पोखराको पृथ्वीचोकमा भत्किए ठूला संरचना

पोखरा । पोखरा महानगरपालिकाले पोखरा–९, पृथ्वीचोकस्थित हङकङ बजारअगाडिका विभिन्न संरचनामा बिहीबार डोजर लगाएर भत्काएको छ । जसअनुसार सहारा क्लब पोखरा, सामुदायिक प्रहरी सेवा, जिफन्ट गण्डकी, नेपाल ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवारको भवन, पसलहरु, सार्वजनिक शौचालयसमेतका संरचना भत्काइएको हो ।

पोखरा उपत्यका नगर विकास समितिको जग्गा अतिक्रमण गरेर विभिन्न संघसंस्थाले भवन बनाएर लामो समयदेखि सटर भाडामा लगाउँदै आएका थिए ।

पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न यसअघि सार्वजनिक सूचना जारी गरेकोमा त्यसको म्याद सकिएको हो । बिहीबार बिहान ११ बजेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि समेतको सहयोगमा दुई डोजर चलाइएको थियो ।

खाली गर्न जारी गरिएको सूचनाबमोजिम कतिपय संस्थाले आफ्ना भवन तथा संरचना खाली गराइसकेका थिए ।

मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आफ्ना सामान दोबिल्लास्थित सहारा एकेडेमीमा लगेको छ । यसैगरी, जिफन्ट, ट्रेड युनियन कांग्रेस, सामुदायिक प्रहरी सेवा, हिमाली सांस्कृतिक परिवारसमेतले आफ्ना सामान धमाधम सारेका थिए ।

महानगरपालिकाले आयोजना गरेको सर्वदलीय–सर्वपक्षीय छलफलपछि राजनीतिक दलका भातृ संस्थालगायतले भवन खाली गर्न राजी भएका थिए ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले लामो समयदेखि भोगचलन गर्दै आउनुका साथै भाडामा लगाएर आम्दानी गर्दै आएका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाएर दुई लेनको सडक निर्माण गरिने बताए । उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उनले जनाए ।

यसैबीच, पोखरा महानगरपालिकाले फिर्केखोला घरको मापदण्ड मिचेर बनाइएका अवैध संरचनाहरू भत्काउने क्रम जारी राखेको छ । ५ दिनदेखि लगातार काम भइरहेको हो । फिर्केखोला घरका कुल १ सय ६० संरचनामाथि डोजर लगाइने महानगरले जनाएको छ । तीमध्ये दुईतिहाइ संरचना भत्किसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ