विजयनगर गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा

कपिलवस्तु । कपिलवस्तु जिल्लामा पूर्ण खोप सुनिश्चित गर्ने अभियानले गति लिएको छ । यसअन्तर्गत विजयनगर गाउँपालिका बुधबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको पाँचौँ पालिका बनेको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारूले विजयनगर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै बालबालिकाको स्वास्थ्य संरक्षणमा खोप कार्यक्रमको भूमिका महत्त्वपूर्ण रहेको बताए । कुनै पनि बालबालिका खोप सेवाबाट बाहिर नपरोस् भन्ने उद्देश्यले अभियानलाई थप प्रभावकारी बनाइने उनले उल्लेख गरे ।

यसैबिच गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार विजयनगरमा एक वर्षमुनिका १ हजार १ सय १९ जना र ६ देखि २३ महिनासम्मका १ हजार ५ सय ६२ जना बालबालिकाले आवश्यक खोप प्राप्त गरेका छन् ।

यसअघि जिल्लाका बुद्ध भूमि, बाणगंगा, महाराजगञ्ज नगरपालिका तथा शुद्धोधन गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् । बाँकी पाँच स्थानीय तहमा पनि घोषणा प्रक्रिया अगाडि बढिरहेको खोप फोकल पर्सन केदारनाथ शाहले जनाए ।

स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका खोप प्रदान गर्ने कार्यक्रम सञ्चालनमा छ । घोषणा हुन बाँकी पालिकाहरूमा छुटेका बालबालिकाको खोजी गरी खोप लगाउने अभियान समेत जारी रहेको छ । कपिलवस्तु जिल्ला यसअघि २०७० फागुन १४ गते पहिलो पटक पूर्ण खोप जिल्ला घोषणा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

पौवादुङमामा ‘विराट ज्ञानमहायज्ञ’मार्फत एक करोड बढी संकलन