी यादव कुमार प्रधानले ९ हजार १४० र गोपाल क्षेत्रीले ८ हजार ९२५ मत ल्याएका थिए।
यद्यपि, जितपछि क्षेत्रमै खासै नदेखिएको भन्दै केही मतदाताहरू असन्तुष्ट रहेको स्थानीय स्तरमा सुनिन्छ। यही असन्तुष्टिको पृष्ठभूमिमा उनी धार्मिक आशीर्वाद लिन पुगेको तस्वीर सार्वजनिक भएपछि आलोचकहरूले यसलाई “मत तान्ने रणनीति” को रूपमा टिप्पणी गरेका छन्।
मतदाताको मनोविज्ञान : स्थानीय स्तरमा प्रतिक्रिया मिश्रित छ। केही मतदाताले धार्मिक आस्था व्यक्तिगत विषय भएको बताउँदै यसलाई सामान्य भेटघाट भनेका छन् भने अन्यले चुनावअघि मात्र यस्ता गतिविधि देखिनु राजनीतिक उद्देश्यप्रेरित भएको दाबी गरेका छन्।
एक स्थानीय युवाले भने, “जनताको कामभन्दा धार्मिक प्रदर्शनलाई प्राथमिकता दिनु मतदाताप्रति बेवास्ता हो।” तर अर्का एक समर्थकको भनाइ छ, “धर्मगुरुसँग भेट्नु संस्कार र आस्था हो, यसलाई गलत अर्थ लगाउनु हुँदैन।”
कडा प्रतिस्पर्धा हुने संकेत : यस क्षेत्रमा यसपटक बहुदलीय प्रतिस्पर्धा देखिएको छ। एमालेबाट विनोद ढकाल,नेकपाका ओपेन्द्र कुमार राय,राष्ट्रिय स्वतन्त्र पार्टी बाट रुबिना आचार्य,राष्ट्रिय प्रजातन्त्र पार्टीका सबिन निरौला, स्वतन्त्र उम्मेदवार उत्तम दाहाल लगायत उम्मेदवार चुनावी मैदानमा छन्। बहुआयामिक प्रतिस्पर्धाका कारण यसपटकको निर्वाचन परिणाम अनुमान गर्न कठिन हुने विश्लेषकहरूको भनाइ छ।
चुनावको संघारमा नेताहरूले अपनाउने धार्मिक, सामाजिक र भावनात्मक रणनीतिले मतदाताको मन जित्ने कि उल्टै प्रश्न उठाउने भन्ने कुरा मतदानपछि मात्र स्पष्ट हुनेछ। तर मोरङ–६ मा भने यसपटक मतदाताले विगतको काम, उपस्थिती र विश्वासका आधारमा निर्णय गर्ने संकेत देखिन थालेको छ—जसले चुनावी समीकरणलाई थप रोचक बनाएको छ।






