मरिसकेको मान्छे ‘खडा’ गराई जग्गा नामसारी गराउने ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । मृत्यु भइसकेको व्यक्तिको नाममा नक्कली जग्गाधनी खडा गराई जग्गा नामसारी गराउन नियामक सरकारी कार्यालयदेखि जनप्रतिनिधिको मिलेमतो भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

फर्जी कागजात खडा गरी जग्गा हत्याउने प्रयासमा संलग्न ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

रुपन्देहीको सियारी गाउँपालिकामा मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृत, नायब सुब्बा, खरिदारसँग वडाध्यक्ष र वडा सदस्य मिलेर नक्कली जग्गाधनी खडा गरी नामसारी गरेको अभियोगमा मुद्दा दायर भएको हो ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ का मृतक बेलर कहारको नाममा रहेको जग्गा फर्जी कागजातका आधारमा अन्य व्यक्तिको नाममा नामसारी गरेको उजुरीमाथि अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले बताए ।

आयोगका अनुसार मालपोत कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा र खरिदार अजितकुमार सहनीको मिलेमतोमा सो अवैध कार्य भएको पाइएको छ ।

त्यसैगरी सियारी गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रामकिशन थारु, वडा सदस्य बृजनारायण यादव र मृतकका भाइ भनिएका बुद्धिराम कहारले आपसी योजनामा मृतक बेलर कहारको वास्तविक हकवाला छोरी सन्जु कहारको हक मेट्ने बदनियत राखेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा बुद्धिराम कहारलाई मृतकको भाइ प्रमाणित गर्ने नाता प्रमाणित, सर्जमिन मुचुल्का र चार किल्ला प्रमाणितलगायतका कागजातहरू नक्कली भएको पाइएको छ ।

जिल्ला अदालत रुपन्देहीले समेत ती कागजातहरू फर्जी ठहर गरी बदर हुने फैसला गरिसकेको अवस्थामा साबिक मैनहिया गाविसका विभिन्न कित्ताका कुल २ बिघा ५ कठ्ठा जग्गा बुद्धिराम कहारको नाममा दाखिला गर्ने निर्णय गरिएको थियो ।

सरकारी अभिलेखमा समेत झुट्टा विवरण प्रविष्ट गरी गलत स्रेस्ता र पुर्जा जारी गरेको तथ्य पुष्टि भएपछि आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र मालपोत अधिकृत भूमिश्वर ढकाललाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ ।

त्यस्तै, नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार सहनी र वडाध्यक्ष रामकिशन थारुलाई गलत लिखत तयार गरेको अभियोगमा थप सजायको माग गरिएको छ भने वडा सदस्य वृजनारायण यादवउपर पनि कैद र जरिवानाको दाबी गरिएको छ ।

नक्कली हकवाला बनेका बुद्धिराम कहारलाई मुख्य कसुरदार सरह नै सजाय हुनुपर्ने मागसहित आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

मरिसकेको मान्छे ‘खडा’ गराई जग्गा नामसारी गराउने ७ जनाविरुद्ध मुद्दा