काठमाडौं । जेनजी आन्दोलन र २१ फागुन २०८२ मा भएको प्रतिनिधिसभा निर्वाचनपश्चात् विभिन्न दलबीच एकीकरणको प्रयास भइरहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने फुटेको छ । राजसंस्थाको पुनस्र्थापना, हिन्दुराष्ट्र स्थापना, संघीयता खारेजीलगायतका मुद्धासहित संघर्ष गरिरहेको राप्रपा दुई चिरामा विभाजन भएको हो ।
राप्रपा महामन्त्री धवलशमशेर राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, दिलविकास राजभण्डारी, नेता एवं पूर्वमन्त्री दिलनाथ गिरी, केशव श्रेष्ठ, कार्यसम्पादन समिति सदस्य नारायणप्रसाद कोइराला, प्रवक्ता सगुनसुन्दर लावती, केन्द्रीय सदस्यहरु धनसुर शाही, मिना शाही, नानीमैया आचार्य, पवित्रासुब्बा श्रेष्ठ, शशांकशमशेर थापा, कर्णबहादुर शाही, शशीकुमार सिलवालसहित ३२ भन्दा बढी केन्द्रीय समितिका नेताले बिहीबार सामूहिक राजीनामा दिएका छन् ।
राप्रपाको केन्द्रीय समितिसहित विभिन्न जिल्ला एवं पालिकाको विभिन्न जिम्मेवारीमा रहेका १८३ जनाले पार्टी सदस्यता परित्याग गर्दै सामूहिक राजीनामा दिएका छन् । उनीहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण पार्टीले आफ्नो नीति छोडेको र आन्दोलन तुहिएको आरोप लगाएका छन् ।
राप्रपा परित्याग गरेको राणा समूहले नयाँ राजनीतिक दल गठन गर्ने घोषणासमेत गरेको छ । स्रोतका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका नेताहरुलाई समेत समेटेर नयाँ दल गठनको गृहकार्य भइरहेको छ ।
बिहीबार नै काठमाडौंमा आयोजित एक कार्यक्रममा राणाले नयाँ पार्टी गठनको औपचारिक घोषणा गरेका छन् । राणासँगै राप्रपा परित्याग गरेका नेता–कार्यकर्ताले नयाँ राजनीतिक अभियानमा सहभागी भएको घोषणा गरेका छन् । कार्यक्रममा बोल्दै उनीहरूले राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्दै नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यसहित अभियान अघि बढाइएको बताएका छन् ।
राणाको पार्टी परित्याग र नयाँ दल गठनको घोषणासँगै राप्रपाभित्रको राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको छ । पछिल्लो समय पार्टी नेतृत्वसँगको मतभेदका कारण राणाले अलग बाटो रोजेका हुन् ।
अब घोषणा हुने नयाँ पार्टीको नाम, संगठनात्मक संरचना तथा आगामी राजनीतिक कार्यदिशा’bout भने छिट्टै जानकारी गराउने उनीहरुले जनाएका छन् । राणाले आफूले बोकेको मूल्य, मान्यता र राजनीतिक उद्देश्य पुरानो संरचनाबाट पूरा हुन नसक्ने निष्कर्षमा पुगेपछि नयाँ यात्राको सुरुवात गरेको घोषणा गरे ।
राप्रपा छाड्नु आफ्ना लागि खुसीको नभई पीडादायी निर्णय भएको बताउदै उनले भने, ‘आज दुःखको साथ हामीले आफ्नो घर नै छोड्नुपर्ने अवस्था आयो । यो खुसीको दिन होइन, दुःखको दिन हो ।’
राणाले राजनीतिक जीवनमा केही हासिल गर्न र आफूले विश्वास गरेका मूल्य तथा मान्यतालाई स्थापित गर्न आवश्यक परे पुरानो घर छोडेर नयाँ घर निर्माण गर्नुपर्ने अवस्था आउने उल्लेख गरे ।
‘आफू बसेको घरबाट पार लाग्दैन भन्ने लागेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनुपर्छ । मर्किसकेको र चर्किसकेको घरबाट पार लाग्दैन । अब अर्को बनाउन सक्ने जमर्को गर्नुपर्छ । त्यही जमर्कोमा आज हामीहरू लागेका छौँ,’ राणाले भने ।
राणाले पार्टीभित्र आफूले अघि सारेका सुधारका प्रयास सफल हुन नदिइएको आरोपसमेत लगाए । राप्रपालाई सही राजनीतिक दिशा र एजेन्डामा अघि बढाउने प्रयास गरेको दाबी गर्दै उनले आन्दोलनको नेतृत्वसहित पार्टीलाई सुदृढ बनाउन र राष्ट्रकै पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्यका साथ काम गरे पनि त्यसका लागि आवश्यक वातावरण नपाएको गुनासो गरे ।
राप्रपा प्रवक्ता श्रेष्ठले भने– चुनाव लड्ने र दरबारतिर आँखा नलगाउने दल बनाउनु होला
राप्रपाका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेपछि पार्टी प्रवक्ता मोहन श्रेष्ठले चुनाव लड्ने र दरबारतिर आँखा नलगाउने दल बन्न सुझाएका छन् ।
‘डियर धवल दाइ, अनेकन प्रयासका बाबजुद तपाईंलाई राप्रपामा जोगाउन सकिएन । दल बनाउने घोषणा गर्नुभएछ, प्रजातान्त्रिक मुलुकमा अध्ययन गरेको तपाईं, चुनाव बहिष्कार होइन चुनाव लड्ने दल बनाउनु होला, चुनावमा जानुपर्छ भन्ने नेता बनाउनु होला, आफ्नो दल र आफ्नै चिह्नमा भोट हाल्ने नेता, कार्यकर्ता बनाउनु होला,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार र सिंहदरबारतिर आँखा पनि नलगाउने दल बनाउनु होला, तपाईं त कारबाहीविरोधी, पार्टी अनुशासन मान्न नपर्ने मनपरीतन्त्रको दल बनाउनु होला ।’
सक्रिय राजतन्त्र समयले नस्वीकार्ने भन्दै राणाले र विगत र वर्तमानका अध्यक्षलाई काम गर्न नदिएको आरोप लगाएका छन् । ‘सक्रिय राजतन्त्र समयले स्वीकार्दैन, संवैधानिक राजसंस्थाको पक्षधर दल निर्माण गर्ने ध्येय हो भने आजैबाट तपाईंले यो एजेण्डालाई धोका दिइसक्नुभयो,’ श्रेष्ठले लेखेका छन्, ‘कारणहरू रहस्यमय छन् तथापि समयले यसको अवश्य हिसाब राख्नेछ । तपाईंले विगत र वर्तमानका कुनै अध्यक्षलाई सहज ढंगबाट काम गर्न दिनु भएन, तपाईंका भने विरोधी कोही नबनुन् † रामराज्य बनोस्, हामी अलिक परबाट हेरिरहनेछौँ †’
पार्टी चलाएर देखाउन उनले राणालाई चुनौती दिएका छन् । ‘विरोध गर्न पो सजिलो हुन्छ, राप्रपा र राजेन्द्र लिङ्देनलाई जे जे आरोप लगाएर पार्टी परित्याग गर्नुभयो, त्यसभन्दा एक इन्च दायाँबायाँ लागेर पार्टी चलाएर देखाउनु, तपाईंलाई चुनौती भो !,’ उनले भनेका छन्, ‘पार्टीका बैठकहरूमा तपाईंको हास्य रसको अभाव महसुस भइरहनेछ ! अरुलाई प्रश्न गरेर राजनीतिक जीवनको लामो समय व्यतीत गर्नुभयो, अब प्रश्न तपाईंमाथि सुरु भएका छन् ! प्रश्नहरूबाट धुरुधुरु नरुनु होला, रुनु पर्दाको दिन फेरि फर्केर आउन ढिलो भइसक्छ कि ! मिस्ड यू दाइ !’
वाम एकतासँगै मधेशवादी दलहरुबीच एकीकरण
वाम एकतासँगै मधेशवादी दलहरुबीच एकीकरणको प्रयास भइरहेको छ । संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेस आन्तरिक किचलोका कारण फुटको संघारमा पुगेको छ । तर कांग्रेस नेताहरुले पार्टीलाई विभाजन हुनबाट जोगाउने प्रयास गरिरहेका छन् । यधपी कांग्रेसभित्रको आन्तरिक झगडा मिलिसकेको छैन ।
संसद्को तेस्रो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र चौथो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरण गर्ने ’boutमा नेताहरु आन्तरिक छलफलमै छन् । जेनजी आन्दोलन र निर्वाचनपश्चात् ‘सानो दल’को हैसियतमा पुगेका एमाले, नेकपाबीच पार्टी एकीकरण गरेर आउँदो प्रदेश र पालिका निर्वाचनबाट शक्ति आर्जन गर्ने रणनीतिसहित पार्टी एकताको गृहकार्य भइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु पार्टी एकताको पक्षमा उभिएका छन् । यधपी यी दुवै दलमा नेतृत्व हस्तान्तरण हुनुपर्ने आवाज चर्कोरुपमा उठिरहेको छ । आफ्ना पद पनि जोगाउनका लागि ओली र प्रचण्डका लागि एकता आवश्यक रहेको छ । गत निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि युवा विद्यार्थी नेताहरुले नेतृत्व हस्तानान्तरणको मुद्धा उठाइरहेको भए पनि उनीहरु नेतृत्व छोड्न तयार छैनन् ।
उता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टीका बीचमा पार्टी एकीकरणका लागि आन्तरिक छलफल भइरहेको छ । यसअघि नै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जसपासँग एकीकरण गरिसकेको छ । जसपाको संरक्षकमा ठाकुर र अध्यक्षमा यादव रहेका छन् ।
सम्बन्धित समाचार
लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश
पोखरामा काँग्रेस सभापति थापाइतरको भेला
नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
जेनजी आन्दोलनमा मानवअधिकारको गम्भीर उल्लंघन
प्रतिनिधिसभा बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख कारबाही गर्ने तयारी
सुकुमवासी र भूमिहीनका नाममा ७० वर्षदेखि राजनीति
बालेनले संसद्मा राष्ट्रघाती अभिव्यक्ति दिए : अध्यक्ष ओली
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड






