काठमाडौं । प्र तिनिधिसभा निर्वाचनको मतगणनामा देखिएको मत रुझान हेर्दा वैकल्पिक राजनीतिको झन्डा उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत सुनिश्चित गरी दुई तिहाइ उन्मुख भएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको मत परिणामको अवस्था हेर्दा देशव्यापी लहरसहित फराकिलो अन्तरसहित पहिलो दलसँगै एकल बहुमत ल्याउने निश्चितप्रायः देखिएको छ ।
उपत्यका ‘क्लिनस्वीप’, साना दलका अस्तित्व संकटमा
सुशासन सुनिश्चितता माग गर्दै भएको जेनजी आन्दोलन संस्थागत गर्न भएको निर्वाचनले जेनजी आन्दोलनलाई संस्थागत रूपमा स्वागत र समर्थन गरेको पार्टी रास्वपालाई आमअनुमोदन गर्दै स्थिर सरकार निर्माण र सुशासन सुनिश्चितताको कार्यभार सुम्पने संकेत देखाएको रास्वपाका उपसभापति डोलप्रसाद अर्याल बताउँछन् । निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर–१ बाट निर्वाचित भएको घोषणा गरेकी रञ्जु न्यौपाने (
दर्शना)लाई बधाई ज्ञापन गर्न नयाँ बानेश्वरस्थित सहकारी विभाग पुगेका अर्यालले रास्वपाका काँधमा ऐतिहासिक जिम्मेवारी आएको बताए । बिहीबार भएको निर्वाचनले शीर्ष र स्थापित नेताका विर ासत भनिएका ‘गढ’लाई भत्काउँदै चमत्कारिक परिणामसहित रास्वपा उम्मेदवारले विजय हासिल गरेका छन् भने अग्रता कायम गरेका क्षेत्रमा मत बढाएर फराकिलो मतान्तरसहित विजय प्राप्त गर्ने देखिएको छ ।
जेनजी आन्दोलनको अगुवाइ गरेका नवपुस्ताले समेत रास्वपा नेतृत्वमा स्थिर सरकारसहित राजनीतिक पलटफेरको अवस्थालाई आन्दोलनको अनुमोदन भन्दै सुशासन र समृद्धि सुनिश्चितता ऐहिासिक अवसर भएको बताएका छन् । रास्वपाका उम्मेदवारले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपालगायत नेताको ‘अभेद्य किल्ला’ मानिने क्षेत्रमा जित हासिल गरेको छ ।
पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको एमाले ‘गढ’ मानिने झापा क्षेत्र नम्बर–५ लगायत क्षेत्रमा रास्वपाले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले मुस्ताङबाट पहिलो जित निकालेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट विजय प्राप्त गरेका छन् ।
उपत्यकामा रास्वपाको ‘क्लिनस्विप’
प्रतिनिधिसभा निर्वाचनमा वैकल्पिक राजनीतिको झन्डा उठाएको रास्वपाले संघीय राजधानी काठमाडौंमा ‘ क्लिनस्वीप’ गरेको छ । काठमाडौं जिल्लाका १०, भक्तपुरका २ र ललितपुरका ३ वटै क्षेत्रमा रास्वपाले ‘क्लिनस्वीप’ गरेको हो । ललितपुर क्षेत्र नम्बर–१ मा दक्षिणी भेगका तीनवटा गाउँपालिकामा नेपाली कांग्रेसले ‘लिड’ गरेर आए पनि काँठक्षेत्र प्रवेश गरेपछि गोदावरी नगरपालिकाको मतले रास्वपाका उम्मेदवारलाई विजय गराएको छ । काठमाडौंमा कांग्रेस र एमालेबाट उम्मेदवार भएका ठुलो मतान्तरले पछाडि परेका छन् ।
काठमाडौं क्षेत्र नम्बर–१ मा रास्वपाकी न्यौपानेले जितेकी छन् । २२ वर्षको उमेरमा २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेकी न्यौपाने विवेकशील साझा पार्टीको राजनीतिक आन्दोलनबाट साझा विवेकशील हु ँदै रास्वपासँग पार्टी एकता गर्दै काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार भएकी थिइन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेका प्रबल थापाभन्दा झन्डै तेब्बर मत बढी ल्याएर उनी विजयी भएकी हुन् ।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर–५ बाट नेकपा समुदायको उम्मेदवारले चुनाव जितिरहेको यस क्षेत्रमा रास्वपाले ‘गढ’ भत्काइदिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेका र पटकपटक मन्त्री भएका ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, राप्रपाका वरिष्ठ नेता कमल थापालगायतलाई पराजित गर्दै रास्वपाका युवा नेता सस्मित पोखरेल विजयी भएका छन् ।
काठमाडौं क्षेत्र नम्बर–७ मा विराजभक्त श्रेष्ठले पहिलेभन्दा फराकिलो मतान्तरले जितेका छन् भने काठमाडौं क्षेत्र नम्बर–९ मा रास्वपा उपसभापति डीपी अर्याल एकल दौडजस्तै निर्विकल्प विजय भएका छन् । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई रास्वपाका सुलभ खरेलले फराकिलो मतान्तरले पराजित गरेका छन् ।
भक्तपुर–१ र ललितपुर–२ मा ‘रेकर्ड ब्रेक’
ललितपुर क्षेत्र नम्बर–२ मा आमनिर्वाचन इतिहासकै पहिलोपटक गैरनेवाः समुदायको जगदीश खरेलले विजय हात पार्ने देखिएको छ । २०४८ सालदेखि लगातार महर्जन त्यस्तै, भक्तपुर क्षेत्र नम्बर–१ मा राजनीतिक इतिहासका हिसाबले ‘रेकर्ड ब्रेक’ भएको छ । २०४८ सालको आमनिर्वाचनदेखि निरन्तर नेपाल मजदुर किसान पार्टीले चुनाव जितिरहेको यस क्षेत्रमा यो निर्वाचनमा रास्वपाका रुकेश रञ्जितले फराकिलो अन्तर कायम राखेका छन् ।
कम्युनिस्टलाई धक्का
नेपाली राजनीतिमा दुई तिहाइको जनमत भएको नेपाली कम्युनिस्ट पार्टी ८ वर्षको अन्तरालमा अत्यन्तै कमजोर हालतमा पुगेको छ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका माध्यमबाट दुई तिहाइको आँकडामा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ पुस २०७७ को संसद्् विघटनसँगै ओरालो यात्रा लागेको थियो ।
२०७९ सालको आमनिर्वाचनबाट कमजोर बनेको नेकपा एमालेसहितका कम्युनिस्ट पार्टी यही २१ फागुनको निर्वाचनबाट झन् कमजोर भएका हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार शुक्रबार राति यो समाचार तयार पार्दासम्म नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी १०–१० सिटको हाराहारीमा रहेका छन् । प्रत्यक्षतर्फको निर्वाचन परिणाममा एमाले, नेकपा र नेपाली कांग्रेसले १०–१० सिटकै हाराहारीमा हुने देखिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाहेक शीर्ष कम्युनिस्ट नेताहरू सबै पराजित भएका छन् । नेकपा एमाले अध्यक्ष ओली, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, ईश्वर पोखरेल, शीर्ष नेता राजेन्द्र पाण्डे, विष्णु पौडेललगायत नेताले ‘शर्मनाक’ पराजय व्यहोरेका छन् ।

कुलमानलाई हराउँदै बालेननिकट पाण्डे विजयी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई हराउँदै उनी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । पाण्डे १८ हजार ७५७ मत पाएर विजयी भएका हुन् । कुलमानले ११ हजार १७१ मत पाएर दोस्रो स्थान बनाएका छन् ।
निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डे विजयी भएको घोषणा गरिएको हो । पाण्डे काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख हुन् । महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएर निर्वाचनमा होमिएका पाण्डे रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहनिकट हुन् । उनले आफूलाई ‘बालेन सरको सिपाही’ भन्दै चुनाव प्रचार गरेका थिए । २६ माघ २०२७ म नुवाकोटमा जन्मिएका पाण्डे काठमाडौं महानगरपालिका सामाखुसीमा बस्छन् । पाण्डे २०५० सालमा काठमाडौं महानगरपालिकाको नगरप्रहरी सेवामा प्रवेश गरेका थिए ।






