वीरगन्ज । राज्यले प्रतिपादन गरेका नीति सीमामा खटेको सशस्त्र प्रहरीले जस्तो सुकै अवस्थामा कार्यान्वयन गराउने सशस्त्र प्रहरीले जनाएको छ । आयातमुखी अर्थतन्त्र बोकेको मुलुकको सीमा क्षेत्रमा खटेको सशस्त्र प्रहरीले राज्यले प्रतिपादन गरेको नीतिलाई अक्षरस पालना गर्ने जनाएको हो ।
छिमेकी मुलुक भारतबाट अहिले सर्वसाधारणले १०० (सय) रुपैयाभन्दा बढिको सामान खरिद गरी ल्याउँदा भन्सार तिर्नु पर्ने नीतिलाई सशस्त्र प्रहरीले सीमामा कडाइ गरेको छ । यो कार्य अलि अव्यावहारिक भएको प्रतिक्रिया आइरहेको समयमा सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायव महानिरीषक कृष्ण ढकालले नै कडा अभिव्यक्ति दिएका हुन् ।
छिमेकी मुलुक भारतसँग मधेश प्रदेशका ८ जिल्लाको खुल्ला सीमा छ । यी ८ जिल्लाकै कमाण्ड सम्हालिरहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) ढकालले ‘सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. वीरगन्ज, पर्सा’ को १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै सोमबार आर्थिक नगरी वीरगन्जमा नै उक्त कुरा बताए । ‘चेन अफ कमाण्ड’मा चल्ने संगठनका मधेश प्रदेश प्रमुख डिआजी ढकालको कडा अभिव्यक्तिले सीमामा प्रहरीले खुकुलो गर्छ कि भन्ने सर्वसाधारणको अपेक्षालाई फिक्का बनाइदिएको हो ।

सशस्त्र प्रहरीले काँधमा लगाएको फुली जिम्मेवारी र छातीमा लगाएको तक्मा इमान्दारीताको प्रतीक भएकोले सशस्त्र प्रहरी योभन्दा बाहिर गएर काम गर्न नसक्ने उनले प्रष्ट पारे । राज्यको तलब खाएपछि र राज्यले खटाएपछि उसले प्रतिपादन गरेका नीतिभन्दा बाहिर गएर कसैले काम गर्छ भने त्यसले जागिर नखाए हुन्छ भनी सकलदर्जाका सबैलाई उनले कडा निर्देशन पनि दिए । राज्यको नीति पालना गराउन सशस्त्र प्रहरी प्रतिबद्ध रहेको सशस्त्र प्रहरी बल मधेश प्रदेश बर्दिवास बाहिनीका बाहिनीपति समेत रहेका सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख डिआइजी ढकालले दावी गरे ।
नीति सशस्त्रले बनाउँदैनः डिआइजी ढकाल
राज्यले प्रतिपादन गरेको नीतिलाई सीमामा सशस्त्र प्रहरीले कार्यान्वयन गराउने मात्र हो । सशस्त्रले नीति नै ल्यायो भनी नबुझिदिनु हुन आम सर्वसाधारण तथा उद्योगी व्यवसायीहरुलाई उनले आग्रह गरेका छन् । अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले नै एकसय भन्दा बढिको सामान ल्याउँदा भन्सार राजश्व बुझाउनु पर्ने नीति ल्याएको भनी सर्वसाधारणको बुझाई गलत भएको पनि सशस्त्र प्रहरीको दावी छ । सर्वसाधारणको त्यो बुझाई अव्यावहारिक भएको डिआइजी ढकालले पनि प्रष्ट पारे । उनले भने ‘सशस्त्र प्रहरीले कुनै पनि नीति बनाउने होइन, राज्यले प्रतिपादन गरेका नीति कार्यान्वयन गराउने मात्र हो’ ।
पर्सामा सशस्त्रको उदय १८ वर्ष पूरा
पर्सामा स्थापना भएको सशस्त्र प्रहरीले १९ औं स्थापना दिवस मनाएको छ । सीमा सुरक्षा बल हुँदै वर्तमानमा ‘सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. वीरगन्ज, पर्सा’ को नामले यो संगठन चिनिने गरेको छ । २०६३ साल माघ ८ गते एउटा सानो युनिटका रुपमा पर्सामा स्थापना भएको सशस्त्र प्रहरी बल अहिले एउटा गणका अतिरिक्त ५ वटा सीमा सुरक्षा गुल्म तथा दुई वटा सुरक्षा बेस सहित व्यवस्थित रुपमा आफ्नै भवनमा रहेर कार्य सम्पादन गरिरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल गण नं. १३ सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा रहेको संगठनको नायब उपरीक्षकको कमाण्डमा ५ वटा सीमा सुरक्षा गुल्म, दुई वटा सुरक्षा बेस छन् । त्यसैगरी सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ वटा बोर्डर आउट पोष्ट (बीओपी) र एउटा सुरक्षा बेस तथा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा नै तीनवटा थप बीओपी र तीनवटा सुरक्षा बेस रहेका छन् ।
सबै युनिटमा गरी पर्सामा ७ सय ३१ जना सशस्त्र प्रहरीहरु कार्यरत रहेको गण नम्बर १३ हे.क्वा.ले स्थापना दिवसको अवसरमा जनाएको हो । कुल जनशक्तिमध्ये सीमा क्षेत्रमा मात्र ४ सय ६३ र बाँकी विभन्न युनिट तथा सुरक्षाका अन्य पक्षमा खटेको जनाइएको छ । पर्सामा भएको स्थापना दिवसको संयोजन गण नं.१३ का प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री सहितले गरेका थिए ।
१८ औं वार्षिकोत्सव तथा १९ औं स्थापना दिवसका अवसरमा माओवादी सशस्त्रद्वन्दमा वीरगति प्राप्त सशस्त्रका प्रहरीका परिवारलाई सम्मान गरिएको छ । साथै सशस्त्रले गएको निर्वाचनमा खेलेको भूमिकामा अब्बल कार्यसम्पादन गर्ने, खेलकुदमा विजयी हुने, हाजिरीवजाफ प्रतियोगिता तथा सास्कृतिक कार्यमा पनि अब्बल सकलदर्जा र अधिकृतहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा वीरगन्ज क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहेको थियो ।
सम्बन्धित समाचार
निमार्ण समाग्रीको मुल्य समायोजन गर्न निमार्ण ब्यवसायी संघ रौतहटको माग
राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरको पदबहाली
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा भइराखेको छ कारोबार ?
उन्नाइस केजी गाँजासहित युवक पक्राउ
सबै मन्त्रीको सम्पत्ति सार्वजनिक, कस्को कति ?
सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो
वीरगन्ज बजार क्षेत्रको सडक विस्तार बिहान साढे चार बजेवाट
‘महिला फुटबल खेलाडीले चन्द्रनिगाहपुरको पहिचान बनाए’






