नयाँ स्वरमा ‘उडी जाऊँ भने म पंक्षी होइन…’

काठमाडौँ । ४५ वर्ष अघि प्रताप सुब्बाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘परालको आगो’लाई यति बेला फेरी निर्माण गरिएको छ । यो चलचित्रमा गायिका अरुणा लामाको स्वरमा ‘उडी जाऊँ भने म पंक्षी होइन…’ गीत थियो । चलचित्र ‘परालको आगो’को यो गीत निकै प्रचलित थियो । यो गीतलाई यति बेला निशु शर्माको स्वरमा रेकर्ड गरिएको छ ।

पुरानो मौलिक संगीतमै केन्द्रित रहेर यस पटक पनि यो गीत तयार गरिएको छ । सकेसम्म अरुणा लामाकै जस्तो स्वरमा गीत बनोस् भनेर निशुको स्वरमा यो गीत रेकर्ड गरिएको निर्माण पक्षले जनाएको छ । अहिलेको चलचित्रमा राखिएको यो गीतको भिडियोलाई सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निर्माण टिमले गीतलाई अरुणा लामा समर्पित गरेको छ । यो गीतमा संगीत संयोजन विनोद भुजेलले गरेका छन् ।

यो चलचित्र आगामी ११ वैशाखबाट नेपालसहित विभिन्न देशमा प्रदर्शन गरिँदै छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा ‘उडी जाऊँ भने म पंक्षी होइन…’ गीतको भिडियो सार्वजनिक गरिएको निर्माण सुशील पोखरलले जनाए । मनबहादुर मुखियाले लेखेको यो गीतलाई शान्ति ठटालले संगीत गरेकी हुन् । गीतमा शान्तिकै ओरिजिनल संगीतको आधारमा संगीत तयार गरिएको पनि निर्माण पक्षको कथन छ ।

गीतको भिडियोमा ‘परालको आगो’का मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन् । घरमा एक पत्नीको श्रीमानसँग खटपट हुँदा दिक्क भएर माइत जान मन लागेको बेलाको भावलाई यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । चलचित्रको दृश्यलाई पनि पाँच दशक अघिको परिवेशमा तयार गरिएको छ । त्यति बेलाकै लवज र भेसभुसा प्रयोग गरेर यो चलचित्र तयार गरिएको निर्देशक लक्ष्मण सुनारले जनाएका छन् ।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट यो चलचित्र तयार गरिएको हो । चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् । हरि ओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् ।

यस चलचित्रमा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, कनाल कुँवरको रंग संयोजन छ । चलचित्रको पाश्र्व संगीतकारमा किरण तुलाधर र संगीतकारमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुत छन् । चलचित्रका गीतहरू मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

जनमत मधेस प्रदेशमा गलफत्ती : महेशप्रसादलाई हटाएर चन्दनकुमार सिंह चुनिए संसदीय दलको नेता