किर्ते कागजात तयारी पारि वन कर्मचारीकै मिलेमतोमा खयर तस्करी

उदयपुर । नक्कली कागजात तयारी गरि सामृदायिक वनका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा अबैध रुपमा खयर कटान गरिएको छ । वन कर्मचारी र समुहका पदाधिकारीले उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँमा खयर जातको काठ अनधिकृत रूपमा कटान र निकासी गरिएको हो ।

डिभिजन वन कार्यालय त्रिवेणीका कर्मचारीकै मिलेमतोमा फर्जी कागजात बनाएर सामुदायिक वन क्षेत्रको खयर कटान गरिएको स्थानीयबासीले बताएका छन् । ब्यक्तिको नम्बरी आवादीको खयर भनि वन कर्मचारी र समुहका पदाधिकारीको मिलेमतोमा किर्ते कागजात तयारी गरि सामुदायिक वनको खयर कटान गरेको स्थानीयबासी बताउँछन ।

स्थानीय मदनबहादुर राईको निजी नम्बरी आवादी जग्गाबाट खयर काटिएको भन्दै कागजात तयार पारिए पनि वास्तविक रूपमा काठ जनकल्याण आदर्श सामुदायिक वन क्षेत्रबाट कटान गरिएको हो । ठानागाउँको थुम्की क्षेत्रमा रहेका खयरका रूख कटान गर्न सब डिभिजन वन कार्यालय ठानागाउँका वन अधिकृत अरबिन्द पाण्डे र डिभिजनल वन अधिकृत अनिरुद्रकुमार साहको योजनामा फर्जी कागजात बनाइएको स्थानीयको आरोप छ ।

वन कार्यालयले तयार गरेको पत्रमा राईको जग्गाबाट प्लास बाहेक २८०.२४ क्युफिट र प्लास सहित ३९२.३४ क्युफिट गरी ७४२ थान खयरका गोलिया काठ कटान गर्न अनुमति दिएको उल्लेख छ । तर, सो परिमाणको खयर राईको जग्गामा नभएको र सामुदायिक वनकै काठ काटिएको स्थानीयको भनाइ छ ।

अबैध रूपमा काठ कटान भइ रहेको भन्दै रुपाटार युवा समाजले डिभिजन वन कार्यालय कटारीमा उजुरी दिएको थियो । उजुरीपछि काठ कटानको जिम्मा पाएको सुनकोसी सप्लायर्स, कटारी नगरपालिका–३ का सञ्चालक प्रकाश रोकासहित वन कार्यालयका केही कर्मचारीले उजुरीकर्तालाई ज्यान मार्ने धम्की दिएको संस्थाका अध्यक्ष सकिलजंग ठकुरीले जानकारी दिएका छन् ।

उनी भन्छन्, “अबैध रूपमा खयर कटान भइ रहेको ’bout ताप्ली गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा नं ४ का वडाध्यक्षलाई समेत जानकारी गराए ं। तर सुनुवाइ नभएपछि वन कार्यालयमै उजुरी दियौं, त्यसपछि ठेकेदार र कर्मचारीले जहाँ भेट्यो त्यहीँ मार्ने, हातखुट्टा भाँचिदिने धम्की दिए । ठकुरीले वन कार्यालय र प्रहरीमा समेत उजुरी गर्दा सुनुवाइ नभएको गुनासो गरेका छन् । ईलाका प्रहरी कार्यालय कटारीमा दिएको उजुरी दर्ता नगरी उल्टै हप्काएर पठाइएको उनको आरोप छ । “समाजमा भएका बेथिति विरुद्ध आवाज उठाउँदा उल्टै ज्यानकै खतरा भयो,” उनले भने ।

रुपाटार युवा समाजका अध्यक्ष ठकुरी सहित उपाध्यक्ष सुनिल खड्का, सचिव एलिस थापा र सह–सचिव रञ्जित पौडेलले सब डिभिजन वन कार्यालय ठानागाउँका वन अधिकृत अरबिन्द पाण्डे, डिभिजनल वन अधिकृत अनिरुद्रकुमार साह, वन अधिकृत राम आशिष शर्मा तथा वन रक्षक आनन्द खत्री, नरसिंह ओली, खगेन्द्र रावल र हेमराज ओलीको संलग्नतामा अबैध काठ तस्करी भएको भन्दै उजुरी दिएका थिए ।

डिभिजन वन कार्यालयले बैशाख ११ गते कटारीस्थित सुनकोसी सप्लायर्सलाई काठ कटान गरी बारा सिमरास्थित पशुपति कत्था मिल प्रा.लि. सम्म पु¥याउन अनुमति दिएको थियो । सोही क्रममा मधेस प्रदेश ०४००१ ख ०११५ नम्बरको ट्रकमा काठ लोड गरिएको र बैशाख १२ गते शनिबार गाउँपालिकामा ३ हजार रुपैयाँको रसिद काटिएको स्थानीयको भनाइ छ । त्यसपछि स्थानीय युवाहरूले प्रहरीलाई खबर गरेपछि केही समय ट्रक प्रहरी चौकी रुपाटारले नियन्त्रणमा लिएको थियो ।

तर, वन कार्यालयले छाप लगाएको गाडी धेरै समय रोक्न नमिल्ने भन्दै प्रहरीले ट्रक छोडेपछि स्थानीयले पुनः वन कार्यालयमा उजुरी दिएका थिए । डिभिजन वन कार्यालय त्रिवेणीका प्रमुख अनिरुद्रकुमार साहले सबै प्रक्रिया पूरा गरेर काठ कटान गरिएको दाबी गरेका छन् । केही त्रुटि भएको हुन सक्ने स्वीकार गर्दै उनले उजुरी परेपछि अनुसन्धान सुरु गरिएको बताए । “खयरको काठ कटान ’bout धेरै विवाद आउने भएकाले पहिलाको तुलनामा कटान आदेश कम दिएकाछौं, काम गर्दा केही त्रुटि भएको रहेछ भने सच्याउँछौं,” उनले भने ।

ताप्ली गाउँपालिका–४ का वडाध्यक्ष उमेश मगरले भने वन उपभोक्ताले कुनै विरोध नगरेको अवस्थामा अन्य वडाका युवाहरूले अनावश्यक चासो राख्नु उचित नभएको बताएका छन् । “ठेकेदार पक्षले ज्यान मार्ने धम्की दिनु गलत हो, तर वडा नम्बर ४ बाहिरका व्यक्तिहरूले अनावश्यक चासो राख्नु ठीक होइन,” उनले भने । यता, थुम्कीका एक स्थानीयले भने सामुदायिक वनका पदाधिकारी, ठेकेदार र सम्बन्धित निकायको मिलेमतोमा विगतदेखि नै खयर कटान हुँदै आएको दाबी गरेका छन् । यस पटक काठ रुपाटार हुँदै लैजाँदा घटना सार्वजनिक भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

एक वर्षको सजाय सुनाइएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा ८ महिनामै जेलमुक्त