सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय

चितवन – डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ । आँपटारीदेखि देवघाटसम्मका जोखिमका रुपमा पहिचान गरिएका रुख कटान थालिएको हो ।

देवघाट क्षेत्र विकास समितिले १० वर्षअघिदेखि निरन्तर रुपमा रुख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका २५ वटा रुख कटान सुरु गरिएको छ । सो सडकमा रहेका ६२ वटा रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो ।

डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सो सडक खण्डका १० वटा रुख सुकेकाले यसअघि नै कटान गरिसकिएको थियो । नियमित प्रक्रियाअन्तर्गत ती रुख कटान गरिएका हुन् । अन्य रुखको हकमा वन नियमावली २०७९ को तेस्रो संशोधनको नियम ३६ को उपनियम ६ अनुसार जङ्गलभित्रको बाटो, विद्युत्, टेलिफोन टावर, हवाई सुरक्षालाई जोखिम परेको अवस्थामा हाँगाबिँगा वा रुखै हटाउनसक्ने व्यवस्थाअनुरुप कटान सुरु गरिएको हो ।

थप रुख पनि अध्ययन गरी कटान गरिने उनले जानकारी दिए । वैशाख महिनाभित्रमा देवघाट क्षेत्र विकास समितिले रुख कटान गरी वन कार्यालयलाई बुझाउने र जेठ महिनामा ती काठ बोलपत्र आह्वान गरी बिक्री गरिनेछ ।

धार्मिक महत्व बोकेको देवघाट आवतजावत गर्ने सडकमा रुख परेपछि आवतजावतमा कठिनाइ भएको थियो । कतिपय रुख जुनसुकैबेला ढल्नसक्ने अवस्थामा रहेका थिए । ती रुख बरण्डाभार वन क्षेत्र र सतनचुली एवं जलदेवी सामुदायिक वनमा पर्दछन् ।

पूर्वपश्चिम राजमार्गको टिकौली क्षेत्रमा, भरतपुरदेखि कालिका नगरपालिका जाने भोजाडदेखि हरिपुर पोष्टसम्म र लामाटोलदेखि पदमपुरसम्मका सडक किनारका जोखिमयुक्त, रुख पहिचानको काम सुरु गरिएको छ । सो क्षेत्र वरण्डाभार र नवजागृति सामुदायिक वनमा पर्दछ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अगाडिको खगेरी नहरमा रहेको रुख कटानका लागि अनुगमन सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आग्रहमा वन कार्यालयले वैशाखभित्रमा जोखिम रहे नरहेको अध्ययन गरी जोखिमयुक्त भएमा कटानका लागि प्रक्रिया अगाडि बढाउने आचार्यले बताए । उनले सडक छेउ र अन्य जोखिम क्षेत्रमा रहेका रुखलाई प्रचलित कानुनबमोजिम हटाइ जोखिम न्यूनीकरणमा वन कार्यालय लागेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

सामसङ नेपालद्वारा विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना