अर्थतन्त्रमा उत्साहजनक सुधार

काठमाडौं । आर्थिक वर्ष २०८२–८३ को १० महिनाको तथ्यांकले मुलुकको बाह्य क्षेत्र अत्यन्तै सबल र उत्साहजनक देखिएको छ ।

३७ खर्बको वैदेशिक मुद्रा सञ्चिति र १९ खर्ब रेमिट्यान्सको कीर्तिमान

नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक मुद्राको सञ्चितिमा ऐतिहासिक वृद्धि, रेमिट्यान्स आप्रवाहमा आएको भारी सुधार र शोधनान्तर बचत दोब्बर हुनुले अर्थतन्त्रका आधारभूत सूचकहरू सकारात्मक दिशामा अघि बढेको हो ।

केन्द्रीय बैंकका अनुसार मुलुकको ढुकुटीमा रहेको कुल विदेशी विनिमय सञ्चिति ३८ दशमलव ३ प्रतिशतले वृद्धि भई ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३२ खर्ब ९८ अर्ब ३८ करोड र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ रहेको छ । वैशाख मसान्तसम्ममा विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २० दशमलव ६ प्रतिशत रहेको छ । यो सञ्चितिले १९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

१० महिनामा शोधनान्तर स्थिति र चालु खातामा उल्लेख्य सुधार भएको छ । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले मात्र बचतमा थियो । अमेरिकी डलरमा हेर्दा यो ५ अर्ब ९८ करोड डलर बचत हो ।

शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) ले निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति वा संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांशलाई बुझाउँछ । शोधनान्तर स्थिति बचतमा हुनुको मुख्य अर्थ मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रने रकम बढी हुनु हो ।

चालु खाता र शोधनान्तर स्थिति दुवै उल्लेख्य बचतमा रहनुले देशको भुक्तानी सन्तुलन अत्यन्तै मजबुत रहेको देखिएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड र चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेका छन् ।

शोधनान्तर र चालु खाताको बचतले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा सहजता ल्याउँछ । यसका साथै, यसले ब्याजदर कायम गर्न समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ । यी दुवै सूचकहरू बचतमा रहनुले मुलुकको बाह्य आर्थिक परिदृश्य अत्यन्तै सकारात्मक र सबल रहेको पुष्टि गर्दछ । विशेषगरी उल्लेख्य मात्रामा भित्रिएको रेमिट्यान्स र आयातमा आएको सन्तुलनले गर्दा यस्तो बचत सम्भव भएको हो ।

चालु खाता र शोधनान्तर बचतले गर्दा नै देशको विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक वृद्धि भई ३७ खर्ब ४ अर्ब ५५ करोड पुगेको हो ।

रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा ४१ दशमलव २ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १३ दशमलव ३ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ ।

वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स बढ्नुमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर रहनु र बैंकिङ च्यानलबाट रकम आउनुलाई प्रमुख कारण मानिएको छ । १० महिनाको अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० छ ।

मूल्यवृद्धि (मुद्रास्फीति) को अवस्था २०८३ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ०४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत मात्र थियो ।

१० महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९ दशमलव ४ प्रतिशतले वृद्धि भई ६४ खर्ब ८५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव ७ प्रतिशतले बढेर ५० खर्ब ९० अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

ब्याजदरको अवस्था हेर्दा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर घटेर ३ दशमलव ३५ प्रतिशत र कर्जाको औसत ब्याजदर ६ दशमलव ७३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यस्तो दर क्रमशः ४ दशमलव ३७ प्रतिशत र ८ दशमलव ११ प्रतिशत थियो ।

पर्यटन क्षेत्रबाट हुने आम्दानीमा भने केही संकुचन देखिएको छ । भ्रमण आय २ दशमलव २ प्रतिशतले कमी आई ७४ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ । भ्रमण व्यय ३ दशमलव ४ प्रतिशतले घटेर १ खर्ब ७७ अर्ब ८७ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ छ । सेवा खाता समग्रमा ६८ अर्ब २२ करोड रुपैयाँले घाटामा छ ।

चालु आर्थिक वर्षको १० महिनामा विदेशमा अध्ययनका लागि १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको यस्तो व्यय १ खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पर्यटन क्षेत्रबाट प्राप्त हुने आम्दानी (भ्रमण आय) मा २ दशमलव २ प्रतिशतले कमी आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

उपसचिव सुरेशबाबु महिनौं बेपता हुँदा समेत मन्त्री प्रतिभा किन मौन ?