सुकुम्वासीको नियतिः डोजरले टहरा छिन्यो, सरकारले सेल्टर

काठमाडौं । सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीको प्रतिबद्धताविपरीत बिना विकल्प सुकुम्वासीहरुलाई होल्डिङ सेन्टरसमेतबाट लखेट्न सुरु गरिएको छ ।

१३ वैशाख २०८३ बाट काठमाडौं उपत्यकाका सुकुम्वासी बस्तीमा डोजर चलाएर हटाउन थालेको सरकारले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दासम्म उपत्यकाका सबै सुकुम्वासी बस्तीमा डोजर लगाएर बस्ती हटाइसकेको छ ।

२५ हजार रुपैयाँ खल्तीमा हाल्दिएर होल्डिङ सेन्टरबाट पनि लखेट्दै सरकार

हटाइएका सुकुम्वासीको स्थायी व्यवस्थापन गर्ने भन्दै तत्काललाई विभिन्न होल्डिङ सेन्टरमा राखेको सरकारले बिना विकल्प त्यहाँबाटसमेत धमाधम हटाउन थालेको छ । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई शुक्रबार (आज) भवन खाली गर्न सूचना जारी गरिएको छ । सरकारले बस्ती हटाएलगत्तै गरेको प्रतिबद्धताअनुसार प्रतिपरिवार २५ हजार रुपैयाँ नगद दिएर त्यहाँबाट लखेट्न लागेको हो ।

बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा रहेकालाई बैंक खाताको विवरण माग्दै २५ हजार रुपैयाँ खातामा हाल्दिने भनेको छ । तर अधिकांशले यस्तो विवरण दिन इन्कार गरेका छन् ।

सरकारले दिएको २५ हजार रुपैयाँबाट कोठा व्यवस्थापन गर्न नसकिने, सुकुम्वासी भएका कारण तत्काल डेरा पाइने सम्भावना नभएको, नपाइएकोलगायतका कारण देखाउँदै होल्डिङ सेन्टरमा आश्रय लिएकाहरूले विवरण दिन अस्वीकार गरेका हुन् ।

उनीहरूले सरकारले जबर्जस्ती गरे डोजर लगाएर भत्काइएकै स्थानमा पाल टाँगेर बस्न बाध्य हुने चेतावनी दिइरहेका छन् । तर सरकारले भने आफ्नो सयदिने बाचापत्रविपरीत सुकुम्वासीहरूको पहिचानसमेत अहिलेसम्म गरेको छैन ।

६० दिनमा गर्छु भनेकोमा ९० दिनसम्म पनि छैन अत्तोपत्तो
१३ चैत २०८२ मा बसेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले देशभरका सुकुम्वासीहरुको लगत लिएर ६० दिनभित्र प्रमाणीकरण गरिसक्ने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धताअनुसार होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरुको प्रमाणीकरण १३ जेठमै भइसक्नुपर्ने हो । तर सरकारले अहिलेसम्म उपत्यकाभित्रका वास्तविक सुकुम्वासीको पहिचानसमेत गर्न सकेको छैन ।

‘देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकरण ६० दिनभित्र सम्पन्न गर्ने,’ सरकारको सयदिने शासकीय सुधारसम्बन्धी मार्गचित्रको बुँदा ९१ मा उल्लेख छ ।

सो बुँदामा प्रमाणीकरण भएका सुकुम्वासी, अव्यवस्थित बसोवासी र भूमिहीनलाई स्थानीय तहको समन्वयमा एक हजारदिनभित्र जग्गा उपलब्ध गराउनेसम्मको प्रतिबद्धता छ । सरकारी प्रतिबद्धताविपरीत सुकुम्वासीहरुलाई बर्खाको समयमा होल्डिङ सेन्टरबाट हटाएर बिचल्ली बनाउन लागेको उपत्यका नदी किनारबाट लखेटिएका सुकुम्वासीहरुको गुनासो छ ।

सुकुम्वासीहरूले भूमि समस्या समाधान आयोग गठन भइसकेकाले स्थानीय सरकारमार्फत उठिबास गराइएका परिवारको तत्काल लगत संकलन, प्रमाणीकरण र पहिचान गर्न माग गरेका छन् । जबर्जस्ती उठिबास गराइएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूले स्थायी व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टरमै पर्याप्त सेवा–सुविधा उपलब्ध गराउन, सुरक्षित बसोबासको विकल्प दिन, सरकारी नीति तथा कार्यक्रमअनुसार सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको उचित र स्थायी व्यवस्थापन गर्नसमेत माग गर्दै आन्दोलनसमेत थालेका छन् ।

३६ वर्षदेखिको रस्साकस्सी
२०४७ सालको जनआन्दोलनपछि काठमाडौंका खोला किनार र खाली जग्गामा टहरा बनाएर सुरु भएको अव्यवस्थित बसोबास र सुकुम्वासीको समस्या ३६ वर्ष बितिसक्दा पनि समाधान हुन सकेको छैन । कहिले भूमि आयोग, कहिले स्थानीय सरकार र कहिले संघीय मन्त्रालयको क्षेत्राधिकारमा व्यवस्थापनको जिम्मा छाडिए पनि पछिल्ला दिन संघीय सरकारको बलमिच्याइमा सुकुम्वासी बस्तीमा बिना विकल्प डोजर चलाइएको छ ।

सर्वोच्च अदालतले बिना विकल्प थातथलोमा डोजर नचलाउन भने पनि सरकारले डोजर चलाएर हटाइएकाहरूलाई आवश्यक विकल्पसहितको व्यवस्थापन गर्न सकेको छैन ।

२०४७ सालपछि उपत्यकाको बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, धोबीखोलालगायत नदी किनारमा बसोबास तीव्ररूपमा बढ्न थालेको पाइन्छ । यी बस्तीको व्यवस्थापन गर्न भन्दै विभिन्न सरकारले सुकुम्वासी आयोग गठन गरेपनि स्थायी पुनस्र्थापना अहिलेसम्म सम्भव नभएको वास्तविक सुकुम्वासीहरूको गुनासो छ ।

नदी किनारमा घर टहरा बनाएर बस्नेहरूमध्ये अतिक्रमणकारी, अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्वासीमध्ये के हुन भनेर पहिचान नगरिँदा ३६ वर्षदेखि व्यवस्थापन सकस बन्दै गइरहेको सुकुम्वासीहरु बताउँछन् ।

प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि १२ मंसिर २०७९ मा काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारका संरचना हटाउन डोजर परिचालन गरेको थियो । त्यसबेला महानगर प्रहरी र बस्तीका नागरिकबीच झडप भएपछि महानगरले अभियान नै रोक्यो । १६ मंसिर २०७९ मा राष्ट्रिय भूमि आयोगले सूचना जारी गर्दै भूमिहीनको पहिचान र व्यवस्थापन प्रक्रिया नसकिएकाले बस्ती नहटाउन आग्रह गरेको भन्दै महानगर यो अभियानबाट पछि हटेको थियो ।

२०७९ पुसमा यो विवादमा सर्वोच्च अदालतले २०८१ सालमा नदी किनार, सार्वजनिक जग्गा र करिडोर अतिक्रमण हटाउनुपर्ने निष्कर्ष निकाले पनि वैकल्पिक व्यवस्थाबिना हटाउन नपाइने, संविधानको आवास अधिकारको संरक्षण हुनुपर्नेसहितको फैसला ग¥यो ।

यो फैसलापछि २०८२ सालमा बागमती, विष्णुमती, मनोहरा र हनुमन्ते किनारका बस्तीहरूको तथ्यांक अद्यावधिक गरिएको भनिए पनि यसको विश्वसनीयतामा सुकुम्वासीहरुले नै प्रश्न उठाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश