धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले अब बन्ने सरकारले सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटन विकासलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।
भारतको अयोध्या भ्रमणका क्रममा उनले त्यहाँ राम मन्दिर पुनर्निर्माणपछि बढेको आर्थिक गतिविधि र विकासको उदाहरण दिँदै नेपालमा पनि धार्मिक पर्यटनलाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
नगरप्रमुख हमालका अनुसार सुदूरपश्चिम प्रदेशमा अझै पनि ठूलो जनसंख्या गरिबी रेखामुनि रहेको छ । धार्मिक पर्यटनको विकासले गरिबी न्यूनीकरण गर्न तथा स्थानीय जनताको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
उनले धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको संरक्षण, व्यवस्थापन र प्रभावकारी प्रचार–प्रसार गर्न सके आस्था र पर्यटन दुवैलाई मजबुत बनाउन सकिने बताए । सुदूरपश्चिममा रहेका विभिन्न धार्मिक सम्पदालाई उचित रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उनले उल्लेख गरे ।
नगरप्रमुख हमालले धार्मिक पर्यटनको विस्तारले रोजगारी सिर्जना, स्थानीय व्यवसायको प्रवद्र्धन तथा क्षेत्रीय आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पु-याउने बताउँदै यसतर्फ सरकारको विशेष ध्यान आवश्यक रहेको धारणा व्यक्त गरे ।






