वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले नीजि क्षेत्रमैत्री व्यवहारका लागि दत्तचित्त भइ काम गरिरहेको बताएका छन् । वीरगन्ज उद्योग बाणिज्य संघको ५० बार्षिक सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालो सूचीमा पर्ने प्रावधानका विषयमा पनि अध्ययन गरिरहेको उनले बताए । कालो सूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको उनको भनाइ छ । ‘चेक ब्याउन्स हुने वित्तीकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ’ उनले भने । ‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने भन्ने विषयमा लागिरहेका छौँ’ । चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालो सूचीमा पर्ने देखिएको छ,’ कालो सूचीमा नराख्नु पर्ने कति छन् नराख्ने कति छन् ? भन्ने विषयमा हामीले हेरिराखेका छौँ उनले बताए ।
संघको ५० औं बार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले उद्योगी, व्यवसायीलाई धेरै कडाइ गरेर वा थुनेर व्यापार–व्यवसाय नफष्टाउने पनि दावी गरे । झन नीजि क्षेत्र र मुलुक पनि धारासाही हुने उनको तर्क छ । ‘व्यवसाय गर्न कलेज पढाएर मात्रै पुग्ने पुग्दैन, व्यवसाय गर्ने ‘व्यवसायी बढाउन र मुलुकको हितमा लाग्न व्यवसायीलाई प्रवद्र्धन गर्ने नीति र कार्यसम्पादन गर्नुपर्नेमा आफू र राष्ट्र बैक सजग रहेको उनको भनाइ छ । व्यवसाय गर्न खोज्नेले एक पटक गल्ती गर्दैमा दुःख दिन नहुने पनि गर्भनर पौडेलको सुझाव छ । व्यवसाय गर्न त विभिन्न हन्डर, ठक्कर खाएर अनि अग्रजले गरेको व्यवसायको सन्ततिले निरन्तरता दिएर मात्र चल्दो रहेछ उनले भने ।

प्रविधिको पहुँच र कार्यान्वयनका पक्षमा पनि गभर्नर पौडेलले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिए । भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्रलाई प्रथामिकतामा राख्न प्रविधिमैत्री उद्योग तथा व्यवसाय गर्नुपर्ने उनको भनाइ छ । ‘‘भाविष्यमा पनि सूचना प्रविधि उद्योगहरु धेरै वृद्धि हुन सक्छन् । ‘हामीले बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्नका लागि सम्भावना पहिचान गरी व्यवहार पनि अगाडी बढाउँदै छौं । ‘‘अहिले धेरैजसो व्यवसाय डिजिटल प्लेटफर्ममा अघि बढिरहेका छन् । त्यसैले अब उद्यमी तथा व्यवसायीले पनि प्रविधिको पहुँचलाई आत्मसाथ गर्दै व्यापार व्यवसाय गर्न उनको सुझाव छ ।
अझै संघका पुरानै एजेण्डाको निरन्तरता
स्थापनाको ८२ वर्ष भएको वीरगन्ज उद्योग बाणिज्य संघले औद्योगिक वातावरणमा अझै अन्य मुलुकको तुलनामा नेपाली व्यवसायी प्रतिस्पर्धी हुन नसकेकोलगायत पुरानै एजेण्डा सहित ५० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघका अध्यक्ष हरिप्रसाद गौतमले राज्यको नीति र कार्यान्वयन पक्ष खुकुलो बनाउँदै नीजि क्षेत्रमैत्री बनाएर अघि बढ्न पर्ने बताए ।
बजार, व्यवसाय, बाणिज्य, आपूर्तिका क्षेत्र व्यवस्थित र अनुशासित नभई स्तरीय व्यवसाय र प्रतिस्पर्धी उत्पादन हुन नसक्ने उनको गुनासो छ । विधि र कानून करको भार थप्ने खालका हटाई करको दायरा फराकिलो बनाउँदै अघि बढ्नु पर्ने उनले गभर्नर पौडेल र राज्यलाई पनि सुझाव दिए । संघका सुझाव र मागहरु विगतकै निरन्तरता भएको पाइएको छ । वीरगन्ज पथलैया औद्योगिक कोरिडोर अझै आधिकारिक रुपमा औद्योगिक कोरिडोर क्षेत्र घोषणा हुन नसकेको र आर्थिक रुपमा कमजोर मुलुकमा आयात तर्फ पनि वैधभन्दा अवैध कारोबारले प्रश्रय पाइरहेको संघका पुरानै एजेण्डा निरुपण गर्नु पर्ने माग छन् ।
संघका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य सुबोध गुप्ता, पूर्व अध्यक्ष, गणेश लाठ, ओम प्रकाश सिकारिया, वीरगन्ज भन्सार कार्यालयका मुख्य प्रशासक अर्जुन न्यौपानेलगायतका वक्ताहरुले पनि विगतको तुलनामा केही सुधारात्मक कार्य भइरहेको भए पनि भूपरिवेष्ठित मुलुक नेपालको नीजि क्षेत्रमैत्री व्यवहार राज्यले नदेखाएको संकेत गरे । राज्यले अझ नीजि क्षेत्रमैत्री व्यवहार गर्नु पर्नेमा सबैको जोड छ ।
वार्षिक साधारण सभाको अवसरका वीरगन्ज उद्योग बाणिज्य संघले नेपालमा उत्पादित मालबस्तु सबैभन्दा बढि दोस्रो तथा तेस्रो मुलुक निर्यात गर्ने संघ संस्था तथा कुशल व्यवसायी र केही उद्योगीलाई पनि सम्मान गरेको छ ।






