धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीले हालै सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने मतदाता तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।
एमाले धनकुटाले पत्रकार सम्मेलन गरि मतदातालाई धन्यबाद ब्यक्त गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एमालेबाट उम्मेदवार भइ बिजयी बनेका राजेन्द्रकुमार राईले धनकुटेली जनताका समस्या सदनमा गुन्ज्याउने बताएका छन् । धनकुटाको बाँदर नियन्त्रण, धरान लेउती सुरुङ मार्ग, कृषि, रोजगार, स्वास्थ्य, शिक्षा मुख्य प्राथमिकता राखेर सदनमा आवाज गुन्ज्याउने बताएका हुन् ।
उनले यो पटक सरकार बाहिर बस्नुपर्ने अवस्था रहेको बताउँदै मतदाताको अपेक्षा पुरा गर्न समस्या हुने अवस्था आएको बताए । उनले पार्टी सरकारमा भएपनि नभएपनि धनकुटेली जनताको माग पुरा गर्न संधैभरि लागिपर्ने बताए । उनले धनकुटेली जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पटक पटक दोहो¥याए ।
एमालेले पार्टीका उम्मेदवारलाई मतदान गरी विजयी गराउने मतदाता तथा निर्वाचन प्रक्रियालाई व्यवस्थित, शान्तिपूर्ण र मर्यादित बनाउन भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिएको छ ।
एमाले जिल्ला कमिटी अध्यक्ष शिव आङ्लाले मतदाताले व्यक्त गरेको विश्वास र भरोसालाई सधैं शिरोपर गरी विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।






