दरबार हत्याकाण्डपछिको अनिश्चयसँगै (२२ जेठ २०५८ मा) सुरु भएको लोकप्रिय राजधानी राष्ट्रिय दैनिकले सरकारी सूचना र विज्ञापनमा अंकुश लगाइएको प्रतिशोेधात्मक अवस्थासम्म आइपुग्दा ऐतिहासिक २५ वर्ष पूरा गरेको छ । २६औं वर्षमा प्रवेश गरिरहँदा देशको सामाजिक र आर्थिक अवस्थामा खास परिवर्तन नभए पनि राजनीतिक उथलपुथल र परिवर्तन उल्लेख्य रह्यो ।
पत्रकारिता जगत् राजनीति, अर्थ र समाजभन्दा पृथक् छैन, हुन पनि सक्दैन । यस अर्थमा हामी पनि २५ वर्षको गौरवशाली यात्रा पूरा गरिरहँदा यी तीन परिघटनाबाट टाढा भएनौं । सूचनाको संवाहकका रूपमा मात्र नभई देशको स्वाभाविक गति र नेतृत्वका कारण भएको परिवर्तनको साक्षीमात्र नभई हामीले यसबीचमा पहरेदार, सुझावकर्ता र मार्गदर्शकको भूमिका निर्वाह ग¥यौं । दरबार हत्याकाण्ड, १० वर्षे सशस्त्र विद्रोह, ज्ञानेन्द्र शाहको ‘शाही कू’, जनआन्दोलन, जेनजी आन्दोलनजस्ता राजनीतिक परिवर्तन मात्र नभई महाभूकम्प, कोरोना कहर, भारतीय नाकाबन्दीजस्ता प्राकृतिक, आर्थिक र स्वास्थ्य संकटबाट देश र मिडिया उद्योगले थुप्रै हैरानी व्यहोरे ।
यसबीचमा मिडिया जगत्ले भोगेको आर्थिक संकटमा उसका आफ्ना समस्याभन्दा बढी राज्यका नीति बाधक भए भन्ने हाम्रो ठहर छ । २५ वर्षमा सञ्चार क्षेत्रमा धेरै परिवर्तन भएका छन् । तर निष्पक्ष र सही सूचना दिने हाम्रो अभीष्ट कहिल्यै परिवर्तन भएन, हुँदैन पनि । यसबीचका राजधानी दैनिकका आरोह–अवरोह हाम्रा निजी मामला हुन् । तर सूचना सम्प्रेषण कर्मका क्रममा वर्तमान सरकारले लिएको नीति र रवैयाप्रति हाम्रो गम्भीर विमति यो अवसरमा हामीले राख्नै पर्छ । हाम्रो निष्ठामा अविचलित हुँदै गर्दा प्रविधिको विकाससँगै फेरिएको सूचना सम्प्रेषणको माध्यमसँग हामी जानकार छौँ, यसलाई पछ्याउनु समयको मागमात्र होइन, बाध्यता पनि हो भन्ने हामीले राम्ररी बुझेका छौं । रजत जयन्ती मनाइसकेको परिवेशमा राजधानी दैनिक छापासँगै अब डिजिटलतर्फ केन्द्रीत हुने छ । २६औं वर्षमा प्रवेश गर्दै गर्दा हामी यसप्रति सचेतसँगै जिम्मेवार पनि छौं ।
२५ वर्ष लामो यात्रामा हामीले लाखौं समाचार पाठकसमक्ष पस्कियौँ । रजत जयन्ती वर्षको समापन अवस्थामा आइपुग्दा यसपटक हामीले हाम्रो पहिलो अंकमा प्रकाशित समाचारसहित २५ वर्षका २५ वटा प्रतिनिधिमूलक समाचार विशेषांकका रूपमा प्रकाशन गरेका छौं । यो छनौटमा उत्कृष्टता भन्दा प्रतिनिधित्वको हिस्सा बढी छ ।
२५ वर्षसम्म तपाईंको निरन्तर समर्थन, विश्वास र साझेदारी नै हाम्रो सफलताको मुख्य आधार हो । यो यात्रामा जोडिएर कुनै कालखण्डमा निरन्तर योगदान गर्ने पत्रकार, कर्मचारीसहित विज्ञापनदाता र सुभेच्छुकप्रति धन्यवादसहित रणनीतिक सहकार्यको निरन्तरताको अपेक्षा गर्दछौं ।
सम्पूर्ण पाठकहरूमा रजत जयन्तीको यो गौरवशाली अवसरमा हार्दिक नमन ।
सचिन शेरचन
अध्यक्ष
राजधानी न्यूज पव्लिकेशन प्रालि
सम्बन्धित समाचार
सार्वजनिक पदाधिकारीका धर्मपुत्रीदेखि सासुसम्मका सम्पत्ति उच्च निगरानीमा
सरकारले तोक्यो वर्षे धानको समर्थन मूल्य
फौजीकिराले मासेको मकैमा असिनाको मार
दीर्घकालीन परिवर्तन आफैंबाट सुरु गरौं
वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
रवि–मोदी भेट आज
बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु






