प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे विजय र रश्मिकाले

राजस्थान । दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता विजय देवेराकोन्डा र लोकप्रिय अभिनेत्री रश्मिका मन्दाना बिहीबार राजस्थानमा सम्पन्न एक भव्य तथा सांस्कृतिक समारोहकाबिच बिहीबार वैवाहिक बन्धनमा बाँधिएका छन् । सामाजिक सञ्जालमा ‘विरोश’ नामले चिनिने यो जोडीले परम्परागत विधिअनुसार आफ्नो दाम्पत्य जीवनको सुरुवात गरेका हुन् ।

राजस्थानस्थित ऐतिहासिक दरबार शैलीको एक विशिष्ट आवास गृहमा आयोजित समारोहमा दुवै पक्षका परिवारजन, निकट आफन्त, घनिष्ठ मित्र तथा चलचित्र क्षेत्रका सीमित आमन्त्रित व्यक्तिहरूको उपस्थिति रहेको थियो । विवाहको मुख्य अनुष्ठान साँझ सूर्यास्तको समय पारेर सम्पन्न गरिएको थियो । तेलुगु तथा कोडावा संस्कारअनुसार मण्डप सजाइएको थियो ।

बेहुला बनेका विजयले धोती, कुर्ता र शाल धारण गरेका थिए भने दुलही रश्मिका परम्परागत रेशमी सारी, सुनका गरगहना र सुसज्जित शृङ्गारमा अत्यन्त मनोहर देखिएकी थिइन्। उनको पहिरनले दक्षिण भारतीय सांस्कृतिक पहिचान झल्काएको थियो । विवाहअघि आयोजित मेहन्दी तथा सांगीतिक कार्यक्रममा दुवै परिवारका सदस्यहरूले गीत–सङ्गीत र नृत्यमार्फत वातावरणलाई हर्षोल्लासपूर्ण बनाएका थिए ।

विवाह समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । निजी क्षणहरू सार्वजनिक नहोस् भनी आमन्त्रित पाहुनालाई सञ्चार उपकरण प्रयोगमा संयमता अपनाउन आग्रह गरिएको थियो । तथापि, केही तस्बिर तथा दृश्य सामाजिक सञ्जालमार्फत सार्वजनिक भइसकेका छन्, जसले प्रशंसकहरूमा थप उत्साह थपेको छ ।

विवाह स्थल बाहिर उपस्थित सञ्चारकर्मी तथा छायाकारहरूलाई मिठाई वितरण गरिएको दृश्य पनि सार्वजनिक भएको छ ।

यसरी पारिवारिक आत्मीयता, सांस्कृतिक परम्परा र आधुनिक सौन्दर्य बोधको संयोजनमा सम्पन्न यस विवाहसँगै विजय देवरकोंडा र रश्मिका मन्डाना औपचारिक रूपमा पति–पत्नी बनेका छन्। चलचित्र क्षेत्रमा सफल जोडीका रूपमा परिचित यी कलाकारहरूको वैवाहिक जीवन प्रेम, समझदारी र आपसी सम्मानमा आधारित रहोस् भन्ने शुभकामना सर्वत्र व्यक्त गरिएको छ ।

विजय र रश्मिकाको प्रेम सम्बन्ध चलचित्र गीता गोविन्दम को छायांकनका क्रममा प्रारम्भ भएको चर्चा रहँदै आएको छ । उक्त चलचित्रले उल्लेखनीय सफलता प्राप्त गरेपछि उनीहरूको जोडी दर्शकमाझ अत्यन्त लोकप्रिय बनेको थियो। त्यसपछि उनीहरूले डियर कमरेडमा समेत सहकार्य गरेका थिए । यद्यपि दुवैले लामो समयसम्म आफ्नो सम्बन्ध’bout औपचारिक पुष्टि नगरे पनि सार्वजनिक कार्यक्रमहरूमा सँगै देखिनु, सामाजिक सञ्जालमा साझा गरिएका तस्बिर तथा भ्रमण विवरणहरूले उनीहरूको आत्मीय सम्बन्धलाई पुष्टि गर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

epaper

ताजा समाचार

यात्रुको सुरक्षा सुनिश्चित गर्न प्राधिकरणको निर्देशन