पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

तानसेन । मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका मगर समुदायका महिलाहरू डालामा स्थानीय परिकारका बटुक, चकाउनी, बारा, सेलरोटी र अचार बिक्रीमा व्यस्त छन् ।

तानसेन नगरपालिका–६, बर्तुङमा आयोजना गरिएको सडक खाना महोत्सवमा उनीहरूले तयार पारेका पाकवानको स्वाद लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो देखिन्छ ।

पर्यटकहरु सांस्कृतिक कार्यक्रममा रमाउँदै स्थानीय परिकारको स्वाद लिइरहेका थिए । महोत्सवको आकर्षणमा रैथाने खाना बटुक, चुकाउनी, हाँसको छोइला, पकौडा, चटामरी, मासको बारा, सेलरोटी, यःमरी, मेवाको अचारलगायत छन् ।

पछिल्लो समय ‘फास्ट फुड’मा रमाउने युवाहरू पनि मौलिक खानाको स्वाद लिन व्यस्त देखिन्थे । बटुक, चुकाउनीलगायतका परिकार बनाउन व्यापारीलाई भ्याइ–नभ्याइ देखिन्थ्यो ।

महोत्सवमा विशेष गरी मगर र नेवारी समुदायलगायतका १५ भन्दा बढी परिकारका कक्ष राखिएको छ । दर्शकले स्थानीय खानाको स्वादसँगै विभिन्न जात जातिका भेषभुषा, नाचगान र स्थानीय राष्ट्रिय कलाकारको प्रस्तुति सहित मनोरञ्जन समेत लिए ।

तानसेनको भीमसेनटोलमा पनि सडक खाना महोत्सवमा आयोजना गरिएको थियो । भीमसेन टोल विकास संस्थाको आयोजनामा भएको महोत्सवमा दर्शक तथा पर्यटकको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, हस्तकलाका सामग्री तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले सहभागीलाई आकर्षित गराएको आयोजकले जनाएको छ ।

स्थानीय मौलिक खानाका परिकार यःमरी, हाँसको छोइला, बटुक, सेलरोटी, चुकाउनीलगायतका परिकारका साथै स्थानीय कलाकारद्वारा नेवारी समुदायको धिमे र लाखे नाँच तथा मगर समुदायको घाटु र लिलि घोडा नाच प्रदर्शन गरिएको थियो ।

स्थानीय खानाको संरक्षण, खानाको खानाको प्रवर्द्धन र पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिँदै भीमसेनटोलमा सञ्चालन हुँदै आएको खुला वाचनालयलाई व्यवस्थित गर्दै लैजानेमा जोड दिएको आयोजक भीमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गोंगलले बताए।

टोलको सरसफाईलगायतका सामाजिक कामका लागि आवश्यक रकम जुटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

पछिल्लो समय सडकमा महोत्सव आयोजना गरी परम्परादेखि घरमा खाने परिकार आगन्तुकलाई खुवाउन महिला समूह, विभिन्न जातजाति सम्बद्ध समूह, टोल विकास संस्था सक्रिय छन् । स्थानीय मगर, नेवार, ब्राह्मण, क्षेत्री, कुमाल समुदायमा प्रचलित खानाका परिकार महोत्सवमा राखिने गरिएको छ ।

सडक खाना महोत्सव हुँदा विभिन्न खानाका परिकार चाख्न पाइएको तानसेनका स्थानीय मोहन श्रेष्ठले बताए। सडक महोत्सवले महिला तथा अन्य समूहको आम्दानीसमेत बढाएको उनको भनाइ छ ।

यसप्रकारका महोत्सवबाट स्थानीय खानाको प्रचारप्रसार हुनुका साथै आम्दानीमा टेवा पुगेको तानसेन–५, कैलाशनगरकी शान्ता ढकालको भनाइ छ ।

महोत्सवका लागि तानसेन नगरपालिकाले समेत सहयोग गर्दै नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए। सडक खाना महोत्सवले पर्यटन तथा व्यवसाय क्षेत्रमा आएको मन्दी कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्ज महानगरका मेयर सिंह धरौटीमा रिहा