काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आङ्खनो पकड क्षेत्र मधेस प्रदेशमा नै एक सिटसमेत जित्न नसके पनि मधेसवादी दलहरू भने यो निर्वाचन परिणामबाट खुसी देखिएका छन् ।
मधेसी मूलका बालेन्द्र शाह (बालेन) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बनाउने निश्चित भएको भन्दै पार्टीले लज्जास्पद पराजय भोगे पनि मधेसकेन्द्रित राजनीति गर्दै आएका दल खुसी देखिएका हुन् । उनीहरू बालेनलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हर्षको विषय भएको बताइरहेका छन् ।
आङ्खना दलले हारे पनि नेपालको पहिलो प्रधानमन्त्री मधेसी हुनु भनेको आफूहरूको माग सम्बोधन भएको र मधेसको एजेन्डा रास्वपाले पूरा गरेको उनहिरुको बुझाई छ ।
बालेनकै कारण कुनै पनि मधेसवादी दलले २१ फागुनको निर्वाचनमा एक सिट पनि जित्न सकेका छैनन् । २० वर्षदेखि राष्ट्रिय राजनीतिमा सत्ताको वरिपरि रहेका मधेसवादी दलहरू उनकै कारण जल्लास्पद पराजयको अवस्थामा पुगेका हुन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बालेनलाई प्रधानमन्त्रीमा हेर्न पाउँदा पार्टी र मधेसी जनता खुसी हुने बताउँछन् । एकल जातीय वर्चस्व तोडेर एउटा मधेसी, थारु, जनजातिको छोराछोरीलाई देशको कार्यकारी प्रमुख बनाउनुपर्ने आफूहरूको माग सम्बोधन हुन गइरहेकाले खुसी हुने विषय भएको टिप्पणी उनले गरेका छन् ।
‘देशकै कार्यकारी पदमा एकल जातीय वर्चस्व समाप्त भएर एउटा मधेसी, दलित, थारुबाट हुनुपर्छ भन्ने एउटा जुन माग थियो, त्यो पूरा हुँदैछ । अर्को माग भनेको उहाँ (बालेन) ले जनकपुरमा चुनावी सभालाई सम्बोधन गर्दै प्रदेशलाई बलियो बनाउने, काठमाडौं घुम्न मात्रै जाने, सबै काम प्रदेशबाटै हुने भन्नु भनेको हाम्रो एजेन्डा हो । अहिले हाम्रो एजेन्डा पूरा हुनुमा हामी त खुसी नै छौं,’ राउतले भने ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले मधेसको छोरा प्रधानमन्त्री बन्नु ठूलो उपलब्धि भएको भन्दै आफूहरू खुसी भएको बताए । एउटा मधेसीको छोरा प्रधानमन्त्री बन्दैछ भन्ने कारणले नै मधेस बालेनमय बनेको उनले बताए । ‘नेपालको इतिहासमा पहिलोपटक एउटा मधेसीको छोरा प्रधानमन्त्री बन्दैछ । देशको कार्यकारी पदमा मधेसीको छोरा हुनु नै परिवर्तन हो । यो ऐतिहासिक उपलब्धि पनि हो,’ महतोले भने, ‘मधेसीको छोरा प्रधानमन्त्री त बन्दैछ । अब मधेसको मुद्दा कतिको सम्बोधन हुन्छ वा हुँदैन त्यो भोलिका दिनमा हेर्न बाँकी नै छ । रास्वपा, बालेनको भूमिका कस्तो हुन्छ ? मधेसको माग सम्बोधन गर्ने कि नगर्ने भन्ने विषय हेर्न केही समय पर्खिनुपर्छ ।’
मधेसवादीले देखाएको सपनाको उत्कट चाहना बालेन प्रधानमन्त्री बन्ने भएपछि मतदाताले पनि मतदान गरे । एउटा मधेसीको छोरा प्रधानमन्त्री हुँदैछ भन्ने देखेपछि सबैले मतदान गरेकाले आफूहरू पराजित पनि हुनुपरेको उनले बताए । मधेसवादी दलले जे जति सके त्यो पूरा गरेको बताउँदै बाँकी माग, मुद्दा अब बालेनले सम्बोधन गर्लान् कि भनेर मधेसी जनताले पनि मतदान गरेको उनले बताए । प्रधानमन्त्रीको शपथ लिएपछि बालेनको अग्निपरीक्षा सुरु हुने टिप्पणी महतोले गरे । तर विगतमा कांग्रेस, एमाले जस्तै रास्वपाले पनि धोका दिन्छ भन्ने चिन्ता र चासो महतोले व्यक्त गरे । ‘मधेसको मत लिएर पनि माग सम्बोधन गर्ने, धोका दिने विगतमा कांग्रेस, एमालेको जुन व्यवहार छ त्यो भोलिका दिनमा रास्वपाले पनि त्यस्तै गर्ला कि माग सम्बोधन गर्छ हेर्न बाँकी छ,’ महतोले भने ।
यसैबीच, शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले प्रतिनिधिसभाको निर्वाचनको समीक्षा गर्दै बालेनलाई प्रधानमन्त्रीको रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि हर्षको विषय भएको निष्कर्ष निकालेको छ ।
मोर्चामा जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीसहितका मधेसवादी दलहरूको संयुक्त मोर्चामा आबद्ध दलका नेताहरू निर्वाचनमा पराजित भएको’boutमा समेत छलफल गरेका छन् ।
बैठकले बालेनको जितलाई मधेसी, थारुलगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना, संघर्ष र बलिदानको परिणामका रूपमा चित्रित गरेको छ । ‘मधेसी सपूत मा. बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आमजनताले व्यापक जनसमर्थन प्रदान गरेकाले निजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेसी, थारु, आदिवासी जनजातिलगायत उत्पीडित समुदायका निम्ति हर्षको विषय हो,’ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
बैठकले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अग्रिम शुभकामना तथा बधाई ज्ञापनसमेत व्यक्त गरेको छ । बधाई ज्ञापनसँगै मोर्चाले बालेनका नेतृत्वबाट मधेसका पुराना र थाती रहेका मुद्दाहरू सम्बोधन हुने ठूलो अपेक्षा पनि राखेको छ ।
नेपाली जनताले विगतमा गरेका संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशितालगायतका उपलब्धिहरूलाई नयाँ सरकारले संस्थागत गर्नेमा मोर्चाले विश्वास व्यक्त गरेको छ ।
संविधान संशोधन, प्रदेशको सिमांकन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीयतालाई अझ बलियो बनाउने जस्ता महत्वपूर्ण मुद्दाहरू बालेनको नेतृत्वमा सम्बोधन हुने विश्वास मोर्चाले व्यक्त गरेको छ ।
२१ फागुनमा भएको निर्वाचनमा मधेस घण्टीमय बन्दा मधेसवादी दलका सबै नेता पराजित भएका छन् ।






