खोटाङ । जिल्ला समन्वय समिति खोटाङले आफ्नो दशौँ जिल्ला सभाको अवसरमा जिल्लाको विकास, सेवा प्रवाह र सामाजिक रुपान्तरणमा योगदान पु¥याउने विभिन्न १९ जना व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा बुधबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य आरेन राईले सम्मानित व्यक्ति तथा संस्थालाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे । सामाजिक सेवा, पत्रकारिता, खेलकुद, कृषि, स्वास्थ्य, उद्योग तथा विकासनिर्माणलगायत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्व तथा संस्थाहरू सम्मानित भएका हुन् ।
स्थानीय तह मध्ये जैविक विविधता संरक्षण तथा पर्यटन प्रवद्र्धनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, महिला सशक्तीकरण तथा वालबालिका संरक्षणमा हलेसी तुवाचुङ नगरपालिका, कृषि उत्पादन र आवासीय विद्यालय सञ्चालनमा जन्तेढुङ्गा गाउँपालिका, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनमा साकेला गाउँपालिका, वित्तीय सुशासनमा रावावेशी गाउँपालिका र प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनमा केपिलासगढी गाउँपालिकालाई सम्मान गरिएको छ । व्यक्तिगत सम्मानअन्तर्गत सञ्चार क्षेत्रमा पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिलिप खत्री, खेलकुद तथा सामाजिक क्षेत्रमा ध्रुवविक्रम राई र सञ्जय कुमार राई सम्मानित भए ।
स्थानीय कच्चा पदार्थमा आधारित नेपाली कागज उद्योग सञ्चालन गरेकोमा जयनारायण राई, स्वास्थ्य सेवामा योगदानका लागि राजकिशोर साह र सामाजिक तथा विकास कार्यमा शुभद्रा–मदन फाउण्डेसनका निर्देशक सुर्य राईलाई सम्मान गरिएको छ । यसैगरी कोशी प्रदेशकै सबैभन्दा लामो १४८.४० मिटरको बुँवाखोला सडक पुल एक वर्षभित्र सम्पन्न गरेकोमा निर्माण व्यवसायी महेश रेग्मी, निर्माण व्यवसायमा जोसेफ रिजाल, खेल क्षेत्रमा रोशेस श्रेष्ठ, अगुवा कृषकका रूपमा सरला राई र जीवनाथ आचार्य तथा सामाजिक सेवा र पूर्वाधार निर्माणमा गोर्खा वेलफेयर ट्रष्ट अन्तर्गतको एरिया वेलफेयर अफिसलाई पनि सम्मान गरिएको छ ।
त्यसैगरी सबैभन्दा बढी राजस्व दाखिला गरेकोमा दिक्तेल अंग्रेजी आवासीय विद्यालय सम्मानित भएको छ । सम्मान कार्यक्रमपछि जारी जिल्ला सभामा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरूले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।
विकास निर्माण, सेवा प्रवाह तथा आगामी योजना’bout समीक्षा र छलफल भएको सभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।






