काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट नागरिक बाहिरिने क्रम सुरु भएको छ । गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य घटेर करिब १० लाखमा झर्ने सुरक्षा निकायको अनुमान छ ।
असुरक्षित सडक र महँगो भाडाले मारमा यात्रु
बाढीपहिरोले सडक तथा पुलमा पु¥याएको क्षति, दुर्घटनाको जोखिम र महँगिएको हवाई भाडाका कारण घर फर्किने यात्रुमा अन्योल बढेको छ ।
यात्रुको चाप व्यवस्थापन गर्न सरकारले निजी सवारीसाधनको समेत अभिलेख राख्ने, टिकट तथा भाडा अनुगमन गर्ने, सवारीको प्राविधिक परीक्षण गर्ने र जोखिमयुक्त सडकमा उद्धार टोली परिचालन गर्ने तयारी गरेको छ । तर क्षतिग्रस्त सडक र मौसममा आउन सक्ने खराबीले सरकारी तयारीको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
यातायात व्यवस्था विभागले घटस्थापना अर्थात २५ असोज देखि ११ कात्तिकसम्म लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनको व्यवस्था मिलाएको छ ।
विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार यस वर्ष निजी रूपमा भाडामा लगाइने सवारीसाधनको समेत अभिलेख राखेर अनुगमन गरिनेछ । यसबाट यात्रुको चाप आकलन गर्न र बढी भाडा असुली नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निर्धारित भाडामा टिकट नपाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारीको अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्ने चिन्ता यात्रुमा छ । सडक अवरुद्ध हुँदा तत्काल उद्धार तथा वैकल्पिक यातायातको व्यवस्था हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उत्तिकै महत्वपूर्ण बनेको छ ।
सामान्य अवस्थामा यातायात व्यवसायी र सुरक्षा निकायको दसैँमा करिब २० लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान थियो । यस वर्ष बाढीपहिरोले सडक तथा पुलमा पु¥याएको क्षति र यातायात सञ्चालनको अनिश्चितताका कारण अनुमान घटाइएको हो । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी र कालीगण्डकी क्षेत्रमा भएको क्षतिले चाडपर्वको यात्रामा समेत असर पारेको व्यवसायीको भनाइ छ ।
सरकार र यातायात व्यवसायीले एक साताअघिसम्म करिब १६ लाख यात्रु बाहिरिने अनुमान गरेका थिए । तर बिहीबारसम्मको टिकट बुकिङको अनुपात विश्लेषण गरेर शुक्रबारसम्म सडकमार्गबाट बाहिरिने यात्रुको अनुमान करिब १० लाखमा झारिएको हो ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले भने करिब नौ लाख यात्रुलाई लक्षित गर्दै झन्डै ६५ हजार सार्वजनिक सवारीसाधन आवश्यक पर्ने अनुमान गरेको छ ।
सरकारले सवारीसाधनको यान्त्रिक अवस्था जाँच्ने, क्षमताभन्दा बढी यात्रु बोक्न नदिने, लामो दूरीका बसमा दुई चालकको व्यवस्था गर्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही गर्ने जनाएको छ ।
चाडपर्वमा क्षमताभन्दा बढी यात्रु राख्ने र प्राविधिक अवस्था कमजोर भएका सवारीसाधनसमेत सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सरकारले जाँच कडा पार्ने तयारी गरेको हो । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा देशभर सवारी दुर्घटनाबाट ४३ हजार १६५ जना प्रभावित भएका थिए ।
नागढुंगा–मुग्लिन सडक, कृष्णभीर र बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गलगायतका खण्डमा सडकको अवस्था र पहिरोको जोखिमले यात्रामा असर पार्न सक्ने भएकाले सुरक्षा निकाय, जिल्ला प्रशासन र पूर्वाधार कार्यालयले उद्धारका लागि उपकरण तयारी अवस्थामा राख्ने भएका छन् ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले जोखिमयुक्त सडकको पूर्वमूल्यांकन, वैकल्पिक मार्ग, चालकलाई पर्याप्त आराम र उद्धारका लागि १८ स्थानमा भारी उपकरण तथा टोली तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
दसैँमा सुरक्षित यात्रा सुनिश्चित गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन र यातायात व्यवसायीबीच समन्वय आवश्यक रहेको भन्दै गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
सुरक्षामा ५० हजार प्रहरी
दसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै सरकारले संघीय तथा प्रादेशिक तहबाट सुरक्षा योजना लागू गरेको छ ।
नेपाल प्रहरीले सातै प्रदेश र काठमाडौं उपत्यकामा ५० हजार ४५८ जनशक्ति परिचालन गर्ने जनाएको छ । सशस्त्र प्रहरी बलले पनि २८ हजार १२६ जनशक्ति खटाएको छ भने थप ४ हजार ५०० जनालाई तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखेको छ ।
नेपाल प्रहरीकाअनुसार चोरी, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी, अवैध कारोबार र सीमापार अपराध नियन्त्रणका लागि गस्ती तथा निगरानी बढाइनेछ । देशभर ४०८ यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमाका १०८ स्थानमा हेल्प डेस्क राखिएको छ । यात्रुको सुरक्षासँगै लामो दूरीका सवारीको चालक अनुमतिपत्र, मादक पदार्थ सेवन, यात्रु क्षमता र यान्त्रिक अवस्थासमेत जाँचिनेछ ।
सशस्त्र प्रहरीले सीमा सुरक्षा, सार्वजनिक सम्पत्ति तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा र विपद् उद्धारलाई प्राथमिकता दिएको छ । १४१ नागरिक सहायता कक्ष, ३७ स्थानमा एम्बुलेन्ससहितका आकस्मिक उद्धार टोली र सातै प्रदेश तथा उपत्यकाका १६ स्थानमा ठूलो संख्याका घाइते ओसार्न सक्ने सवारीसाधन तयारी अवस्थामा राखेको छ ।
प्रदेश प्रहरी कार्यालयहरूले स्थानीय जोखिमअनुसार प्रहरी परिचालन, बजार तथा धार्मिकस्थलको निगरानी र राजमार्ग सुरक्षा व्यवस्थापन गर्नेछन् । सुरक्षा निकायले सीसीटीभी, ड्रोन, मोबाइल गस्ती र द्रुत परिचालन टोलीमार्फत निगरानी बढाउने प्रहरीको योजना छ ।
सम्बन्धित समाचार
विपद्मा परी हालसम्म १५ जनाको मृत्यु
काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुलाउने लक्ष्य
वरिष्ठ अधिवक्ता हेरेको हेर्यै !
एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस
सोह्र श्राद्ध सुरु, यस्तो छ शास्त्रीय मान्यता
रास्वपा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’




