भागेश्वरमा विद्युतीकरणको काम अलपत्र, अन्धकारमै दुर्गम बस्ती

डडेल्धुरा । जिल्लाको पश्चिमी क्षेत्र भारतसँगको सीमा महाकाली नदी किनारसम्म फैलिएको भागेश्वर गाउँपालिकाका दुर्गम बस्तीहरूमा भइरहेको विद्युतीकरणको काम तीन वर्षदेखि अलपत्र अवस्थामा छ । वडा नं. १ अन्तर्गत पर्ने चुडी, बल्काण्डे, पत्रम, काँडेलगायतका बस्तीहरुमा विद्युत विस्तारको काम रोकिएपछि स्थानीय अझै अन्धकारमै बस्न बाध्य छन ।

विद्युत लाइन विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले केही स्थानमा पोल गाड्ने, तार तान्ने तथा आवश्यक विद्युत सामग्री गाउँसम्म पुर्याउने काम गरे पनि त्यसपछि काम अघि बढेको छैन । गाउँका विभिन्न ठाउँमा तारका गुजुल्टा, पोल तथा अन्य सामग्री खुला रूपमा छोडिएकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयले बताएका छन ।

स्थानीय लोकेन्द्र ठकुराठीका अनुसार विद्युत विस्तारको काममा खटिएका मजदुरहरूले लामो समयदेखि पारिश्रमिक पाउन सकेका छैनन् । पोल गाडियो, तार पनि तानियो, तर गाउँमा अझै बिजुली बलेको छैन, उनले भने, विद्युत आउने आशामा बसेका स्थानीय अहिले निराश बनेका छन ।

उनका अनुसार स्थानीयहरूले सम्बन्धित निकाय, ठेकेदार कम्पनी तथा गाउँपालिकासँग पटक–पटक काम सम्पन्न गर्न, मजदुरको ज्याला भुक्तानी गर्न र अलपत्र सामग्रीको व्यवस्थापन गर्न माग गर्दै आएका छन । तर हालसम्म कुनै सुनुवाइ नभएको गुनासो उनीहरूको छ ।

गाउँपालिका अध्यक्ष हेमराज चटौतका अनुसार उज्यालो भागेश्वर अभियान अन्तर्गत आर्थिक वर्ष २०७६–०७७ मा करिब ९० लाख रुपैयाँको ठेक्का सम्झौता गरी काम सुरु गरिएको थियो । निर्माण कम्पनीले उपलब्ध रकम बराबरको काम गरिसकेको दाबी गरे पनि गाउँमा विद्युत सेवा सञ्चालन हुन सकेको छैन ।

उनले त्यसबेला गरिएको काम गुणस्तरहीन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दासमेत परेको र हालसम्म त्यसको टुंगो नलागेको जानकारी आफूले पाएको बताए ।

यता नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका इञ्जिनियर उज्वल खनालका अनुसार डडेल्धुरा जिल्लाभर विद्युतीकरणका लागि करिब ६ करोड रुपैयाँ बराबरको ठेक्का सम्झौता गरिएको थियो । केन्द्रिय कार्यालयले सामग्री उपलब्ध गराउने र निर्माण कम्पनीसँग ज्यालादारीमा सम्झौता गरी काम अघि बढाइएको भए पनि आवश्यक तार, ट्रान्सफर्मर र पोल समयमै उपलब्ध हुन नसक्दा काम रोकिएको उनले बताए ।

उनका अनुसार २०८१ चैत मसान्तभित्र सम्पन्न हुनुपर्ने योजना अब २०८३ असार २५ गतेसम्मका लागि म्याद थप गरिएको छ ।

३७ किलोमिटर तार, २७ वटा ट्रान्सफर्मर, ११ मिटरका २६७ वटा र ८ मिटरका करिब २०० पोल उपलब्ध भएपछि मात्रै निर्माण कम्पनीलाई काम सम्पन्न गर्न करिब ६ महिनाको समय दिन सकिन्छ, खनालले भने, केही दिनमै तार पुग्ने जानकारी आएको छ, तर ट्रान्सफर्मर कहिले आइपुग्छ भन्ने निश्चित छैन ।

उनले वडा नं. १ र २ मा पहिले गरिएको काम अख्तियारमा मुद्दा परेकाले दोहोरो काम हुने अवस्था सिर्जना भएको र त्यसले पनि प्रक्रिया जटिल बनेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

भागेश्वरमा विद्युतीकरणको काम अलपत्र, अन्धकारमै दुर्गम बस्ती