देश बनाउन छानौं यस्तै नेता

१७ बर्से लोकतान्त्रिक राज्य व्यवस्थाले नेपाली नेतालाई नवसामन्त नै बनायो, जनतालाई भने निरास पा¥यो । मिलेमतोमै तस्कर, भ्रष्ट, अपराधी, लुटेरा बिचौलिया र भूमाफियाकै नाइकेले मुलुकमा लुट मचाए, तर सीमित जननेता भने सत्तामा पुग्नै पाएनन् । अहिले जनता चटके, धोकेबाज, नवसामन्त होइन, आफ्नो पीरमर्का बुझिदिने, देश र देशवासीको हित, उत्थान तथा जनतालाई साथमा लिएर निरन्तर अगाडि बढिरहने जननेताको खोजीमा छन् ।

जननेता त्यस्तो व्यक्ति हो, जसले निःस्वार्थ सेवा सर्वोपरी ठान्छ । आफ्नो दल र समूहलाई सिद्धान्तअनुरुपै देश र देशवासीको हितमा समर्पित गराउँछ । आधारभूत आवश्यकता पहिचान गर्छ, सम्बोधन गर्ने कार्ययोजना बनाउँछ तथा देश र देशवासीको उत्थान निम्ति आफैं मार्गदर्शक भएर निरन्तर लागिरहन्छ । जननेताको भनाइ र गराइमा कुनै भिन्नता हुँदैन । जे भन्छ, त्यही गर्दछ । जे गर्दछ, त्यही भन्छ । स्वार्थ र विभेदरहित हुन्छ । सबै भौगोलिक क्षेत्रका नागरिक उसका निम्ति समान हुन्छन् । त्यस्तै, जनप्रिय व्यक्ति नै जननेता ठानिन्छ । जनता अहिले त्यस्तै आदर्श जननेताको खोजीमा छन् । निःस्वर्थी, उदारवादी जननेतालाई सत्ता सुम्पन्न चाहन्छन् ।

यस्तै विशेषतावाला व्यक्तिलाई आगामी आमनिर्वाचनमा मतदाताले प्रतिनिधिका रूपमा छान्ने हो भने हाम्रो संसद् अवश्य नै मुलुक र मुलुकवासीलाई उपलब्धि हासिल गराउने नमुना बन्न सक्छ । आमनेपालीको अहिलेको मुख्य चासो र साझा सरोकारको विषय नै यही हो । यसर्थ, मौका गुमाएर पछि पछुताउनुभन्दा अहिले नै सुझबुझ पु¥याइ यस्तै विशेषता योग्य प्रतिनिधि चुनौं ।

१. राष्ट्रभक्त व्यक्ति
अनुभवी हुन् वा नयाँ उम्मेदवार, सबैका आचरण अहिले व्यापक चर्चा र बहसको विषय बनिरहेको छ । उम्मेदवारका आचरण चर्चा र बहसको विषय बनाइनुपर्दछ । सार्वजनिक रूपमा आउने नकारात्मक एवं सकारात्मक पक्षले कुन उम्मेदवार कस्तो हो ? पहिचान गराउँछन् । चर्चा र बहसक्रममा निस्कने वैयक्तिक गुण र दोष तथा उम्मेदवारको विगत र वर्तमान तुलनात्मक व्यवहारकै अध्ययनका आधारमा कुन उम्मेदवार देश र देशवासीप्रति भक्त हो ? कुन होइन, छुटिन्छ । यसैले नैतिकता नै बन्धकमा राख्ने, विदेशीकै दलाल बन्ने, स्वार्थमा सम्झौता गर्ने तथा एजेन्ट बन्नसक्ने विश्वासघाती व्यक्ति जोसुकै भए पनि त्यसलाई पन्छाएर स्वच्छ र अटल राष्ट्रभक्त व्यक्ति छानी मतदाताले नेता बनाउन चुक्नु हुँदैन ।

२. सेवालाई कर्तव्य ठान्ने व्यक्ति
सर्वसाधारणको हित हुने कार्य गर्नु वा जनआवश्यकता परिपूर्ति गर्नु सेवा हो । त्यस्तै, सेवामा स्वैच्छिक रूपमै समर्पित नहुने व्यक्ति जननेता बन्न सक्दैन । यसैले नेता र जनसेवा एकअर्काका पुरक मानिन्छन् । यसैगरी कर्तव्य भन्नासाथ नैतिक, सामाजिक, धार्मिक, प्रशासनिक, कानुनीलगायत सार्वजनिक हितमा गर्नुपर्ने वा गर्न लायक कार्य सम्पन्न गर्नु हो । जनआवश्यकता पूरा गर्न सरकारी तथा गैरसरकारी तहबाट गरिने गतिविधि सबै जनसेवामा समेटिएका हुन्छन् । जनसेवा क्षेत्र असीमित हुन्छ ।

जन्मदेखि मृत्युपर्यन्त मानिसले स्थानीय समाजदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रसम्म सञ्चालन गर्ने हरेक क्रियाकलाप र गतिविधि समाज सेवामा समेटिएका हुन्छन् । यसक्रममा समाजसेवीले लक्षित वर्ग वा सुमदायको हित केन्द्रमा राखी कार्य गरेको हुनुपर्दछ । जनसेवा लादिएको हुनु हुँदैन, यो त व्यक्तिमा स्वैच्छिक रूपमै जागरुक हुनुपर्दछ । जनसेवालाई कर्तव्य ठान्ने व्यक्ति आफ्नो निर्वाचन क्षेत्रमै सीमित रहँदैन । सिंगो मुलुकको भौगोलिक क्षेत्रलाई नै उसले कार्यक्षेत्र बनाएको हुन्छ । समस्त देशवासीको हित र कल्याणमा ऊ केन्द्रित रहन्छ । त्यस्तो व्यक्ति देशकै नेता ठानिन्छ । आपतमा पर्नेको निम्ति सहारा बन्नु, असहायलाई सहयोग गर्नु, निमुखाका लागि आड र भरोसा बनिदिनु जनसेवी व्यक्तिका कर्तव्य नै हुन्छन् । आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका व्यक्तिमध्ये स्वैच्छिक रूपमै सेवालाई कर्तव्य ठान्ने व्यक्ति छानेरै संसद्मा पठाउने उपयुक्त अवसर अहिले नै हो ।

३. सकारात्मक सोच वा भिजन भएको दूरदर्शी व्यक्ति
सकारात्मक सोच भएको दूरदर्शी व्यक्तिले आफ्नोभन्दा अरूकै विचार र भनाइलाई बढी महŒव दिन्छ । उसले व्यक्ति एवं समूहगत विचारलाई सधैं संवेदनशील ठान्छ । त्यसलाई ग्रहण गरी छानबिन र विश्लेषण गर्दछ । विवेचनात्मक रूपमा हेर्दा आफूलाई उपयुक्त नलागे अरूसँग परामर्श लिन्छ । अन्ततः तार्किक ढंगले नै आफ्नो विचार व्यक्त गरी सकारात्मक ढंगले नै सम्झाएर टुंग्याइदिन्छ । उसको यस्तो उदार कार्यशैलीले विचार उत्थानकर्ता व्यक्ति वा समूह पनि ऊबाट कहिल्यै टाढिँदैनन् । साथै, सकारात्मक सोचवाला व्यक्ति दूरदर्शी पनि हुन्छ ।

विगतका अनुभवबाट उसले वर्तमानको कार्ययोजना बनाउँछ । विगत र वर्तमानकै कार्यपरिणाम तुलनात्मक रूपमा विश्लेषण गरी भावी कार्यनीति तय गर्छ । दूरदर्शी व्यक्तिले कार्य प्रारम्भ गर्नुपहिले नै त्यसको विविध पक्ष’bout विश्लेषण गर्ने भएकोले सीतिमिति असफल पनि हुँदैन । दूरदर्शी व्यक्तिले जनमानसलाई सहकार्यको सारथी बनाउने भएकोले कार्यमा असफल भइहाले ऊ समाजबाट एक्लिँदैन । आगामी आमनिर्वाचनमा यस्तै भिजनवाला छान्न सक्नुपर्दछ ।

४. नीति निर्माण र कार्यान्वयनमा दक्ष
जननेतामा हुनुपर्ने अर्को आधारभूत विशेषता नीति निर्माण गर्ने र कार्यान्वयन गराउने खुबी हो । यो विशेषता नभएको व्यक्तिले अर्काकै भरमा पर्नुपर्दछ । त्यो अवस्थामा ऊ आफैं जागरुक बन्न सक्दैन । सेवा सन्दर्भमा जननेता सम्बद्ध नीतिभित्र आमनागरिकले लिनुपर्ने अचार व्यवहारको सही बाटो, सदाचार, कर्तव्य र आचरणजस्ता आधारभूत पक्ष समेटिएका हुन्छन् । ती समाजलाई सुसंस्कृत एवं सभ्य बनाउने उद्देश्यमा आधारित हुन्छन् । त्यस्तै, समयसापेक्ष आदर्श प्रभावकारी नीति निर्माण गर्ने क्षमता जननेतामा हुनुपर्दछ ।

निर्मित नीतिलाई व्यवहारमा अक्षरशः पालना गराइ नेताले उपलब्धि हासिल गराउनुपर्दछ । अर्को शब्दमा नीति कार्य सञ्चालन प्रक्रिया हो । समाज व्यवस्थित रूपमा सञ्चालन गराउन बनाइएका ऐन कानुन राज्य वा समाजका नीतिका दृष्टान्त हुन् । दक्ष जननेताले नीतिको खाका आफैं कोर्न सक्छ, निर्मित नीति व्यवहारमा लागू गराएर देखाउँछ । आमनागरिक नै नीति अनुशरणकर्ता हुने भएकाले मुलुक र मुलुकवासीकै सुख समृद्धिको ढोका पनि खुल्छ । आममतदाताले यस्तै सक्षम व्यक्ति छान्ने अवसर गुमाउनु हुँदैन ।

५. कुशल व्यवस्थापक
जननेतामा हुनुपर्ने अर्को अपरिहार्य विशेषता कुशल व्यवस्थापक हो । व्यवस्थापकीय गुण नभएको व्यक्ति राम्रो जननेता मानिँदैन । व्यवस्थापकीय भूमिका त जनप्रतिनिधिको सेवाको आधारस्तम्भ नै हो । जनप्रतिनिधिले आफ्नै अनुयायी, सहकर्मी, प्रशासनिक पदाधिकारी, राज्य निकाय, सत्तासञ्चालक व्यवस्थापन गर्नुपर्दछ । यतिमात्र होइन, आफ्नै आलोचक, विपक्षी एवं विरोधीको, आमनागरिकलगायत समाजका सबै वर्ग र समुदायकै व्यवस्थापन गर्नुपर्दछ । नेता आफैं कुशल व्यवस्थापक भए राज्य नै व्यवस्थित गराउन सक्छ । यो जननेतामा हुनुपर्ने महत्वपूर्ण विशेषता हो ।

६. सर्वसाधारणलाई आकर्षित पार्ने कला
जननेताले सबैको मन जित्नुपर्दछ । सबैसँग मित्रता राखी प्रियपात्र बन्नुपर्दछ । रसिक र मिजासिलो हुनुपर्दछ । यसैका लागि जननेतामा सबैलाई आकर्षित बनाउने कला हुनुपर्दछ । आकर्षित पार्ने कला पनि क्षणिक होइन, दीर्घकालीन वा सदावहार हुन जरुरी छ । अहिलेकै प्रचारप्रसारको दृष्टान्त हेर्ने हो भने कतिपय उम्मेदवार मतदाताको खेतबारी खन्न, बालीनाली उठाउन, खाद्य परिकार पकाउन तथा खुट्टा समाएरै मतदाता रिझाउन लागेको देखिन्छ । तर यस्तो नाटकीय दृश्य उम्मेदवार आफ्नै लागि घातक हुन्छ । किनकि उम्मेदवारले सबै मतदाताका घरमा पुगेर यस्तै कार्य गर्न सक्दैनन् । जसले मतदाताबीच नै विभेदित व्यवहार गरेको संकेत गर्दछ । मतदाता नै रुष्ट हुन सक्छन् । सबै मतदातालाई जननेताको यस्तो नाटकीय व्यवहारले समान ठान्दैन । उसले आफ्नो व्यवहार र कार्यशैलीबाटै सर्वसाधारणलाई अकर्षित पार्ने प्रेरणा दिनुपर्छ । उसको व्यवहार उर्लेर आएको खहरे जस्तो हुनुहुँदैन, गतिहीन देखिने समुद्रझैं मन्द हुनुपर्छ । त्यस्तै धैर्य तर आकर्षक स्थिर व्यवहार भएको योग्य व्यक्ति छान्नुपर्दछ ।

७. दृढ निर्णायक क्षमता
जननेताको कार्य सधैं चुनौतीपूर्ण हुन्छ । कतिपय अवस्थामा अकल्पनीय चुनौतीकै सामना गर्नुपर्दछ । चुनौती निम्तिए उचित निर्णय दिनुपर्दछ । सहकर्मी, सहयोगी, सर्वसाधारण वा समाजबाटै आउने रायसुझाव’bout न्यायिक निर्णय नै दिनुपर्दछ । जननेताले दिने निर्णय कानुनी एवं व्यवहारिक रूपमै युक्तिसंगत पनि हुनुपर्दछ । सधैं सकारात्मक वा एसमेनकै भूमिका जननेताले अपनाउनुहुँदैन । व्यक्तिगत एवं समूहगत रूपमै आउने राय निष्कर्ष नै गलत भए गलतै भन्न सक्नुपर्दछ । यस्तै दृढ निर्णायक क्षमता भएको व्यक्तिलाई नेता बनाउनुपर्दछ ।

८. परिस्थितिअनुसार कार्य गर्न सक्षम
कुन नेता कस्तो छ ? भन्ने आइलाग्ने चुनौतीले नै परीक्षण गर्दछ । सामान्य होस् वा असामान्य जस्तोसुकै अप्रत्यासित चुनौती आइलागे त्यसलाई सहज ठानी समाधान गर्ने खुबी नेतामा हुनुपर्दछ । आसमान्य परिस्थितिसँग आत्तिने, हडबढाउने, नर्भस हुने तथा किमकर्तव्य विमुख बन्ने व्यक्ति योग्य जननेता हुँदैन । चुनौतीलाई बुद्धिमत्तापूर्ण ढंगले हल गर्न सक्ने जुझारू नेता आफ्नो भूमिकाबाट विचलित हुँदैन । नेतृत्व सबल हो वा दुर्बल भन्ने मापनको कसी नै चुनौती हुने भएकोले, सक्षम व्यक्तिलाई मात्र नेता बनाउन जरुरी छ ।

९. इमानदार
जननेता बोली व्यवहार र कार्यमा इमानदार हुनुपर्दछ । निष्कपट, सच्चा व्यवहार र विश्वासी व्यक्ति जनताको नजरमा इमानदार ठानिन्छ । नेताका हरेक काम कार्यले इमानदारिताको झलक प्रस्तुत गर्नुपर्दछ । लोकप्रिय कार्यशैली अपनाउने व्यक्ति इमानदार हुने भएकोले उसलाई जनताले निरन्तर साथ दिन्छन् । अन्य उल्लेखित सबै विशेषता भए पनि व्यक्तिमा इमानदारिता छैन भने त्यो नेता भन्न लायक हुँदैन । अरूको भनाइमा नलागी नितान्त स्वविवेकीय निर्णयबाटै इमानदार व्यक्ति नै नेता हुन् ।

१०. स्वच्छ र पारदर्शी कार्य गर्ने
जननेताको कामकार्यको मूल्यांकन जनताले गरेका हुन्छन् । नेताका हरेक गतिविधि पारर्शी हुनुपर्दछ । निष्कलंक, स्वच्छ, पारदर्शी कार्य गर्ने व्यक्ति कहिल्यै जनताको नजरबाट गिर्दैैन । वित्तीय कारोबारको सन्दर्भमा मात्र होइन, सामान्यदेखि ठूला एवं राष्ट्रियस्तरकै निर्माण कार्यको, कार्ययोजनादेखि कार्यान्वयन चरणसम्मको यथार्थ झलक नेताले जनतामा राख्नुपर्दछ । त्यस्तै प्रसशनीय कार्य गर्ने इमानदार र विश्वासी व्यक्तिलाई जनताको आफ्नो प्रतिनिधि छान्नुपर्दछ ।

११. उदार एवं नम्र
जननेता आफैंमा खरो र रुखो स्वभावको हुनुहुँदैन । आदर्श जननेताले आफैंलाई ठूलो ठान्दैन । तर जननेताको मन भने ठूलो र उदार हुनुपर्दछ । दिलदार र सहनशील हुनुपर्दछ । नेता स्वभावमा सधैं नम्र र मिजासिलो हुनुपर्दछ । धन, पद र शक्तिको घमण्ड नेतामा हुनु हुँदैन । सबैमा शिष्ट र विनयशील व्यवहार अपनाउने, सबैलाई समान मान्ने, आदर्श गुण नेतामा हुनुपर्दछ । यस्तै व्यक्ति सबैको प्रियपात्र बन्छ । यसर्थ, उल्लेखित विशेषतावाला व्यक्ति छानिए देश र देशवासीको कल्याण हुने कुरामा मतदाता संवेदनशील बन्नुपर्दछ । पछि पछुताउनुपदैन ।
(लेखकको यो निजी विचार हो)

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम