काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ चलचित्रको रूपमा आगामी ११ वैशाखमा चलचित्र घरमा आउने भएको छ । ११ वैशाखबाट रिलिज गर्ने घोषणा सहित निर्माण पक्षले ‘परालको आगो’को फस्ट लुक्स (पोस्टर) बिहीबार सार्वजनिक गरेको छ ।
फस्ट लुक्समा मुख्य कलाकार सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचित्रमा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मन्जिला बानियालगायतको अभिनय रहेको छ ।
चलचित्रको वितरण आर फिल्म्सले गर्नेछ भने डिजिटल प्रदर्शन अधिकार ओएसआरले लिइसकेको छ। पहिलो पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढेको निर्माण पक्षले जनाएको छ ।
हरिओम सिने मेकर्स प्रालिको निर्माणमा तयार भएको चलचित्रका निर्माता सुशील पोखरेल हुन्। कथा सुशील देवकोटाले लेखेका हुन् भने छायांकन संकल्प भुजेलले गरेका छन् ।






