काठमाडौँ । निर्वाचनको कारण देखाउँदै यति बेला चलचित्र प्रदर्शन स्थगित गर्ने लहर नै चलेको छ । जसका कारण फागुनमा अब दुई साता भित्र कुनै पनि नेपाली चलचित्र नआउने घोषणा गरिएको छ । जसका कारण आगामी चैतदेखि जेठसम्म चलचित्र प्रदर्शनीमा प्रतिस्पर्धा बढ्ने देखिएको छ ।
यसै क्रममा आगामी १३ चैतमा रिलिज हुने भनेर प्रचार प्रसार थालिएको एभरेस्ट सूर्य बोहरा निर्देशित नेपाली चलचित्र ‘चमेलीको पोइ’को पनि सो मितिमा रिलिज स्थगित गरिएको छ । पूर्वघोषित मिति १३ चैतमा यो प्रदर्शन नहुने निर्माण पक्षले बिहीबार एक विज्ञप्ति जारी गर्दै जनाकारी गराएको छ ।
यस चलचित्रमा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेम देव गिरी, गणेश गौतम, रामनारायण उपाध्याय, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरी लगायतको अभिनय रहेको छ ।
निर्माता राम नारायण उपाध्यायले १३ चैतमा देशभर प्रदर्शन हुने भनिएको चलचित्र अब उक्त मितिमा नआउने जानकारी दिए । देशको वर्तमान राजनीतिक परिस्थिति र निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै यस चलचित्रको प्रदर्शन मिति स्थगित गरिएको उनले बताए ।
निर्माता उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी चलचित्र प्रदर्शनको लागि शान्तिपूर्ण र अनुकूल वातावरणको प्रतीक्षामा छौँ, जसले चलचित्रको प्रदर्शनलाई थप प्रभावकारी बनाउने विश्वास लिएका छौँ । यस चलचित्रको नयाँ प्रदर्शन मिति छिट्टै मिडियामार्फत सार्वजनिक गर्नेछौँ,’ उनले समयमै यस चलचित्र निर्माण सम्पन्न गरेको जनाउँदै निर्देशक बोहरालाई पनि धन्यवाद दिएका छन् ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको तथा सुनिता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको यस चलचित्रको कथा निर्देशक बोहराले लेखेका हुन् । यसमा शिवम अधिकारीको पटकथा तथा शेरबहादुर तामाङको छायांकन रहेको छ । सामाजिक कमेडी कथावस्तुमा आधारित यस चलचित्रमा उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्मातामा छन् भने सह–निर्माताहरू प्रदीप कुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर हुन् ।
सम्बन्धित समाचार
आर्यन र केकीद्वारा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को उद्घाटन
‘बिगुल’ र ‘श्री बुकुरो’बिच प्रतिस्पर्धा, पछ्याउँदै ‘शिवांश’
प्रदेश स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता दमकमा सम्पन्न
हलिउड दिग्गज अभिनेता रोबर्ट डुभलको निधन
जेलमा भएको थियो निर्देशक रोहित सेट्टीको हत्या योजना
नारायण ढकालले सार्वजनिक गरे नयाँ उपन्यास
‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालबाट सेजल जाँदै






