गन्यापधुरा गाउँपालिकाको आफ्नै प्रशासकीय भवनवाट सेवा

आइतबार उद्घाटन गरिएको गन्यापधुरा गाउँपालिकाको प्रशासकीय भवन । तस्बिरः सम्झना पाण्डेय

डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले आफ्नै आधुनिक प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गर्ने भएको छ । डडेल्धुराका पाँच गाउँपालिकामध्ये आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरी सेवा सञ्चालनको तयारी गरेको गन्यापधुराले आइतबार नवनिर्मित भवनको उद्घाटन गरेको हो ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले वडा नम्बर २ गणेशपुरमा निर्माण गरिएको भवनको रिबन काटेर उद्घाटन गरेका हुन् । उनले शिलालेखको अनावरणसमेत गरेका थिए । हिन्दु धार्मिक परम्पराअनुसार पूजाआजा गरी भवनको विधिवत् उद्घाटन गरिएको वडा नम्बर २ का अध्यक्ष मनोज देउवाले बताए ।

तीन वटा सभाहलसहित ३६ कोठा रहेको भवन निर्माण सम्पन्न भएपछि लामो समयदेखि भाडाको घरबाट सेवा दिँदै आएको गाउँपालिकाले आफ्नै स्थायी प्रशासनिक केन्द्र प्राप्त गरेको छ । यसअघि गाउँपालिकाले भाडाको घर तथा कृषि र पशु सेवाका लागि निर्माण गरिएको एकीकृत भवनबाट प्रशासनिक कामकाज सञ्चालन गर्दै आएको थियो ।

आफ्नै भवनबाट सेवा सञ्चालन भएपछि प्रशासनिक कामकाज व्यवस्थित हुनुका साथै सेवाग्राहीलाई सेवा लिन र कर्मचारीलाई सेवा प्रवाह गर्न सहज हुने गाउँपालिका अध्यक्ष कार्कीले बताए । उनका अनुसार पर्याप्त कार्यकक्ष, बैठक तथा छलफलका लागि सभाहल र प्रशासनिक काम सञ्चालन गर्न आवश्यक संरचना तयार भएकाले गाउँपालिकाको सेवा प्रवाह थप व्यवस्थित हुनेछ ।

स्थानीय तहको जिम्मेवारी सम्हालेपछि गाउँपालिकाले प्रशासनिक संरचनासँगै शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, सिँचाइ, खानेपानी र खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएको कार्कीले बताए । पाँच वटा वडा रहेको गाउँपालिकामा चार वटा वडाका आफ्नै भवन निर्माण भई सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।

गाउँपालिकाले एमबिबिएस चिकित्सकसहितको १० शय्याको आधारभूत अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको कार्कीको भनाइ छ । सडक, सिँचाइ, खानेपानी तथा कृषि क्षेत्रका पूर्वाधार निर्माणले स्थानीयको दैनिक जीवन सहज बनाउन सहयोग पुगेको उनले बताए । गाउँपालिकामा दुई वटा शीतभण्डारसमेत सञ्चालनमा रहेको कार्कीले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलिप तामाङका अनुसार प्रशासकीय भवन निर्माणका लागि २०७८ पुस २२ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ पुस २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सङ्घीय सरकारबाट साझेदारीअनुसारको बजेट समयमै प्राप्त नहुँदा निर्माणमा ढिलाइ भएको उनले बताए ।

भवन निर्माणका लागि छ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भवनको कुल लागत भने छ करोड ५३ लाख रुपैयाँ रहेको तामाङले जानकारी दिए । निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलोगरी भवन निर्माण सम्पन्न भएको हो । गाउँपालिकाको नाममा ११ रोपनी जग्गा रहेकोमा आठ रोपनी क्षेत्रफलमा प्रशासकीय भवन निर्माण गरिएको तामाङले बताए । तीन वटा सभाहल र पर्याप्त कार्यकक्षसहितको भवनबाट प्रशासनिक कामकाज, बैठक, छलफल तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

आफ्नै प्रशासकीय भवन, वडा कार्यालय र स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणसँगै गाउँपालिकाको संस्थागत क्षमता विकास र नागरिकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउने आधार थप बलियो बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्री यादवले भने–हल्ला कम काम बढी हुनु प-यो