काठमाडौँ । दुई साता अघिसम्म चलचित्र घरमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’लाई प्रजातन्त्र दिवसको अवसर भनेर ७ फागुनबाट रास्वपाका नेता बालेन शाहको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
बालेन शाहको ¥याप गीत समेत राखिएको र उनी सल्लाहकार रहेको यो चलचित्रले बालेनको चुनावी अभियानमा सहयोग पु¥याउने विश्वास निर्माण पक्षको रहेको छ । बालेन शाहसँग निकट रहेका चलचित्र निर्देशक एवम् कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्र बक्स अफिसमा त्यति सफल हुन सकेन ।
यो चलचित्रलाई गत ४ पुसमा चलचित्र घरमा रिलिज गरिएको थियो । व्यवसायिक असफल यो चलचित्रमा बालेनले गाएको ‘आम नेपाली बुबा’ गीत राखिएको थियो । यो गीत भने दर्शकमाझ निकै लोकप्रिय बनेको छ ।
करिब २ करोड ३० लाखको बजेटमा निर्माण भएको भनिएको यो चलचित्रले चलचित्र घरमा ५१ दिन मनाउँदा समेत जम्मा १ करोड २८ लाख ५२ रुपैयाँको ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा उल्लेख छ । यो चलचित्र हलबाट उत्रिएको दुई साता नबित्दै तथा हल रिलिज भएको दुई महिना भित्रै निःशुल्क रूपमा डिजिटल प्लेटफर्ममा आएको हो ।
यसरी बक्स अफिसको व्यापारबाट पनि करिब डेढ करोडको घाटा बेहोरेको यो चलचित्रलाई विभिन्न टेलिभिजन च्यानल र ओटिटी प्लेटफर्मबाट रिलिज नै नगरी एक्कासि बालेन शाहको युट्युब च्यानलबाट यति बेला रिलिज गरिएको हो । यो चलचित्र प्रशासनिक भ्रष्टाचारी विरुद्धको कथामा निर्माण भएको र चलचित्रले सुशासनको वकालत गरेका कारण यसले बालेन र रास्वपाको चुनावी प्रचारमा सहयोग पु¥याउने विश्वास निर्माण पक्षको रहेको छ । सोही कारण यो चलचित्रलाई ओटिटी र सेटेलाईट च्यानलबाट रिलिज नगरी एक्कासि बालेन शाहको युट्युब च्यानलबाट प्रजातन्त्र दिवसको अवसर पारेर बिहीबार रिलिज गरिएको निर्माण पक्षले स्विकारेको छ । प्रतिक्रिया लेख्ने क्रममा दर्शकहरूले यसलाई बालेनको चुनावी रणनीति समेत भनेका छन् । चलचित्र हरेपछि धेरैले बालेन शाहको समर्थन गर्दै उनलाई प्रधानमन्त्रीको रूपमा ल्याउनु पर्ने प्रतिक्रिया दिएका छन् ।
यो चलचित्रमा निर्देशक अर्जुन घिमिरे (पाँडे)सहित रमेश उप्रेती, गणेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी), विमोचन दवाडी, जेसिका पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् ।






