चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जंगली हात्ती धुर्बे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पु¥याएपछि धुर्बेलाई नियन्त्रणमा लिएर गत ३१ असारमा चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्ट नजिक दुईवटै दाह्रा काटिएको थियो ।
सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि धुर्बे निकुञ्जभित्र नै बस्दै आएको छ । सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन् । यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आडमा पर्दछ । त्यसबाहेक बस्ती पसेर दुःख नदिएको जनाइएको छ । धुर्बेको १०/१० मिनेटमा अनुगमन गरिएको छ ।
निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको ‘अप्रेसन युनिट’ले सो हात्तीको १०/१० मिनेटको सूचना लिइरहेको छ । बस्ती नजिकको निकुञ्जको भागमा पुगेको समयमा निकटका बस्तीका बासिन्दालाई सो सूचना प्रवाह गर्ने गरिएको छ । संरक्षण अधिकृत पौडेलले भने, ‘कुनै पनि समयमा धुर्बे बस्ती पस्न सक्ने भएकाले तयारी अवस्थामा रहेका छौँ । हात्तीलाई डार्ट गर्ने क्रममा चढाइएको औषधिले केही समय शिथिल बनाउने भएकाले पहिलाको जस्तो अवस्थामा अहिले धुर्बे छैन । यसको भरोसा नहुने भएकाले निकुञ्ज प्रशासन चनाखो भएको छ ।’
२५ जना मानिसको ज्यान लिएको धुर्बे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा पनि कमी आएको हो । चौथो पटक धुर्बेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको हो । हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको उनले बताए । हात्तीले गत २० असारको राति एकैपरिवारका दुई जनाको ज्यान लिएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ । यो हात्तीलाई बथानबाट लखेटिएका कारण बस्ती आएको अनुमान गरिएको उनले बताए । पहिले बथानमा रहँदा हिँड्ने माडीको धोवा, तमोरताल, खोरियामुहान र देउराली क्षेत्रमा अहिले पनि हात्ती जाने गरेको छ ।
हात्तीले २०७४ सालमा सेनानी लाई आक्रमण गरेर मारेको थियो । निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित धुर्बेले विसं २०६८/६९ ताका दैनिकजसो मान्छेको ज्यान लिन थालेपछि १ पुस २०६९ मा चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । धुर्बे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो ।
निकुञ्जमा रोनाल्डो, गोविन्दे, धुर्वे लगायतका मत्ता छन् । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० हात्ती छन् । यिनै हात्तीमध्येबाट निकुञ्जभित्रका हात्तीलाई प्रजनन गराइन्छ ।
सम्बन्धित समाचार
सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै
चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग
चितवनका थपलिया बागमतीमा मुख्यमन्त्री पक्का






