काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आफ्ना कार्यहरूलाई समयानुकूल, प्रभावकारी र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ संस्थागत सुधारका महत्वपूर्ण पहलहरू अघि बढाएको छ ।
संगठनको कार्यादेशबमोजिमका विभिन्न काममा प्रविधि संयोजन तथा प्रविधिसम्बन्धी नीति निर्माण गर्ने कार्यमा मार्गनिर्देश गर्ने उद्देश्यका साथ आईटी स्टेरिङ कमिटी\को गठन गर्ने भएको छ । सो समितिले संगठनभित्र प्रयोग हुने सूचना प्रविधि प्रणालीहरूको प्राथमिकता निर्धारण, नीति तथा मापदण्डहरूको विकास तथा कार्यान्वयनको मार्गनिर्देशन गर्नेछ । यसबाट प्रविधि प्रयोगमा दोहोरोपन घट्ने, निर्णय प्रक्रिया छिटो र तथ्यमा आधारित हुने तथा डिजिटल रूपान्तरणलाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैबीच, नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन Border Interaction Team परिचालन गर्ने नयाँ नीति अवलम्बन गरिएको छ । मुख्य मुख्य सीमा नाकाहरूबाट सुरु गरिने यी टोलीहरूले सीमामा आवतजावत गर्ने सर्वसाधारणलाई सहजीकरण गर्ने, स्थानीय समुदायसँग समन्वय बढाउने, सूचनाको आदान–प्रदानलाई व्यवस्थित गर्ने तथा सीमापार अपराधको निगरानी र नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्नेछन् । यसबाट सीमा क्षेत्रमा विश्वासको वातावरण निर्माण हुनुका साथै प्रारम्भिक चरणमै सुरक्षा चुनौतीहरूको पहिचान र व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सोमबार कार्यभार सम्हाल्दै दंगा नियन्त्रण तथा विपद् व्यवस्थापनको क्षेत्रमा आधुनिक स्रोत–साधनको व्यवस्था, प्रविधिमैत्री सीमा निगरानी तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय राखिने विषयहरूमा जोड दिए । सीमा सुरक्षाको जिम्मेवारीलाई केन्द्रमा राख्दै उनले आफ्नो कार्यकालमा BOP हरुको गुणात्मक विस्तार, Digital Border अवधारणाको कार्यान्वयन सुरुवात तथा Border Intelligence प्रणाली सुदृढीकृत गरिने विषयहरू प्राथमिकतामा रहने कुरा बताए ।
यसका साथै, सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयअन्तर्गत रहेको हालको नीति तथा योजना महाशाखालाई स्तरोन्नति गरी अनुसन्धानमा आधारित नीति निर्माणलाई संस्थागत गर्न “नीति अनुसन्धान तथा योजना निर्देशनालय” स्थापना गर्ने लक्ष्य लिइएको छ । यस निर्देशनालयले संगठनको नीति तथा योजना, तथ्यमा आधारित निर्णय, दीर्घकालीन सोच र परिणाममुखी कार्यान्वयनलाई प्रवद्र्धन गर्दै संगठनलाई अझ व्यवस्थित, उत्तरदायी र सक्षम बनाउने विश्वास लिइएको छ ।
सोमबार सम्पन्न परामर्श समितिको नियमित बैठकले यी तीन विषय कार्यान्वयनको निर्णय गरेको प्रवक्ता विष्णुप्रसाद भट्टले बताए ।
सम्बन्धित समाचार
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ
सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ
सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त
स्रोत नखुलेको रु २७ लाखसहित दुई पक्राउ
लागुऔषधका कारोबारी पक्राउ
रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपातिक सांसदलाई
१४ किलो चरेशसहित चार जना पक्राउ, मुख्य ‘मालिक’ भने अझै फरार






