काठमाडौं । गोरखाको बुढीगण्डकीमा आएको भीषण बाढीले दुईवटा पुलसहित ३५ वटा घर बगाएको छ । आइतबार बिहान साढे ६ बजे लेदो र गेग्रयानसहितको बाढी अहिले गोरखाको आरुघाट आइपुग्दैछ ।
बाढीले बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्पसहित एउटा पूरै गाउँ बगाएको छ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार त्यस क्षेत्रको घरमा पसेको बाढीले करिब १५० घरमा क्षति पुगेको छ । बाढीले घरहरूमा क्षति पुर्याउनुका साथै दुई पालिकालाई जोड्ने मुख्य पुलसमेत बगाएको छ । मुख्य पुल नै बाढीले बगाएपछि गोरखासँगको सम्पर्कसमेत टुटेको उनको भनाइ छ ।
पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । बाढीबाट प्रभावित घरपरिवारको क्षति र पुल बगाउँदा भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार भदौ १० को भोटेकोशी र आइतबारको बुढीगण्डकीको बाढीको उद्गमस्थलको आकाशीय दूरी बढीमा ७० किमी देखिन्छ । अर्थात् ४७ दिनको अन्तरालमा नजिकैको स्थानमा दुई ठूला जलवायुजन्य विपद भएका छ । भोटेकोशी बाढीको कारण हिमचट्टान पहिरो थियो भने यसको चैँ स्थान र कारण यकिन हुन बाँकी छ । तर स्थानीय तहमा बुझ्दा बुडीगण्डकीको स्रोतभन्दा पनि यस नदीमा मिसिने सानो नदीबाट ठूलो बाढी आएको भन्ने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले गोरखाको उत्तरी भेगमा वर्षाको कुनै रेकर्ड नभएको जनाएको छ । तर पनि यसरी भीषण बाढी आउनुलाई सामान्य मानिएको भने छैन ।
स्थानीयबासी, गोरखाको माथिल्लो भेग बुझेका जानकारहरू र काठमाडौंमा उपलब्ध स्रोतहरूले बिही र चुमचेतको बीचमा पहिरो गएको र स्यार खोला थुनिएको, त्यसले बनाएको ताल चुम्लिङ नजिकसम्म विस्तार भएको, बाँध फुटेर बगेको डेब्रिज फ्लडले कटान गरी स्यार र बुढीगण्डकी दोभानमा अर्को पहिरो झर्दा पुन: दोस्रो ड्याम बनेको, माथिल्लो र तल्लो ड्याम थुनिने र भरिने गरेका कारण पटकपटक बाढी चलिरहेको भनिरहेका छन् ।
सम्बन्धित समाचार
बागलुङमा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु, पाल्पामा दुईको मृत्यु, तीन बेपत्ता
आज प्रतिनिधिसभाको बैठक बस्दै, दुई समितिको बैठक पनि बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै, आज चार वटा संसदीय समितिको बैठक पनि बस्दै
बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय
फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
प्रस्तावित राजदूतको सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने, १३ जनाविरुद्ध सात उजुरी दर्ता
बेनी–जोमसोम–कोरला सडक : मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलियो
बूढीगण्डकी बाढीः त्रिशूली र नारायणी किनारमा सतर्कता





