विन्ध्यवासिनीद्वारा शम्भुजीतलाई १ लाखसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । अग्रज संगीतकार शम्भुजीत बासकोटालाई एक लाख रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । काठमाडौँमा शुक्रवार बेलुका सम्पन्न १६औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड समारोहमा बासकोटालाई यो सम्मान प्रदान गरिएको हो । अवार्ड समारोहमा गीतकार विजय सिवाकोटीलाई ५० हजार रुपैयाँसहित संगीत साधना सम्मान प्रदान गरियो ।

यस्तै तीन श्रष्टालाई जनही २५ हजार रुपैयाँसहितको सम्मान प्रदान गरियो । जस अन्तर्गत गायिका रचना रिमाललाई प्रेम ध्वज संगीत रत्न सम्मान प्रदान गरियो भने लोकगायक पशुपति शर्मालाई झलकमान लोक संगीत सम्मान तथा पत्रकार पवन आचार्यलाई कला पत्रकारिता सम्मान प्रदान गरियो ।

विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा नेपाली संगीत क्षेत्रका सर्जक, कलाकार तथा प्राविधिकहरूको योगदानलाई उच्च कदर स्वरूप १२ विधामा अवार्ड प्रदान गरियो । अवार्डतर्फ ‘परेली’ गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भए भने ‘के हेरेको टुलुटुलु’ बाट समीक्षा अधिकारी उत्कृष्ट गायिका बनिन् ।

‘मिर्मिरेमा बासेको भाले’ का लागि शिव हमाल उत्कृष्ट संगीतकार र ‘परदेशी हुनै मन छैन’ बाट भुपेन्द्र बुढाथोकीलाई उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरियो । यसै गरी लोकदोहोरी विधामा ‘झलिको’ बाट अर्जुन सापकोटाले उत्कृष्ट गायकको अवार्ड थापे भने ‘भ्याप्पै आए बाहुन दाई’ बाट ज्योति मगर उत्कृष्ट गायिका घोषित भइन् ।

म्युजिक भिडियोतर्फ ‘कता हिँड्यो साइँलो’ बाट प्रभात पल ठकुरी र गीता ढुंगाना उत्कृष्ट मोडल जोडीको अवार्ड पाउँदा ‘मायालाई पानको पात’ का लागि विक्रम चौहान उत्कृष्ट निर्देशक बन्न सफल भए । यस्तै ‘ए आमा जाम भन्यो मलाई’ बाट बुद्ध थापा उत्कृष्ट छायाकार, ‘वँैशले जुरुक्क पा¥यो’ बाट दीपक विष्ट उत्कृष्ट भिडियो सम्पादक तथा ‘पैसा जोगाउन’ बाट रीतु बोहरा नवप्रतिभा अवार्ड विजेता बन्न सफल भए । अवार्ड विजेता सबै विजेतालाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरिएको थियो।

सो अवार्ड समारोहमा गुरुआमाको समूह नृत्य, समीक्षा अधिकारी, रचना रिमाल र पशुपति शर्माको सांगीतिक प्रस्तुति विशेष आकर्षण बन्यो । अग्रज संगीतकार शम्भुजीत बासकोटाको सम्मानमा गायक सुमनकुमार श्रेष्ठले उनका चर्चित गीत प्रस्तुत गरेका थिए । समारोहलाई सम्बोधन गर्दै आयोजक संस्थाकी अध्यक्ष लीना शर्मा रेग्मीले नेपाली संगीत क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता