इटहरी । इटहरी २० तरहराका २८ वर्षीय राजन राईको गराति हत्या भएको छ । सामान्य विषयमा झडप हुँदा उनको हत्या भएको हो ।
अत्याधिक मादक पदार्थ सेवन गरेका राई र स्थानीय केही युवाबीच झडप हुँदा छुरा प्रहार गरी उनको हत्या भएको प्रहरीको निश्कर्ष छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार राजन राईकै घरमा तीनजना बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गरेपछि तीनजनाको समूह बजारमा निस्किएको र तरहराकै खिले भनिने खिलानाथ घिमिरेलाई फोन गरेका थिए । फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको थियो ।
घटना भएको ठाउँमा जडान गरिएको सिसिटिभी फुटेजमा बाँसले हानेको दृश्य देखिन्छ । ६ जनाको समूहबीच झगडा भएको र जसमा छुट्याउने तीनजना देखिन्छन् । घटनामा संलग्न राजन राई, अनिल दाहाल र लक्ष्मण गुरुङ सँगै बसेर मापसे गरेका थिए । मापसे गरेपछि राजनले घिमिरेलाई फोन गरेपछि उनीहरुबीच भेट भएको थियो । भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ पनि साथमा रहेका थिए । राजनले उनीहरुसँग भेट हुनुभन्दा अगाडि नै म खिलेलाई कुटेजस्तो गर्छु, के गर्दोरहेछ जिस्काउँ न भनेर भनेको खुलेको छ । जिस्किँदा जिस्कदै उनीहरुबीच सामान्य विषयलाई ठूलो बनाइएको र त्यसपछि छुरा प्रहार गरी हत्या गरिएको प्रहरीको भनाइ छ । छुरा प्रहार हुनुभन्दा अगाडि अनिल, लक्ष्मण र खिलानाथले झडप हुन नदिन छुट्याउने प्रयास गरेपनि राजन माथि इटा प्रहार भएको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्दाजी २० वर्षीय प्रज्वल तामाङले पछाडिबाट इटाले प्रहार गरेका थिए । पछि राजन भुईँमा लडेपछि छुरीले तीन–चारपटकसम्म प्रहार भएको प्रहरीको निश्कर्ष छ । प्रज्वलसँगै अभिषेक पौडेल, अभिषेक केसी र कृष्ण घिमिरे पनि घटनामा संलग्न थिए । उनीहरु अहिले फरार रहेको र खोजी कार्य भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि गम्भीर घाइते भएका राजनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु प्रतिष्ठानले पुष्टि गरेको छ ।
फागुनमा युकेबाट आएका थिए राजन
गत फागुनमा मात्रै युकेबाट आएका राजनको लकडाउन अवधि सुरु भएको केही सातामै युके जाने भिसा थियो । तर, लकडाउनका कारण उनी युके फर्कन नपाएपछि यहीँ बस्दै आएका थिए । तरहराका भीम राईका छोरा राजनसहित परिवार नै युकेमा बस्दै अएका थिए । फागुन अन्तिममा युकेबाट एक महिनाको विदामा आएका राजनको हत्यापछि अहिले परिवारजन विक्षिप्त बनेका छन् ।
पहिल्यैदेखि ग्याङ बसेर खाने गरेको खुल्यो
घटनाका मुख्य नाइके भनिएका प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसी पहिल्यैदेखि लागूऔषध प्रयोगमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तरहराको एकता मार्गमा बस्दै आएका उनीहरुले नजिकैको खोलाछेउमा बाँसको फलैँचा बनाएर अगाडिदेखि नै बस्ने र लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । आइतबार रातिको घटनामा राजनको समूह र प्रज्वलको समूहले सँगै मापसे नगरे पनि सामान्य बिषयमै उनको विभत्स हत्या भयो ।






