रास्वपाको सयदिने बाचा सम्झाउँदै आन्दोलनमा सहकारीपीडित

काठमाडौं । सहकारीपीडितको समस्या समाधान गर्न सरकार बनेको सय दिनभित्र समाधान गर्ने बाचा गर्दै निर्वाचनमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुईतिहाइनजिक जनमत पाएलगत्तै सहकारीपीडित आन्दोलनमा उत्रिएका छन् । निर्वाचन आयोगले अन्तिम मतपरिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको भोलिपल्टै सहकारीपीडित संगठित ढंगले बाचा सम्झाउँदै आन्दोलनमा होमिएका हुन् ।

सहकारीमा डुबेको आफ्नो बचत रकम फिर्ता माग गर्दै पीडितले काठमाडौं माइतीघरमण्डलमा शुक्रबार प्रदर्शन गरेका छन् । उनीहरूले सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन सुरु गरेको जनाएका छन् । ‘सरकारले पटकपटक झुक्याएको’ भन्दै आन्दोलनरत सहकारीपीडित बचतकर्ताले रास्वपालाई निरन्तर बाचा सम्झाउँदै सय दिन पर्खने बताएका हुन् ।

‘हामी सडकमै रहन्छौं तर नयाँ सरकारलाई दिन गन्ती सम्झाएर सय दिन पर्खन्छौं,’ आन्दोलनमा सहभागी एक पीडितले भने । विगतका सरकारले बचतकर्तासँग पटकपटक सहमति गरे पनि कागजमै सीमित भएकाले आन्दोलनमा ओर्लेको पीडित बचतकर्ता बताउँछन् ।

आफूहरूले रास्वपाको बाचापत्र हेरेरै मत दिएका कारण ‘खबरदारी’ गर्न सुरुदेखि नै सडकमा आएको उनीहरू बताउँछन् । सरकार बनाउन लागेको रास्वपाले सचेत भएर आफ्ना माग पूरा गर्नुपर्ने उनीहरूको जोड छ । चुनावी अभियानक्रममा रास्वपाद्वारा सार्वजनिक बाचापत्रमा सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता लिने उल्लेख छ ।

चुनावी बाचापत्रलाई इंगित गर्दै आन्दोलनरत बचतकर्ताले प्लेकार्डमा ‘बाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौं’ भन्ने उल्लेख गरेका छन् । ‘आफ्ना छोप्ने, पराइमात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्’, ‘अपराधअनुसार सञ्चालकको प्रवृत्तिअनुसार दण्ड गर्ने विधान बनोस्’, ‘ठग सञ्चालकहरूको नागरिकता, पासपोर्ट, बैंक खाता, चल अचल सम्पती रोक्का गरियोस्’लगायत नारासहितका प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा