सशस्त्रको डीआईजी र एसएसपीमा बढुवा भएकाहरूलाई महानिरीक्षक पौडेलद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं ।  सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले डीआईजीमा बढुवा भएका दिगविजय सुबेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की तथा एसएसपीमा बढुवा भएका दीपककुमार थापा, सुधिर सुबेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । 

उनीहरूलाई २४ वैशाखको प्रधानमन्त्री तथा गृहमन्त्रीस्तर निर्णयले २२ वैशाखदेखि ज्येष्ठता लागू हुने गरी बढुवा गरिएको थियो । बढुवा समितिको गत ११ वैशाखको निर्णयले उनीहरू बढुवा सिफारिस भएका थिए । 

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा बोल्दै महानिरीक्षक पौडेलले पदोन्नति भएका सम्पूर्ण अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनले प्रदान गरेको जिम्मेवारीलाई पूर्ण निष्ठा, इमानदारिता र समर्पण भावका साथ निर्वाह गर्दै संगठनको गौरव, प्रतिष्ठा र विश्वसनीयतालाई अझ उचाइमा पु¥याउनुपर्ने बताए । 

महानिरीक्षक पौडेलले भने, ‘पदोन्नति केवल दर्जा परिवर्तन मात्र होइन, यो जिम्मेवारी, उत्तरदायित्व, दृष्टिकोण र नेतृत्व क्षमताको विस्तार हो । पदले मात्र व्यक्तिलाई ठूलो बनाउँदैन, पेसागत क्षमता, संगठनप्रतिको आस्था र प्रतिबद्ध सेवाले पदलाई सम्मानित बनाउँछ ।’उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा परिवेशमा सशस्त्र प्रहरी बल नेपालले अझ व्यावसायिक, प्रविधिमैत्री, उत्तरदायी र भरोसायोग्य संगठनको रूपमा आफूलाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, संगठित अपराध नियन्त्रण, संवेदनशील संरचनाको सुरक्षा तथा राष्ट्रिय संकटका समयमा संगठनको भूमिकालाई अझ प्रभावकारी र विश्वासिलो बनाउन आवश्यक रहेको बताए । 

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालले भ्रष्टाचार, अनियमितता, शक्ति दुरुपयोग, गैरव्यावसायिक व्यवहार तथा अनुशासनहीनताप्रति शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्दै सांगठनिक हितविपरीतका कार्यहरू तथा गैर व्यावसायिक क्रियाकलापहरू क्षम्य नहुने साथै कार्यक्षेत्रमा पारदर्शिता, निष्पक्षता र जबाफदेहितालाई व्यवहारमा लागू गर्न सोही अवसरमा निर्देशन दिए । 

उनले शीघ्र प्रतिकार्यको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनी मनसुनको पूर्वसन्ध्यामा नै विपद् प्रतिकार्यको लागि पूर्ण तयारीका साथ संवेदनशील बनेर जिम्मेवार ढंगले फिल्डमा परिचालन हुनसमेत निर्देशन दिए । 

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सावित्राकुमारी पौडेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू वंशीराज दाहाल र गणेशबहादुर ठाडा मगरलगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र बिल्लादार जवानहरूको उपस्थिति रहेको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी