मकवानपुर । झ्वाट्ट हेर्दा सबैले सुविधा देख्छन्, सजिलो देख्छन्, सिनित्त परेको स्ल्याब बाटो र एकै नासका राम्रा घरहरू देख्छन् । हाम्रो आँगनमै चलेको उद्योग पनि देख्छन्, हामी घरघरै स्वरोजगार छौं भन्ने पनि लाग्दो होला ।
सबैको गोठ÷खोरमा गाई बाख्रा र कुखुराहरू पनि छन् । हो हामी आत्मनिर्भर छौं, सरकारले दिने सामाजिक सुरक्षा भत्ताले दैनिकी त थप सहज बनाएको छ । यी विभिन्न सहजताभित्रको जटिलताको पीडाले हामीलाई पोलिरहेको छ, त्यो सबैले देख्दैनन्, हामी सुनाउँदै आएका छौं र पनि सुन्न कोसिस गर्दैनन्, सुन्दैनन् । नेता आउँछन्, आशा देखाउँछन् जान्छन्, पीडामा मल्हम लगाउने कसले ?
प्रश्न सोध्नुभन्दा अगावै सन्तोषी वनकरियाले दुःख बिसाइन् । वनकरिया समुदायको नेतृत्व गर्दै आएकी उनी वडा, पालिकामात्रै हैन संघीय सांसदसम्म वनकरिया समुदायको बस्ती बचाउने पहलको लागि पुगेकी छिन्, त्यसैले खरर बताउँछिन् आफूहरूको पीडा ।
मकवानपुरको मनहरि मुसेधापमा तब चहलपहल हुन्छ जब चुनाव आउँछ, निर्वाचनको संघारमा आश्वासन बोकेर बस्तीमै पुग्ने नेताहरू निर्वाचनपछि कार्यालयमै पुग्दासमेत भेट्न नपाएको गुनासो गर्छन् वनकरियाहरु । यसपालि पनि ठिक त्यस्तै भयो, चुनाव नजिकियो । नेताहरू घरघरै आए । चुनाव सकियो, उनीहरूको पीडा बढ्दो छ ।
मनहरि गाउँपालिका वडा नम्बर ४ स्थित मुसेधापमा लोपोन्मुख समुदाय वनकरियाको बस्ती छ । २८ घरधुरी रहेको यो समुदायको बसोबास भएको नेपालकै एकमात्र बस्तीमा हो ।
पहिले जंगली कन्दमूल खोजेर गुजारा टार्दै आएका उनीहरू अहिले सामाजिक जीवनतर्फ उन्मुख हुँदै खेतीपाती, पशुपालन, कुखुरा, बाख्रापालन, गलैंचा बुन्ने र ज्याला मजदुरी गरेर जीवन चलाइरहेका छन् । घरमा बिजुली बत्ती, मिटर धाराको पानीको सुविधा छ । पढ्नका लागि गाउँनजिकै पशुपतिनाथ माध्यमिक विद्यालय छ । वनकरिया समुदायका बालबालिका नियमित रूपमा विद्यालय जान्छन् । गाउँमै खोप केन्द्र छ । स्वास्थ्य चौकीबाट नियमित रूपमा उपचार सेवा उपलब्ध छ ।
काम गर्छु भन्नेहरूका लागि बस्तीमै साबुन उद्योग सञ्चालित छ भने गलैंचा बुन्ने, खेतीपातीको काम पनि गर्छन् । करिब १० हेक्टर क्षेत्रफलमा रहेको सो बस्तीमा यातायातका साधन घरको आँगनमै पुग्छ । मसिने खोलाको किनारमा रहेको सो बस्तीका लागि खोला किनारमा ड्याम बनाएर सडक पु¥याइएको छ ।
बागमती प्रदेश सरकार, गाउँपालिका र वडा कार्यालयको सहयोगमा वनकरिया एकीकृत बस्ती विकास कार्यक्रम मार्फत दुई कोठाको पक्की घर पनि बनेको छ । सबै सुविधासम्पन्न लाग्ने यो बस्तीको भित्री पीडाले भने स्थानीयहरूलाई पोलिरहेको छ ।
वर्षौंदेखि बस्दै आएको घर जग्गाको लालपुर्जा छैन । अधिकांश वनकरिया समुदायले करिब १२ धुरमा घर बनाएका छन् भने केहीले जंगलको भाग प्रयोग गरेर खेतीपाती गरेका छन् ।
वनकरिया समुदायमा मातृसत्ता कायम छ, जहाँ महिलाहरू प्रमुख हुने व्यवस्था छ । हाल सो समुदायको मुखियाका रूपमा सन्तमाया वनकरिया छिन् । उनीभन्दा अघि धनमाया मुखिया थिइन् ।
सरकारले चुरेको घाँचबाट मुसेधापको कबुलियती वनमा उनीहरूलाई सारेको थियो । सन्तमाया पुनः चुरेको घाँचमा फर्कन नपरोस् भन्छिन् । सन्तमायाको अधिकांश उमेर मुसेधापको जग्गाको स्वामित्व प्राप्तिका लागि संघर्षमै बित्यो । उनी भन्दा अघि धनमाया पनि सन्तानलाई जग्गाधनी बनाउने सपना पूरा गर्ने क्रममा सक्रिय थिइन् । तर, उनको सपना पूरा भएन । ८७ वर्षको उमेरमा उनको निधन भयो । धनमायाको निधनपछि त्यसको जिम्मेवारी सन्तमायाको काँधमा छ । सन्तमायाका ९ सन्तान छन् । ९ मध्ये केही मुसेधापमा जन्मिए भने केही चुरे घाँचमा ।
सकिँदै करारको म्याद
राज्यले २० वर्षका लागि दिएको बसोबास अनुमतिको समयसीमा आउँदो चैतमा सकिँदैछ । दुई दशकमा पनि लालपुर्जा नहुँदा २८ घर वनकरिया विस्थापित हुने त्रासमा छन् । आश्वासन धेरै सुने तर समाधान आएन । राज्यप्रति नै विश्वास घट्दो छ उनीहरूको ।
चुरेघाँच क्षेत्रमा फिरन्ते जीवन बिताउँदै स्याउलाको छाप्रो हालेर, कन्दमूल खाएर जीवन गुजार्दै आएका वनकरिया समुदायलाई २०६२ सालमा जिल्ला वन कार्यालयमार्फत ९ हेक्टर जमिन उपलब्ध गराइएको थियो । २० वर्षका लागि दिइएको त्यो अवधि २८ चैतमा सकिँदैछ । तर, दुई दशक बितिसक्दा पनि उनीहरूले आफूले भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाउन सकेका छैनन् । हरेका पटक चुनाव आउँदा आस र आश्वासन मात्रै आउने तर समस्या समाधान नहुँदा निराश हुनुपरेको छ ।
समय फेरियो, पुस्ता फेरियो, फेरिएन आश्वासन
आफू अशक्त हुँदै जाँदा आङ्खना सन्तानको व्यवस्था भएको देख्ने रहर प्रायः सबै मानिसमा होला । आङ्खनोे विगत सम्झेरै आङ्खनो सन्ततिमा त्यो दिन नआओस् भन्छन् यहाँका ज्येष्ठ नागरिक पनि । अब आङ्खनोे जीवनभन्दा सन्तानको भविष्यको चिन्ता बढी सताउँछ भन्छिन् सन्तमाया वनकरिया । आफू बाँचुन्जेल जग्गा नम्बरी होला भन्ने आसमा बसेकाहरू अब सन्तानले पनि लालपुर्जा नपाउने हो कि भन्ने डरमा छन् । यसका लागि उनीहरू स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म कैयौंपटक धाइसकेका छन् । लालपुर्जाका लागि संघर्ष गर्दागर्दा वनकरिया समुदायकी अगुवा ठुूीमाया वनकरियाको मृत्यु भएको स्मरण ताजै छ । ‘हामी मरेपछि सन्तानको भविष्य कसरी सुरक्षित हुन्छ ?,’ सन्तमायाले भनिन् ।
यस्तै पीडा छ कमला वाइबाको । उनी वनकरिया समुदायकी पूर्वमुखिया ठूलीमाया वनकरियाकी छोरी हुन् । ‘मेरी आमाले पूरै जीवन लालपुर्जाको लडाइँमा बिताउनुभयो तर सफल हुन सक्नुभएन,’ उनले भनिन् ।
जीवन धान्न संघर्ष
झ्वाट्ट हेदा सम्पन्न जस्तो लागेपनि यहाँ आर्थिक सशक्तीकरणको पाटो कमजोर नै छ । वनकरिया समुदायको आर्थिक अवस्था अझै पनि अत्यन्तै कमजोर छ । जंलबाट बस्तीमा सरेको दुईदशक नाघिसक्दा पनि उनीहरू पूर्णरूपमा आत्मनिर्भर हुन सकेका छैनन् । सन्तोषीका अनुसार जीविकोपार्जनका लागि यहाँका पुरुषहरू ज्याला मजदुरी गर्छन्
केही सवारी चालकको काम गर्छन् । महिलाहरू गलैँचा बुन्ने र साबुन बनाउने काममा संलग्न छन् । तर, प्याकेजिङ र बजारको अभावले साबुन उद्योग पनि राम्रोसँग चलेको छैन । ‘खेती छ तर वर्षभरि पुग्दैन । मुस्किलले ४ महिना धान्छ । बाँकी समय किनेरै खानुपर्छ,’ सन्तोषीले भनिन्, ‘व्यवसाय गरौं त्यसको वातावरण छैन । संघसंस्था र वडाको सहयोगमा साबुन उद्योग खोलिएको छ । तर, उपलब्धि सोचेजस्तो छैन । उद्योग दर्ता गर्नै सकिन्न । वडाध्यक्षको सिफारिसमा उद्योग चलाउने अनुमति पाएका छौं । अहिले प्याकेजिङमा समस्या भइरहेको छ ।’
२४ वर्षीय संगीता वनकरिया भर्खरै सुत्केरी भएकी छिन् । उनी दुई सन्तानकी आमा हुन् । उनकी श्रीमान् अनिल वनकरिया बोलेरो गाडी चलाउँछन् । धनुमाया प्रजाले लोकल कुखुरा पालन गरेकी छिन् ।
युवा अनिल वनकरियाका अनुसार वनकरियाको मुख्य समस्या मध्यवर्ती क्षेत्रसँग जोडिएको छ । वनकरिया बस्ती पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने र सो सम्बन्धी कानुनका कारण जग्गाको स्वामित्व नपाएको उनको भनाइ छ ।






