काठमाडौं । दैनिक तापक्रम बढेसँगै मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ । मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले यहाँको जनजीवनमा नकारात्मक प्रभाव बढ्न गई ‘लु’को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सचेत गराएको छ ।
‘लु’का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम निम्तन सक्छ । प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. दिग्विजय ठाकुरले ‘लु’बाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन, घरबाहिर निस्कँदा कपडा वा अरु कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएका छन् ।
मधेशमा अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुहरूको जनजीवनसमेत कष्टकर बनेको छ । शहरी क्षेत्रमा भने मानिसको चहलपहल निकै कम देखिन्छ । दिउँसोका समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणले बताएका छन् ।
जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरका प्रमुख राजीव झाले यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको बताए । झाले १८ जेठदेखि १३ असोजसम्मको अवधिलाई मनसुनी समय स्वीकारेको भए पनि अहिले जेठ महिना सकिन लाग्दासमेत उखरमाउलो गर्मी रहेको बताए ।
गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । शरीरमा पानी कमी भयो भने शरीरबाट विषाक्त पदार्थ बाहिर आउन सक्दैन ।
डा. ठाकुरले गर्मीबाट जोगिन तिर्खा नलागे पनि दिनको आठ गिलास पानी पिउन सुझाव दिएका छन् । ठाकुरले पानीका कमीले शरीरमा डिहाइड्रेसनको समस्या आउनसक्ने बताउँदै पानीको पिउनुको सट्टा बियर, कफी, सोडाजस्ता पेयपदार्थ झनै हानिकारक हुने बताए ।










