भ्रामक समाचारप्रति डा. ल्हारक्याल लामाको गम्भीर आपत्ति

काठमाडौं । लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष डा.ल्हारक्याल लामाले आफूविरुद्ध नियोजित रूपमा भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै लामाले केही अनलाइन मिडियाले आफ्नो ५० अर्बभन्दा बढीको सम्पत्ति रहेको भनी प्रकाशित गरेको समाचारलाई कपोलकल्पित र असत्य भएको बताएका हुन् ।

विज्ञप्तिमा लामाले आफ्नो नाममा ५० अर्बको सम्पत्ति रहेको दाबी गर्ने पक्षलाई त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले भनेका छन्, यदि मेरो नाममा त्यस्तो सम्पत्ति प्रमाणित हुन्छ भने त्यसलाई तत्काल राष्ट्रियकरण गर्न म राज्यलाई चुनौती दिन्छु । तर, तथ्यहीन समाचार लेखेर मेरो चरित्रहत्या गर्ने कार्य स्वीकार्य छैन ।

आफ्नो सम्पत्ति र बैंक लकरमा गोली भेटिएको पुरानो विषयलाई फेरि उछालेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले ती मुद्दाहरू अदालतबाट अन्तिम रूपमा टुंगो लागिसकेको स्पष्ट पारेका छन् । अदालतले सफाइ दिइसकेका विषयलाई पुनः ब्युँताएर ुमिडिया ट्रायल गर्नु पूर्वाग्रही र निन्दनीय कार्य हो, विज्ञप्तिमा उल्लेख छ।

लुम्बिनी विकास कोषमा करिब तीन वर्ष उपाध्यक्ष रहँदा आफूले राज्यबाट कुनै पनि सेवा–सुविधा, तलब वा भत्ता नलिई आफ्नै खर्चमा काम गरेको लामाको दाबी छ । उनले आफू कहिल्यै कुनै पनि गैरकानूनी गतिविधि, भ्रष्टाचार वा ठगीमा संलग्न नरहेको समेत जिकिर गरेका छन् ।

दोहोरो नागरिकता र राहदानी सम्बन्धी आरोपहरूलाई समेत आधारहीन भन्दै लामाले सम्बन्धित मिडियालाई आफ्नो गल्ती सच्याएर तत्काल खण्डन प्रकाशित गर्न माग गरेका छन् । अन्यथा, आफ्नो प्रतिष्ठामा पुगेको आघातविरुद्ध मानहानि लगायतका कानूनी प्रक्रिया अगाडि बढाउने उनले चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ हाजिरी जमानीमा रिहा