खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले आफ्नै सुविधासम्पन्न पक्की प्रशासनिक भवनबाट बिहीबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका केन्द्र कुभिण्डेको हरमटारमा स्थानीयले निःशुल्क उपलब्ध गराएको पाँच रोपनी आठ आना जग्गामा निर्मित साढे चारतले भवनको उद्घाटन गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले संयुक्त रूपमा रिबन काटेर गरे ।
भवनमा २१ वटा कोठा र महिला–पुरुष छुट्टाछुट्टै शौचालयको सुविधा रहेको छ । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्मित उक्त भवन पाँच करोड ४८ लाख ४४ हजार ५८० रुपैयाँमा ठेकेदार कम्पनी एसई–धुम–एमकेएस जेभीले निर्माण गरेको हो । ठेकेदारले सम्झौतामा तोकिएको समय अघि नै भवन निर्माण सम्पन्न गरी २०८२ चैत २१ गते गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत दाहालले यसअघि ट्रस भवन र साँघुरो सभाहलबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई सास्ती भएकोमा अब आफ्नै पक्की भवन सञ्चालनमा आएपछि सहज भएको बताए । गाउँपालिकाको केन्द्र र नामलाई लिएर लामो समय विवाद रहँदै आएकोमा सर्वोच्च अदालतले २०८० चैत २२ गते हरमटारनै केन्द्र कायम रहने फैसला गरेपछि विवाद टुङ्गिएको थियो ।
सम्बन्धित समाचार
सुन्दरहरैचामा सुकुम्बासीमाथि डोजर नचलाउन स्थानीय सरकारलाई सभापति तामाङको आग्रह
‘हाम्रो धनगढी, सफा धनगढी’ मा बढ्दो जनसहभागिता
कलेज बस दुर्घटनामा चार जना घाइते
विजयनगर गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा
सङ्खुवासभामा ६ हजार बढी बालबालिकाको स्वास्थ्य जाँचिने
खोटाङमा १ हजार १५१ जनाको जग्गा दर्ता प्रमाणिकरण सम्पन्न
अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो, २७ घाइते
सप्तरीका सुकुम्वासी सडकमा






