सुपारीखेतीमा इलामका किसानको लगाव

इलाम । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् ।

माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यसवर्ष मात्र २५ क्विन्टल सुपारी बिक्री गर्नुभएको छ । “मैले अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आम्दानीसमेत लिन थालिसकेको छु”, उनले भने, “प्रतिकेजी ७० सम्ममा घरबाटै बिक्री हुने गरेको छ ।”

एकपटक मिहिनेत गरेमा सजिलै फल्ने भएकाले व्यावसायिक सुपारी खेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ । राई सानाठुला गरी करिब पाँच हजार बोट सुपारी रोप्नुभएकामा अधिकांश बोटले आम्दानी दिन थालिसकेका छन् ।

अर्का किसान धर्मराज पुरीले यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरेको सुनाए । केही बोटले उत्पादन दिन थालेपछि यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरिएको र थप केही बोट उत्पादन दिन तयार भएकाले आगामी दिनमा थप व्यावसायिक कारोबार बढ्ने उनले बताए ।

पुरीले करिब १० रोपनी क्षेत्रमा पाँच हजार बोट सुपारी लगाउनुभएको छ भने थप बोट रोप्ने तयारी गर्नुभएको छ । “अन्य खेतीजस्तो धेरै मिहिनेत र लगानी नपर्ने भएकाले व्यावसायिक तवरले सुपारी खेती सुरु गरेको हुँ”, उनले भने, “बिक्री नहुने हो कि भन्ने कुनै चिन्ता छैन । व्यापारीहरूले बगानबाटै प्रतिकेजी ७० सम्ममा किनेर लैजाने गरेका छन् ।”

सुपारीखेती सुरु गरेपछि घरव्यवहार चलाउन सहज भएको अर्का किसान पवन किराती बताउँछन् । “मैले करिब आठ हजार बोट रोपेको छु । केही बोटबाट आम्दानी हुन थालेको छ”, उनले भभनिन्, “यस वर्ष १० क्विन्टल काँचो सुपारी बिक्री गरेको छु, यसले घरखर्च टार्न सहज भएको छ ।”

किरातीको बगानमा हाल केही बोट फल्न थालेका र अधिकांश हुर्कंदै गरेका छन् । “‘बहुवर्षे नगदेबाली भएकाले सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन हुने गरेको छ । यसले क्षति नपुर्‍याउने र छहारीको काम गर्ने भएकाले तरकारी र अन्य बाली लगाएर दोहोरो फाइदासमेत लिन सकिन्छ”, उनले भनिन् ।

अर्का किसान अभिषेक यक्तेनले घर आँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न सकिने हुँदा धेरै किसान लाभायिन्वत भएको बताए ।

पछिल्लो समय इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

विशेष गरी जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान