डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महरले भित्रिमधेशको जोगबुडामा आयोजना गरिएको चुनाविसभा लाई सम्बोधन गर्दै भित्रिमधेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । परशुराम नगरपालिका १२ लालढुंगा बजार स्थित जोगबुडा खेल मैदानमा शनिवार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेदवार महरले युवाहरू लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको साथमा रही देशको समग्र विकासमा हातेमालो गर्न शक्ति प्रदर्शन गरिएको बताउँदै युवाको चाहाना अनुरूप क्रिकेट मैदान निर्माण गर्ने प्रतिबद्धता जनाए ।
२०४६ साल पछि डडेल्धुरामा देउवाको नेतृत्वमा विकासको मूल फुटेको उल्लेख गर्दै उम्मेदवार महरले अहिलेको अवस्थामा यो पर्याप्त नभएको र जिल्लाको समग्र विकासका लागि आफूसँग स्पष्ट खाका भएको उल्लेख गरे । जिल्ला सदरमुकाम भन्दा २६ किमी पर नेपाल भारत सीमा महाकाली नदी किनारको विकट दुर्गम लामिकाडे वस्तिको एक गोठमा गाईवस्तुसंगै आफ्नो जन्म भएको जनाउँदै उनले अभाव र हालको प्रविधिको विश्वसँग परिचित भएकाले युवा लक्षित विकासका योजना अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
अन्नको भण्डार भित्रिमधेशमा देशका ७७ वटै जिल्लाका जनता बसोबास गर्दै आएकाले विविधतासँगै खेलकुद र पर्यटनको विकासका योजना अघि बढाउने उनले बताए ।
२०४८ पछि डडेल्धुराका ५२ वटै वडाहरुमा सडक पुगेको, जिल्ला सदरमुकाममा त्यो बेला डिजेल मेसिनबाट तीन घण्टा बल्ने बिजुली हाल जिल्लाका झन्डै ९८ प्रतिशत घरधुरीमा पुगेको, पाँच वटा पालिकामा कालोपत्रे सडक भएको, चार वटा मावि भएको जिल्लामा हाल दुई सय बढी मावि भएको, त्रिवि र सुदूरपश्चिम विश्वविद्यालयका आङ्गिक क्याम्पसका रूपमा दुई वटा क्याम्पस स्थापना भएको, करिब ८० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी पुगेको, भित्रिमधेशका रंगुन, पन्तुरा, महाकाली नदी किनारमा तटबन्ध निर्माण भएको, सिचाइको सुविधा भएको, जिल्ला सदरमुकाममा सङ्घीय र जोगबुडामा प्रदेश सरकार मातहतको अस्पताल स्थापना भएको उल्लेख गर्दै उनले पहिलेको तुलनामा धेरै परिवर्तन विकास भए पनि यो पर्याप्त नभएको बताए ।
महाकाली नदीमा मोटरेबल पुल निर्माण प्रक्रियामा भारतको अदालतले आपत्ति जनाएको खबर पाएको जानकारी दिँदै उनले यो पुल निर्माण गरी परशुराम धामबाट महाभारतको चिर्किट्टे सडक बाटो हुँदै मानसरोवर कैलाश पर्वत जाने रुट निर्माण गरी जिल्ला सदरमुकामलाई हिल स्टेसनका रूपमा विकास गरी युवा रोजगारी, स्वरोजगार, कृषि उत्पादन लाई बढाउने महत्वकाक्षी योजना रहेको सुनाए । डडेल्धुरालाई हिल स्वीन भनी २० वर्ष देखि लेख्दै आएको भए पनि त्यो सपना पुरा गर्न नसकेको भन्दै उनले आवश्यक पूर्वाधार निर्माण गरी वास्तामै हिल स्टेसनका रूपमा डडेल्धुरालाई विकास गर्ने योजना रहेको बताए ।
डडेल्धुरा–अत्तरिया ११५ किमी सडक चार लेनको बनाउन करिब ३२ अर्ब रुपियाँ खर्च आउने प्राविधिक इष्टिमेट देखिएको उल्लेख गर्दै यो सडक खण्ड विस्तार गर्न आफूले पहल थाल्ने बताए ।
यससँगै उनले परशुराम धाम, चुरेमा अवस्थित प्रकृतिको उपहार आलि ताल, भगवान् शिवको बास भागेश्वर, डोटेली राज्यको राजधानी अजयमेरुकोट, नेपाल एकीकरणको साक्षी अमरगढी किल्ला, उग्र तारा भगवती, नवदुर्गा भगवती, पश्चिम सेती, गन्याधुरा धार्मिक, ऐतिहासिक, प्राकृतिक सम्पत्ति भएको उल्लेख गर्दै यी सबै क्षेत्रलाई जोड्ने सर्किट बनाई ७१ प्रतिशत बढी जंगल भएको डडेल्धुरालाई पर्यटकीय सुन्दर जिल्लाका रूपमा विकास गर्ने योजना रहेको बताए ।
चुनावी सभालाई शक्ति गरेको उल्लेख गर्दै उनले भने, आज एक शक्ति प्रदर्शन गरेका छौ । यो शक्ति प्रदर्शन देश जलाउने र बन्दुक उठाउने शक्ति होइन । यो शक्ति भित्रिमधेशका आदरणीय दाजुभाइ, दिदिबहिनीहरु एक पटक फेरी नेपाली कांग्रेसको साथमा छन्, देशको लोकतान्त्रिक पद्धतिका साथमा छन्, नेपाली कांग्रेसको चुनावी चिन्हमा छाप लगाउनका लागि प्रतिबद्ध छन् भनेर हामीले यो शक्ति प्रदर्शन गरेका छौ । यसका लागि म सम्पूर्ण जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धेरै कुरा भन्नु छैन भन्दै उम्मेदवार महरले भने, मलाई याद छ २०४८–२०७९ सालमा यो मञ्चमा हाम्रो अभिभावकका रूपमा हामीले श्रद्धेय नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पाउँथ्यौ । उहाँको छाताभित्र हामीले यो जिल्लाको सङ्गठन, यो जिल्लाको विकासमा योगदान दिएका हौ । आज उहाँ हाम्रो सामु हुनुहुन्न । ८४ मा हुने निर्वाचन ८२ मा जान जसरी हामी बाध्य भएका छौ । हाम्रो श्रद्धेय नेतालाई पनि त्यही बाध्यतामा पारेर जुन हर्कत, जुन हुर्मत लिने काम भयो, तपाई हामीले तिरो तिरेर बनाएका हाम्रा सार्वजनिक संरचना सिंह दरबार, संसद् र अदालतलाई जलाइयो, त्यो शक्तिको आक्रमणमा परेर उहाँ शक्त घाइते भएका कारणले यहाँ आउन सक्नु भएन ।
देउवा सिंगपुरमा उपचार गराई रहेको जानकारी दिँदै उम्मेदवार महरले उनको स्वास्थ्यको शीघ्र स्वास्थ्य लाभको कामना गरे । सात पटकसम्म नेपाली कांग्रेसको पक्षमासाथ रहेको उल्लेख गर्दै उनले आठौँ पटक पनि मतदाताको साथ रहने विश्वास व्यक्त गरे ।
उसो त जति बेला महिला एउटा घुम्टो भित्र बस्न बाध्य थिए । उनले भने, २०१५ सालमा नै डडेल्धुराका जनताले एउटा महिला उम्मेदवारलाई निर्वाचनमा मतदान गरी विजयी गराई दक्षिण एसिया महादेशमा नै पहिलो महिला मन्त्री बनाएको इतिहास छ । यस कारण डडेल्धुरा जिल्ला आफैमा गतिशील र प्रगतिशील दुवै हो ।
२०३६ सालमा निर्दल र बहुदलको चुनावमा राजालाई अधिकार दिने की जनतालाई भन्ने विषयमा पनि जनता यो देशका मालिक हुन भन्दै बहुदललाई पनि जिताएको जिल्ला डडेल्धुरा नै भएको उनले बताए । चुनावी सभामा देखिएको उपस्थितिले विजयी गराएको उनले दाबी गरे ।






