काठमाडौं । चालू आर्थिक वर्ष २०८२-८३ को आठ महिनासम्म नेपालमा वैदेशिक लगानी प्रतिबद्धता संख्यात्मक रूपमा विस्तार भएपनि रकमको हिसाबले तीव्र गिरावट आएको छ । उद्योग विभागका अनुसार साउनदेखि फागुनसम्म कुल ५ सय ५४ परियोजनामा ४० अर्ब ६६ करोड ९३ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा २१ हजार ४ सय ९५ जनालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता गरिएको छ । तर, यही अवधिको अन्तिम महिना फागुनमा भने लगानी प्रतिबद्धता अत्यन्त न्यून हुँदै ३८ करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ ।
विभागका अनुसार कुल लगानीमध्ये ठूलो हिस्सा अझै पनि स्वीकृति प्रक्रियाबाट आएको छ । १७७ परियोजनामा ३७ अर्ब २३ करोड रुपैयाँबराबरको लगानी स्वीकृति मार्गबाट आएको छ भने अटोमेटिक रुटमार्फत ३ सय ७७ परियोजनामा जम्मा ३ अर्ब ४३ करोड रुपैयाँ मात्र लगानी प्रतिबद्धता आएको छ । यसले नेपालमा लगानी प्रक्रियामा अझै पनि जटिलता रहेको र ठूला लगानीकर्ताले सीधा प्रवेश गर्न सहज महसुस नगरेको दाबी गरिएको छ ।
क्षेत्रगत रूपमा हेर्दा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा सबैभन्दा धेरै लगानी आएको छ । १४ परियोजनामार्फत २१ अर्ब ९० करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । यो कुल लगानीको आधाभन्दा बढी हिस्सा हो । त्यसपछि पर्यटन क्षेत्र दोस्रो ठूलो गन्तव्य बनेको छ । १ सय ५५ परियोजनामा ११ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । तर, परियोजनाको संख्याका आधारमा भने सूचना प्रविधि क्षेत्रले सबैलाई उछिनेको छ । ३ सय ७ परियोजना स्वीकृत हुँदा लगानी रकम भने १ अर्ब ३० करोड रुपैयाँमा सीमित छ ।
यसले साना स्टार्टअप र सेवा–आधारित डिजिटल व्यवसायको तीव्र विस्तार भइरहेको देखाउँछ । उत्पादनमूलक क्षेत्रमा २ अर्ब ५२ करोड, सेवामूलक क्षेत्रमा ३ अर्ब ६२ करोड, ऊर्जा क्षेत्रमा १८ करोड र खनिज क्षेत्रमा ११ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । तर पूर्वाधार क्षेत्रमा भने शून्य लगानी रहेको छ । तथ्यांकअनुसार वैदेशिक लगानीको ठूलो हिस्सा साना उद्योगतर्फ केन्द्रित छ । कुल परियोजनामध्ये ५ सय ३७ साना, ८ मझौला र ८ ठूला उद्योग मात्रै रहेका छन् । यसले विदेशी लगानीकर्ताहरू नेपालमा ठूलो जोखिम लिनभन्दा साना–मध्यम परियोजनामा सीमित हुन रुचाइरहेको देखाउँछ ।
चालू आवको सुरुवात निकै उत्साहजनक देखिएको थियो । साउन महिनामा मात्रै २४ अर्ब १० करोड रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको थियो । तर त्यसपछि प्रत्येक महिना लगानी क्रमशः घट्दै गएको छ । भदौमा ८ अर्ब ९८ करोड, असोजमा २ अर्ब ४ करोड, कात्तिकमा १ अर्ब ५४ करोड, मंसिरमा १ अर्ब ९१ करोड, पुसमा ५९ करोड ९५ लाख र माघमा १ अर्ब ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । अन्ततः फागुनमा आइपुग्दा यो रकम ३८ करोड ६० लाखमा झरेको छ ।
लगानी घट्नुको प्रमुख कारणका रूपमा पछिल्लो समय भएको जेनजी आन्दोलनलाई लिइएको छ । आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग–व्यवसायमा भएको तोडफोड, आगजनी र आक्रमणले लगानीकर्ताको मनोबलमा गम्भीर असर पारेको थियो । अन्तर्राष्ट्रिय स्तरका होटल, सुपरमार्केट चेन, उत्पादन उद्योग र सेवा क्षेत्रमा भएको क्षतिले नेपालमा लगानी सुरक्षामाथि प्रश्न उठाएको थियो । यसले विदेशी लगानीकर्तालाई ‘पर्ख र हेर’को अवस्थामा राखेको विश्लेषण गरिएको छ ।
नेपालमा लगानी भित्रिने मात्र होइन, बाहिरिने रकम पनि तीव्र रूपमा बढिरहेको छ । आठ महिनामा विदेशी लगानीकर्ताले १६ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी लाभांश बाहिर लगेका छन् । यो गत वर्षको कुल लाभांशभन्दा धेरै हो । फागुन महिनामा मात्रै २६ करोड ५६ लाख रुपैयाँ लाभांश र ३५ करोड २० लाख रुपैयाँ रोयल्टी बाहिरिएको छ । नेपालमा लगानीबाट प्रतिफल लैजाने दर उच्च रहेको छ ।
यसबीचमा ३४ वटा प्रविधि हस्तान्तरण सम्झौता भएको छ, जसले औद्योगिक आधुनिकीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, सेयर खरिद–बिक्रीमार्फत थप ५ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ ।






